ज्योति लाइफको खुद नाफा पहिलो त्रैमासमा ९१ प्रतिशतले बढ्यो

0
Shares

ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१.८७ प्रतिशतको आकर्षक वृद्धि देखिएको छ । चालु आवको तीन महिनामा नै कम्पनीले ७ करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आवको पहिलो तीन महिनामा कम्पनीले ३ करोड ७६ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले २८ करोड ४२ लाख ६४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्यबाट ३ करोड ८३ लाख र बीमालेख धितोबाट ७८ लाख ४६ हजार कमाएको छ । गत आवको यसै अवधिमा लगानी कर्जा तथा अन्यबाट २ करोड १९ लाख र बीमालेख धितोबाट २८ लाख ९६ हजार कमाएको थियो।

यस अवधिमा कम्पनीले ४२ लाख ८६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । जुन गत आवको पहिलो तीन महिनाको तुलनामा ३८ लाख २६ हजार रुपैयाँ धेरै हो ।

१ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८.७६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३३.२३ रुपैयाँ छ । ज्योति लाइफको जगेडा कोष २४ करोड ८० लाखबाट बढेर ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा पनि आकर्षक सुधार आएको छ । गत आवको पहिलो त्रैमासमा ९१ करोड ४६ लाख रहेको कम्पनीको जीवन बीमा कोष १४७ प्रतिशतले बढेर २ अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ सञ्चित भएको छ ।

कम्पनीले ६६ हजार ११३ वटा बीमालेख बिक्री भएको छ । यसबाट कम्पनीले ५४ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले ३० हजार ९१४ बीमालेखबाट २७ करोड ६५ लाख आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले ४५ वटा दाबी भुक्तानी बापत १ करोड ४ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

  • सर्वसाधारणमा ६६ करोड रुपैयाँ बराबरको आईपीओ आउँदै

नयाँ जीबन बीमा कम्पनीको रुपमा तीन वर्षअघि १५४ करोड रुपैयाँमा पूँजीमा स्थापना भएको कम्पनीले हालसम्म सर्वसाधारणमा शेयर जारी गरेको छैन।

यसअनुसार कम्पनीले सर्वसाधारणमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता प्राथमिक शेयर जारी गर्नेछ । आईपीओ जारी भएसँगै कम्पनीमा संस्थापक-साधारण शेयर अनुपात ७०ः३० कायम हुनेछ भने जीवन बीमा कम्पनीको लागि बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब भन्दा २० करोड बढी कायम हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।