विद्युत उत्पादन गरिसकेको युनाइटेड इदी मर्दीले साधारण शेयर निष्काशन गर्दै, स्थानीयको शेयर बाँडफाँड


युनाइटेड इदी मर्दी एण्ड आर बि हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेको छ । नेपाल धितोपत्र बोर्डबाट गत असारमा नै सर्वसाधारण र आयोजना प्रभावितका लागि शेयर निष्काशनको अनुमति दिएको कम्पनीले केही समय अघि स्थानीयलाई शेयर निष्काशन गरेको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सोमबार शेयर बाँडफाँड गरेको हो । धितोपत्र बोर्डले स्थानीय र सर्वसाधारणलाई २५ प्रतिशत शेयर बिक्री गर्न अनुमति दिएको थियो । जस अनुसार कुल ४२ लाख कित्ताको १० प्रतिशत अर्थात ४ लाख २० हजार कित्ता शेयर कास्कीका आयोजना प्रभावितका लागि निष्काशन गरेको थियो ।

ग्लोबल आईएमइ क्यापिटलका अनुसार स्थानीयलाई निष्काशन गरिएको ४ लाख २० हजार कित्ता मध्ये १ लाख ७६ हजार ९० कित्ता शेयर बिक्री भएको छ । सबै शेयर बिक्री नभएका कारण स्थानीयले माग गरे जति शेयर पाएका छन् ।

आयोजना प्रभावित क्षेत्रमा घरदुरी थोरै रहेका कारण स्थानीयको शेयर बिक्री नभएको हाइड्रोपावरका कम्पनी सचिव निरज पौड्यालले नोटबजारलाई बताए ।

स्थानीयलाई निष्काशन गरिने शेयरमा ३ वर्षको लकिङ लाग्ने भएकाले पनि स्थानीयले शेयरमा आवेदन नगरी सर्वसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन गर्ने गरेका छन् । यसको असर युनाइटेड इदी मर्दीको स्थानीयलाई निष्काशित शेयरमा पनि परेको हो ।

पौड्यालका अनुसार स्थानीयलाई बिक्री नभएको शेयर समेत गरी केही दिनमा नै सर्वसाधारणलाई शेयर निष्काशन हुनेछ । ४२ लाख कित्ताको १५ प्रतिशतले हुने ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्नु पर्ने हुन्छ । स्थानीयलाई निष्काशन गर्दा बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता शेयर समेत गरी ८ लाख ७३ हजार ९१० कित्ता शेयर निष्काशन हुनेछ ।

अहिले ३१ करोड ५० लाख रुपैंया संस्थापकहरुको लगानी रहेको कम्पनीको चुक्ता पूँजी साधारण शेयर निष्काशन पश्चात ४२ करोड रुपैंया पुग्ने छ ।

कम्पनीले कास्कीमा ७ मेगावाटको अपरमर्दी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत गरिरहेको छ ।

कम्पनीले ७५ प्रतिशत रकम ऋण र २५ प्रतिशत शेयर पूँजीबाट जुटाएको थियो । आयोजनाबाट उत्पादित विद्युत सुख्खायाममा ८ रुपैंया ४० पैसा र वर्षायाममा ४ रुपैंया ८० पैसामा नेपाल विद्युत प्राधिकरणले गरिद गर्ने गरी विद्युत खरिद सम्झौता भईसकेको छ । आयोजनामा प्राइम बैंकको अगुवाइमा सेन्चुरी बैक र ग्लोबल आईएमई बैंकले ऋण लगानी गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।