बैंकहरुको २२ अर्ब ८० करोडको ऋणपत्र आउँदै, ८.५ देखि १०.५ प्रतिशतसम्म ब्याजदर पाइने

0
Shares

धितोपत्र बजारमा २२ अर्ब ८० करोड रुपैयाँ बराबरको संस्थागत ऋणपत्र थपिने भएको छ । ९ बैंक तथा वित्तीय संस्थाले ८.५ देखि १०.५ प्रतिशतसम्म ब्याजदर दिने गरी ऋणपत्र निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पूँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो । कारोना भाइरसका कारण यो व्यवस्थालाई केन्द्रीय बैंकले अनिवार्य भने गरेको छैन । तरपनि ऋणपत्रको शतप्रतिशत रकम कर्जा प्रवाहका लागि उपयोग गर्नसक्ने व्यवस्थाले डिजेञ्चर निष्काशन गर्ने क्रम नरोकिएको हो ।

धितोपत्र बोर्डमा २०७६ साल पुस देखि २०७७ कात्तिकसम्मका आवेदन पाइपलाइमा रहेका छन् । बोर्डका अनुसार केही कम्पनीको आवेदनमा अध्ययन गरेर प्रतिक्रिया पठाइएको छ । केही कम्पनीको ऋणपत्र निष्काशन अनुमति उपर अध्ययन जारी रहेको बोर्डले जनाएको छ ।

बोर्डको पाइपलाइनमा भएका ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले ८.५ देखि १०.५ प्रतिशतसम्म प्रतिफल पाउने प्रस्ताव सहितको आवेदन दिएका छन् । आवेदक मध्ये एनसीसी बैंकले सबैभन्दा धेरै १०.५ प्रतिशत ब्याजदर लगानीकर्तालाई दिने प्रस्ताव गरेको छ । तर, बैंकले आवेदन दिएको ९ महिना बितिसक्दा पनि बोर्डले कुनै प्रतिक्रिया दिएको छैन । बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ता लागि दिने भनिएको ब्याजदर हालको वित्तीय प्रणालीको ब्याजदर भन्दा धेरै हो ।

बैंकहरुले दीर्घकालीन स्रोत संकलनका लागि ऋणपत्र जारी गर्ने गर्छन । बैंक तथा वित्तीय संस्थाले ऋणपत्र जारी गर्नुपर्ने कारण पूँजीकोष प्रयाप्तता अनुपात कायम गर्न जनाएका छन् । निवेदन संस्थाहरुको डिवेन्चर मध्ये ६० प्रतिशत परिपत्र विधिबाट संघ-संस्थाका लागि छुट्टाएको छ । बाँकी ४० प्रतिशत ऋणपत्रका लागि सर्वसाधारणकले आवेदन दिन पाउनेछन् । सो मध्ये कुनै एक पक्षको पूरा बिक्री नभएमा अर्को पक्षलाइ बिक्री गरिने गरिन्छ । डिबेञ्चरमा लगानी गर्दा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि प्रतिकित्ता एक हजार रुपैयाँका दरले निवेदन दिन सक्छन् ।

डिबेञ्चरमा लगानी गर्ने लगानीकर्ताका लागि अन्य वित्तीय औजारको तुलनामा सुरक्षित लगानी मानिन्छ । बैंक वित्तीय संस्थामा मुद्दती निक्षेप राख्दा भन्दा धेरै ब्याज पाउने गरी जोखिम नहुने गरी दीर्घकालीन लगानीका लागि डिबेञ्चर उपयुक्त मानिन्छ । तर, पूँजी बजारमा धितोपत्रको कारोबार न्यून हुने भएकाले व्यक्तिगत लगानीकर्ताको आकर्षण भने साधारण शेयरको तुलनामा बढ्न सकेको छैन ।

कम्पनी निष्काशित ऋणपत्रको रकम ब्याजदर अवधि
ग्लोबल आइएमई बैंक ३ अर्ब ८.५ प्रतिशत १० वर्षे
नेपाल इन्भेष्टमेन्ट बैंक ४ अर्ब ८.५ प्रतिशत ७ वर्षे
मञ्जुश्री फाइनान्स ५० करोड ९.५ प्रतिशत ८ वर्षे
सेञ्चुरी कमर्सियल बैंक २ अर्ब २० करोड ९ प्रतिशत १० वर्षे
कामना सेवा विकास बैंक एक अर्ब ९.५ प्रतिशत १० वर्षे
प्राइम कमर्सियल बैंक ३ अर्ब ५० करोड ८.७५ प्रतिशत ८ वर्षे
सानिमा बैंक ४ अर्ब ८.५ प्रतिशत १० वर्षे
एनसीसी बैंक ३ अर्ब १०.५ प्रतिशत १० वर्षे
बैंक अफ काठमाण्डू एक अर्ब ६० करोड ८.५ प्रतिशत १० वर्षे

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।