नेपाल रिइन्स्योरेन्सको प्रतिशेयर आम्दानी १२ रुपैयाँ, मूल्य आम्दानी अनुपात कति ?

0
Shares

नेपाल रिइन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा प्रतिशेयर आम्दानी १२.३७ रुपैयाँ कायम भएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले सार्वजनिक गरेको गत असार मसान्तसम्मको वित्तीय विबरण अनुसार १ अर्ब ६ करोड ५४ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाई भएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा इन्स्योरेन्सले ७१ करोड ५२ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको व्यवसायमा सामान्य सुधार मात्र देखिएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ५ अर्ब ८६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ अर्ब ९१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

समीक्षा अवधिमा २६ करोड १० लाख रुपैयाँको पुनर्बीमा कमिशन आय घटेर ५ करोड ८३ लाख ४ हजारमा सीमित भएको इन्स्योरेन्सको अन्य अप्रत्यक्ष आय पनि २९ करोड ७५ लाखबाट ६ करोड ८८ लाख रुपैयाँमा झरेको छ ।

लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी शिर्षक ३२ करोड ४७ लाखबाट ३९ करोड ५० लाख रुपैयाँ पुगेको इन्स्योरेन्सको दाबी भुक्तानीको रकम तथा भुक्तान हुन बाँकी रकमको आकार उल्लेख्य आकारमा बढेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा १ अर्ब ५४ करोड ७० लाख रुपैंयाको दाबी भुक्तानी गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

पुनरर्बीमा कमिशन खर्च २ अर्ब ३ करोडबाट २ अर्बमा झरेको कम्पनीको सेवा शुल्क खर्च केही घटेको छ भने प्रत्यक्ष खर्चको आकार ९९ करोड ५० लाखबाट १० करोड ७१ लाख रुपैयाँमा झरिएको छ । यो शिर्षकमा आएको कटौतीका कारण इन्स्योरेन्सको समग्र आम्दानीमा सुधार देखिएको हो ।

व्यवस्थापन खर्च भने ७ करोड ७० लाखबाट बढेर ११ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ७८ करोड ३९ लाख रुपैंयाको दाबी भुक्तानी गर्न बाँकी रहेकोमा गत आर्थिक वर्षको अन्त्यसम्ममा आईपुग्दा त्यो रकम बढेर १ अर्ब ५८ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ३ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । बीमा कोषमा १ अर्ब ४७ करोड ५० लाख रुपैयाँ सञ्चित रहेको इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ९२ पैसा रहेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा इन्स्योरेन्सको प्रतिकित्ता शेयर कारोबार अधिकतम ५०९ रुपैयाँमा भएको आधारमा मूल्य आम्दानी अनुपात ४० गूणा बढी रहेको देखाइएको छ । अहिलेको बजार मूल्यका आधारमा हेर्ने हो भने प्रतिकित्ता ९८३ रुपैयाँका आधारमा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ८० गूणा बढी हुन आउँछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।