वाणिज्य बैंकहरुको लाभांसले तान्यो लगानीकर्ता, उपसमुहसँगै नेप्सेमा तिब्र सुधार


विभिन्न उपसमुहका सूचकहरु एक पछि अर्को गर्दै उकालो लाग्दा वाणिज्य बैंकहरुको सूचकमा लामो समयदेखि तिब्र सुधार देखिएको थिएन । तर दशैं अघि वाणिज्य बैंकमा तिब्र सुधार आउने सामान्य संकेत देखिएकोमा बुधबारदेखि त्यसको असर देखिएको छ ।

दशैं लगत्तै खुलेको बजारमा लगानीकर्ताहरु एकाएक वाणिज्य बैंकहरुको शेयरतर्फ मोडिएका छन् ।

जसका कारण बैंकहरुको शेयर मूल्यमा तिब्र सुधार आएको छ भने कारोबार चाप पनि उत्तिकै देखिएको छ ।

कोरोनाका कारण परेको असरले बैंक वित्तीय संस्थालाई पनि असर पार्ने आँकलन भईरहेका बेला असोज मसान्तसम्मको हिसाबलाई गत आर्थिक वर्षको अन्त्यसम्म तान्न मिल्ने व्यवस्था भयो ।

जसका कारण्ण बैंक वित्तीय संस्थाले एक पछि अर्को गर्दै औषतमा १४ प्रतिशत प्रतिफल घोषणा गर्न थालेका छन् ।

सस्तो मूल्यका वाणिज्य बैंकहरुको शेयरबाट मुद्धती निक्षेपको भन्दा राम्रो प्रतिफल पाउने अवस्था देखिएका कारण लगानीकर्ताको सक्रियता वाणिज्य बैंकमा देखिएको हो ।

बुधबार वाणिज्य बैंकहरुको शेयर मूल्यमा उछाल आएसँगै बजार परिसुचक नेप्से पनि ४१.२० अंकले बढेको छ । योसँगै शेयर बजार परिसुचक नेप्से १६४७.४५ अंकमा पुगेको छ । यस दौरान १८८ कम्पनीका ९३ लाख २२ हजार ८५ कित्ता शेयरहरु ४२ हजार ६१८ पटक किनबेच हुँदा २ अर्ब ७२ करोड ६० लाख रुपैंयाको कारोबार भएको छ । सूचकमा सुधार आउँदै गर्दा वाणिज्य बैंकहरुको शेयरमा कारोबार चाप आए पछि कारोबार रकम पनि धेरै भएको हो ।

बजार खुलेको १० मिनेटमा नै २४ अंकले बढेको वाणिज्य बैंक समुहको सूचक बजार बन्द हुँदा ५५.१५ अंकले बढेर बन्द भएको छ ।

बैंकिङ समुहको भार बजारमा ७७५ प्रतिशतको हाराहारीमा रहेका बेला बैंकिङ सूचकमा आएको तिब्र बढोत्तरीले समग्र सुचक समेत तिब्र गतिमा उकालो लागेको हो ।

बुधबार वाणिज्य बैंकसँगै जीवन बीमा कम्पनीको सूचक ११०.६८ अंकले उकालो लागेको छ । व्यापार बाहेकका सबै सूचकमा सुधार देखिएको बजारमा वाणिज्य बैंकहरुको शेयर कारोबार अधिक भएको छ ।

कारोबार रकमका आधारमा २० करोड ६५ लाख रुपैंयाको कारोबार सहित शिर्ष स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ । दोस्रो स्थानमा रहेको प्राइम कमर्शियल बैंकको पनि झण्डै १७ करोड ४५ लाख रुपैंयाको शेयर कारोबार भएको छ । त्यसै गरी तेस्रो स्थानमा प्रभु बैंकको झण्डै १६ करोड २८ लाखको शेयर किनबेच भएको छ ।

चौथो स्थानमा सिटिजन्स बैंकको १० करोड ७० लाख, पाँचौं स्थानमा नेपाल बैंकको ९ करोड ३५ लाख, छैठौं स्थानमा कुमारी बैंकको ९ करोड १९ लाख, सातौं स्थानमा एनआईसी एशिया बैंकको ८ करोड ४५ लाख, एनएमबी बैंकको ७ करोड ६९ लाख, सिभिल बैंकको ७ करोड ६७ लाख र मेगा बैंकको ६ करोड ६५ लाख रुपैंयाको शेयर कारोबार भएको छ ।

बुधबार वाणिज्य बैंकहरुको मात्र ३३ लाख ५१ हजार ९२८ कित्ता शेयरहरु १ अर्ब ३ करोड ८३ लाख रुपैंयामा किनबेच भएका छन् । जलविद्युत कम्पनीहरुको ३१ करोड, निर्जीवन बीमा कम्पनीहरुको १३ करोड तथा अन्य समुहका कम्पनीहरुको ११ करोड बढीको शेयर कारोबार भएको छ ।

बुधबार प्राइम कमर्शियल बैंकको सबैभन्दा धेरै शेयरमूल्य बढेको छ । प्रतिकित्ता शेयर मूल्य ३० रुपैंयाले बढेर सर्किट लागेको प्राइमको प्रतिकित्ता शेयरमूल्य ३३३ रुपैंया पुगेको छ । नेपाल फाइनान्स, सिटिजन्स बैंक, प्रभु बैंक लगायत कम्पनीहरुको शेयर मूल्य धेरै बढ्ने शिर्ष १० भित्र परेका छन् ।

बजार तिब्र गतिमा उकालो लाग्दा जलविद्युत कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएको छ । अधिकांस जलविद्युत कम्पनीहरुको शेयरमूल्य दशैं अघिको अन्तिम कारोबार मूल्यको तुलनामा सस्तो भएका छन् ।

वाणिज्य बैंकहरुको लाभांस क्षमता र गत आर्थिक वर्षको वित्तीय अवस्थाको असर अहिले बजारमा परेको देखिएको हो । बुधबारसम्ममा नेप्सेमा सूचीकृत भएका तथा अन्य गरी ४१ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांस घोषणा गरिसकेका छन् ।

७ वाणिज्य बैंक सहित ४१ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

कतिपयले साधारण सभा समेत गरिसकेका छन् । यस क्रममा ७ वाणिज्य बैंकहरुले घोषणा गरेको लाभांसको सिधा असर बुधबारको बजारमा खेखिएको हो । बाँकी बैंकहरुले घोषणा गर्ने लाभांसले वाणिज्य बैंक समुहसँगै समग्र बजार परिसुचक नेप्से अझै बढ्ने देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।