उद्योगी व्यवसायीलाई कालोसूचीमा नराख्न बैंक वित्तीय संस्थालाई गभर्नरको निर्देशन


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुनरकर्जाको भरपुर उपयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

६६ जिल्लाका उद्योगी व्यवसायीसँग भर्चुअल अन्तरकृया गर्दै क्रममा गभर्नर अधिकारीले २ खर्ब रुपैंयाको पुनरकर्जाको सदुपयोग गर्न आग्रह गरेका हुन् । अन्तरकृयाका क्रममा गभर्नर अधिकारीले कोभिडका कारण समस्यामा परेका उद्योगी व्यवसायी तथा व्यवसायिक प्रतिष्ठानलाई कालोसूचीमा नराख्न पनि निर्देशन दिएका छन् ।

मौद्रिक नीतिको कार्यान्वायनको अवस्थाका बारेमा समीक्षा गर्दै गभर्नर अधिकारीले कोभिड १९ बाट शिथिल बनेको अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी केन्द्रीय बैंकले उदार र राहतमुखी मौद्रिक नीति जारी गरेको बताएका थिए । उक्त मौद्रिक नीतिको कार्यान्वयनमा सहयोग गरिदिन बैंक तथा वित्तीय संस्था, उद्योगी, व्यवसायी र सम्बद्ध पक्षसँग अधिकारीले आग्रह समेत गरे ।

कोभिडबाट उत्पन्न असहज परिस्थितीलाई ध्यानमा राख्दै उद्योगी व्यवसायीलाई लक्षित गर्दै राहतस्वरूप २ खर्ब रुपैयाँको पुनरकर्जा सुविधा र २० प्रतिशतसम्म अतिरिक्त कर्जा सुविधा पाउने व्यवस्था गरिएको बताए । यद्यपी उक्त सहुलियतको अपेक्षित उपयोग नभएको भन्दै उनले सबैलाई ध्यानाकर्षण गराएका थिए ।

७५३ वटै स्थानीय तहमा पुनरकर्जा सुविधा पु¥याउने केन्द्रीय बैंकको उद्देश्य रहेको बताएका उनले बैंकले जारी गरेका नीतिगत व्यवस्थाबमोजिम सहुलियत नपाइएमा बैंकको गुनासो व्यवस्थापन इकाईमा गुनासो राखिदिन आग्रह समेत गरे ।

कोभिड महामारीका कारण उद्योग, व्यवसाय शिथिल बनेको अवस्थामा ऋणीलाई कालोसूचीमा राख्ने, धितो लिलाम गर्ने जस्ता कार्य नगर्न गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे ।

“कोभिडबाट प्रभावित व्यवसायी तथा ऋणीलाई कालो सूचीमा राख्न र धितो लिलाम नगर्न हामीले निर्देशन दिएका छौं । त्यसको कार्यान्वयन गरिदिनुस् ।” अधिकारीले बैंक वित्तीय संस्थालाई लक्षित गर्दै भने ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।