स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई कति दिने भयो लाभांश ?


स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैकले शेयरधनीलाई ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट अनुमोदन भए पछि शेयरधनीले पाउने छन् ।

थप नयाँ शेयर (एफपीओ) निष्काशन गरेर आर्थिक वर्ष २०७३ ७४ मा शतप्रतिशत बोनस शेयर वितरण गरे यता बैंकले बोनस शेयर बितरण गरेको थिएन । अघिल्ला २ आर्थिक वर्षहरुमा क्रमशः १७.५० प्रतिशत र २२.५० प्रतिशत नगद लाभांस मात्र बितरण गरेको बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस र नगद बितरण गर्न लागेको हो ।

आर्थिक वर्ष २०७६ ७७ को अन्त्यसम्ममा बैंकले १ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा बैंकको खुद नाफा ४५ करोड रुपैयाँले घटेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा घटेसँगै बैंकको खुद नाफा घटेको थियो । नाफा घटेपछि बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७६ पैसामा झरेको थियो भने प्रतिशेयर नेटवर्थ १८८ रुपैंया ५० पैसा कायम भएको थियो ।

बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैयाँ छ । प्रस्तावित बोनस बितरण तथा सूचीकरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५७ करोड रुपैंया पुग्नेछ । गत असार मसान्तसम्ममा ५ अर्ब ५६ करोड रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको बैंकले १ अर्ब ५२ करोड रुपैयाँ शेयरधनी कोषमा जम्मा गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।