प्रिमियर इन्स्योरेन्सको ८४% बोनस पाउनुभयो ? नपाएको भए यसरी पाउनुहोस्

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड (PIC) ले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ८४ प्रतिशत बोनस शेयर वापत लाग्ने कर वापतको रकम नतिर्दा अझैपनि धेरै लगानीकर्ताहरुको डिम्याट खातामा कम्पनीले वितरण गरेको बोनस शेयर प्राप्त गर्न सकेका छैनन् ।

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न कम्पनीले जारी गरेको एफपिओ प्रिमयम रकम सहितबाट ८४ प्रतिशत (४९ करोड ५ लाख ६० हजार रुपैयाँ) बम्पर बोनस घोषणा गरेको थियो ।

कम्पनीले सुरुमा ८० प्रतिशत बोनस र ४ प्रतिशत नगद घोषणा गरेपनि बीमा समितिले नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान नगरेपछि कम्पनीले सबै (८४ प्रतिशत) बोनस शेयर मात्र वितरण गरेको थियो। नगद लाभांश वितरण गर्न बीमा समितिले रोक लगाएपछि बोनस शेयरमा लाग्ने कर शेयरधनीले तिर्नुपर्ने अवस्था आयो। उक्त कर वापतको रकम नतिर्दा धेरै लगानीकर्ताले डिम्याटमा कम्पनीको बोनस शेयर अझै पाउन सकेका छैनन् ।

विसं २०७६ असार ३१ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट ८४ प्रतिशत बोनस पारित भई २०७६ भदौ ९ गते नै नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार गर्न सकिने भैसकेको थियो । तर उक्त बोनस शेयरमा लाग्ने कर वापतको रकम नतिर्दा १ वर्षसम्म लगानीकर्ताले बोनस शेयर प्राप्त गर्न नसकेका हुन् ।

बोनसमा लाग्ने कर तिर्न कम्पनीले कम्पनीले साधारण सभाका लागि बुकक्लोज गरिएको अघिल्लो दिन अर्थात २०७६ असार १९ गतेसम्म कायम शेयरधनीलाई २०७६ साउन ५ गते नै सूचना प्रकाशन गरेको थियो ।

तर नेपालका धेरै शेयरधनीहरु अझैपनि शेयर बजारमा जानकार हुन सकेका छैनन् । सोही कारणले कम्पनीले भने अनुसारको नियम पालना गर्न तत्परता नदेखाउँदा आफुले प्राप्त गर्ने बोनस समेत एक वर्षसम्म अझै पाउन सकेका छैनन् ।

धेरै लगानीकर्ताहरुले बोनसमा लाग्ने कर वापतको रकम नतिर्दा आफुले पाउने बोनस बीचमै अड्किएको छ । यसले शेयर बजार बढेको समयमा शेयर बिक्री गरी पूँजीगत लाभ पाउने अवसरबाट समेत प्रिमियर इन्स्योरेन्सका लगानीकर्ता बञ्चित भएका छन् ।

आव २०७६/७६ मा एनएफआरएस अनुरुपको वित्तीय विवरण तयार पारि जगेडा तथा कोषहरु कायम गर्नुपर्ने भएपछि कुनैपनि लाभांश वितरण नगरेको कम्पनीले गत आव २०७६/७७ बाट भने लगानीकर्तालाई लाभांश वितरण गर्न बाँकी नै छ ।

आव २०७४/७५ बाट ८४ प्रतिशत बोनस वितरण पश्चात इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब माथि अर्थात एक अर्ब ७ करोड कायम भैसकेको छ ।

  • कसरी तिर्ने बोनसको कर वापतको रकम ?

प्रिमियर इन्स्योरेन्सले आव २०७४/७५ बाट वितरण गरेको लाभांश वापतको कर प्रयोजको रकम २०७६ असार १९ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

कर वापतको रकम कम्पनीले सिद्धार्थ बैंकमा रहेको प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको खाता नम्बर ००६१५००६८२१ मा बैंकको कुनैपनि शाखामा जम्मा गरी सो को सक्कल भौचर कम्पनीको प्रधान कार्यालय नारायणचौर नक्सालमा जानकारी गराउनुपर्ने कम्पनीले जनाएको छ ।

साधारण सभाका लागि बुकक्लोजसम्म कायम रहेका शेयरधनीले आफुले पाउने बोनस शेयर र कर रकम सम्बन्धी जानकारी इन्स्योरेन्स कम्पनीको वेवसाइटको शीर्ष स्थानमा रहेको दायाँबाट दोस्रो स्थानमा रहेको ट्याक्स् लाइवलिटिज चेकमा गएर कति तिर्नुपर्छ हेर्न सक्नेछन् ।

यसको अलवा शेयरधनीहरुले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपिएस मार्फत समेत कर वापतको रकम भुक्तानी गर्न सक्नेछन् । जसका लागि कनेक्ट आईपिएस लगइन गरी ड्यासबोर्डमा रहेको फाइनान्सियल इन्ष्टिच्युसनभित्र रहेको क्यापिटल मार्केट पेमेन्टमा गई बोनस ट्याक्स छनौट गर्नुपर्ने हुन्छ ।

त्यसपश्चात बोनस ट्याक्सभित्र मागिएको आवश्यक विवरणहरु (खाता नम्बरमा मौज्दात रहेको बैंक खाता नम्बर, शेयर प्रोभाइडरमा प्रिमियर इन्स्योरेन्स बोनस ट्याक्स ७४/७५ छनौट गरी आफ्नो १६ अंकको हितग्राही वा शेयरधनी नम्बर र मोबाइल नम्बर राखेर ट्रान्सफर बटन क्लिक गरी आफ्नो ६ अंकको ट्रान्ज्याक्सन पासवर्ड राखेर समिट गरी बोनसमा लाग्ने कर वापतको रकम सजिलै भुक्तानी गर्न सकिन्छ ।

यसरी भुक्तानी गर्दा आफुले तिर्नुपर्ने कर वापतको रकम कम्पनीले नै निर्धारण गरी सिस्टममा राखिएकाले कति तिर्नुपर्छ भनेर पनि सोही भुक्तानी बिलमा देख्न सकिन्छ ।

यसरी कुनैपनि माध्यमबाट भुक्तानी गरिएको बोनस वापतको कर रकमको बिल प्रिमियर इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्बर ९८५११५९४३२ मा भाइबर वा कम्पनीको इमेल [email protected] मा पठाउनुपर्ने हुन्छ।

यसपछि कम्पनीले क्रमशः बोनस वापतको कर तिर्ने शेयरधनीलाई बोनस वितरण गर्दै जानेछ । शेयरधनीले आफ्नो डिम्याट खातामा बोनस शेयर प्राप्त गरेपछि दोस्रो बजारमा उक्त शेयर बिक्री गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।