गुराँस लाइफको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार हुने

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सको एक बराबर एक अनुपातमा हकप्रद शेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले सोमबार ९३ लाख ८५ हजार २०० कित्ता शेयर दोस्रो बजारमा कारोबार गर्नमिल्नेगरी सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त हकप्रद शेयर मंगलबारदेखि धितोपत्रको दोस्रो बजार (नेप्से) मा खरीद बिक्री गर्न पाउनेछन् ।

इन्स्योरेन्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले मंगलबार बिहानसम्म सबै शेयरधनीको डिम्याट खातामा हकप्रद शेयर जम्मा भैसक्ने जनाउँदै मंगलबार उक्त हकप्रद शेयर खरीद बिक्री गर्न सकिने जनाएको छ ।

नोटबजार डटकमले कम्पनीको हकप्रद शेयर भरेका लगानीकर्ताले कम्पनीको बोनस शेयर नखाई बोनसको शेयरमूल्य समायोजन अघि नै शेयर बिक्री गरेर बाहिरिन चाहेमा पाउने समाचार प्रवाह गरेपछि बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतबार वा सोमबार भित्रै शेयर सूचीकरणको प्रकृया टुङ्गाएर हकप्रद शेयर सूचीकरण गरेर करोबारको व्यवस्था मिलाउने जनाएको थियो । सोही अनुसार बिक्री प्रबन्धकले सोमबार नै गुराँस लाइफको हकप्रद शेयर सूचीकरण गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्सका सूचना अधिकारी बोधलाल पुरीले पनि हकप्रद सूचीकरणमा भएको ढिलाईले कम्पनीका लगानीकर्तालाई असहज हुने स्वीकार गर्दै कोभिड संक्रमणका कारण उत्पन्न परिस्थितीले सबै प्रकृयाहरु ढिला हुँदा समस्या भएको बताउँदै बुक क्लोजअघि नै शेयर सूचीकरण गराई सक्ने बताएका थिए ।

कम्पनीले आगामी मंसिर ४ गते आह्वान गरेको दशौं वार्षिक साधारण सभाका लागि कार्तिक २० गते बुकक्लोजको मिति तोकेको छ । यसअनुसार कात्तिक १९ गते अर्थात आगामी बुधबारसम्ममा शेयर किन्नेहरुले मात्र कम्पनीको प्रस्तावित ५.२५ प्रतिशत बोनस शेयर (शतप्रतिशत हकप्रदले समेत पाउने) लाभांश पाउनेछन् ।

गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७३।७४ मा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेर आर्थिक वर्ष २०७६।७७ को अन्त्यतिर मात्र निष्काशन गरेको थियो । इन्स्योरेन्सले खरीद आह्वान गरेर हकप्रद शेयर पूर्ण बिक्री नभएपछि लिलामी प्रकृयाबाट बिक्री गरेको थियो ।

आगामी मंसिर ४ गते बोलाइएको आर्थिक वर्ष २०७४।७५ को दशौं वार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद बिक्री पछि कायम शेयरधनीलाई ५.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।