वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ५४ प्रतिशतले घट्यो

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ५४.४१ प्रतिशत अर्थात साढे ४ अर्ब रुपैयाँले घटेको छ । कोरोना भाइरसका कारण बैंकहरुको ब्यवसाय प्रभावित भएपछि नाफा घट्दा वितरण योग्य नाफा उच्च दरमा घट्न पुगेको हो ।

चालु आवको असोजसम्ममा २७ वाणिज्य बैंकले ३ अर्ब ७६ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेका छन । यो नाफा गत आर्थिक वर्षको २०७६/७७ को पहिलो त्रैमासको तुलनामा ५४.४१ प्रतिशतले थोरै हो । गत आवको यसै अवधिमा बैंकहरुले ८ अर्ब २६ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेका थिए ।

बैंकहरुले कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्तताको शिकार हुनुपर्दा ब्यावसाय विस्तारमा संकुचन आएको हो ।

आर्थिक गतिविधिमा आएको सुस्तताका कारण बैंकहरुको कर्जा लगानी गर्न समस्या देखियो । सोही समयमा वित्तीय प्रणालीको ब्याजदर समेत उच्च दरमा घट्न गयो । सस्तो ब्याजदरमा सीमित लगानी गर्नुपर्दा खुद नाफा घट्न पुगेको थियो । बैंकहरुको खुद नाफा नै घटेपछि वितरण योग्य नाफा पनि घटेको हो ।

चालु आवको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा ६.५३ प्रतिशतले घटेको छ । असोजसम्ममा २७ वाणिज्य बैंकहरुले १४ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा एक अर्ब रुपैयाँले थोरै हो । गत आवको असोजसम्ममा बैंकहरुले १५ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

बैंकहरुको खुद नाफाबाट नियामकीय व्यवस्था गरिसकेपछि शेयरधनीलाई वितरण गर्न मिल्ने सक्ने रकमलाइ वितरणयोग्य नाफा भनिन्छ । सूचीकृत कम्पनीहरुले पहिलो त्रैमासमा गरेको वितरणयोग्य नाफा भन्नाले शेयरधनीलाई प्रतिफल रुपमा दिन सक्ने रकमलाई बुझाउँछ ।

पहिलो त्रैमासमा बैंकहरुको ब्याज आम्दानीमा नै कमी आएपछि त्यसको असर खुद नाफा परेको हो । असोज मसान्तसम्म वाणिज्य बैंकको खुद ब्याज आम्दानी ४.४० प्रतिशतले घटेर ३२ अर्ब १४ करोड रुपैयाँमा सीमित बनेको छ । गत आवको यसै अवधिमा ३३ अर्ब ६२ करोड रहेको थियो ।

बैंकहरुको आम्दानी घट्दै जानु तथा लगानी विस्तार गर्न नसक्नुले पनि वितरण योग्य नाफा घट्न पुगेको देखिन्छ । त्यसैगरी चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोनाका कारण अस्तव्यस्त रहेको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि बैंकहरुलाई माध्यम बनाउँदा बैंकका लगानीकर्ताको अपेक्षित प्रतिफलमा कमी आएको बैंकरहरु बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको असोजको तुलनामा घटेको छ । त्यसैगरी ५ बैंकहरुको वितरणयोग्य नाफा नै नकरात्मक रहेको छ । वितरणयोग्य नाफा नकरात्मक हुनेमा सानिमा बैंक, सेञ्चुरी बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक र सिद्धार्थ बैंक रहेका छन् ।  तर, चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै वितरणयोग्य नाफा नबिल बैंकको छ । बैंकले सो अवधिमा शेयरधनीलाई बाँड्न मिल्ने नाफा १ अर्ब २० करोड ८८ लाख रुपैयाँ छ । बैंकको यो वितरणयोग्य नाफा गत आवको सोही अवधिको तुलनामा धेरै हो । गत आवको असोजसम्ममा बैंकको वितरण योग्य नाफा ७४ करोड २२ लाख रुपैयाँ थियो ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा थोरै कृषि विकास बैंकको २२ लाख ९६ हजार रुपैयाँ मात्र वितरणयोग्य नाफा रहेको छ । गत आवको सोही अवधिमा बैंकको वितरण योग्य नाफा २६ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

२७ मध्ये ७ बैंकको मात्र वितरणयोग्य नाफा गत आवको असोजको तुलनामा बढेको छ भने २० बैंकको घटेको छ ।

Bank (Rs in ‘000)
Distributalbe profit Ashwin end 2077
Distributalbe profit Ashwin end 2076 Change %
 Nabil Bank 1,208,805 742,262 62.85
 NMB Bank 519,104 536,168 -3.18
Rastriya Banijya Bank  439,219 1,306,312 -66.38
 Standard Chartered  Bank
348,837 490,472 -28.88
 Prime Bank 338,447 228,844 47.89
 Kumari  Bank 259,132 254,890 1.66
 Sunrise Bank 249,651 158,363 57.64
 Global IME Bank 226,162 466,573 -51.53
Nepal Investment Bank 205,097 423,775 -51.60
 Nepal Bank  196,464 65,665 199.19
 Prabhu Bank 175,628 55,763 214.95
 Everest Bank  135,977 308,479 -55.92
 Nepal Credit & Commerce Bank 122,573 102,901 19.12
Machhapuchchre Bank 66,633 150,546 -55.74
Nepal Bangladesh Bank
58,926 148,635 -60.36
 Mega Bank 55,663 325,668 -82.91
 NIC Asia Bank 46,665 448,452 -89.59
 Laxmi Bank 32,453 199,067 -83.70
 Nepal SBI Bank 25,830 319,151 -91.91
 Citizens Bank 9,274 210,365 -95.59
 Himalayan  Bank 6,262 198,841 -96.85
 Agriculture Dev Bank 2,296 261,795 -99.12
 Sanima Bank -102,304 275,441 -137.14
 Century Bank -116,160 180,798 -164.25
 Bank of Kathmandu  -126,057 187,622 -167.19
 Civil Bank -129,905 29,841 -535.32
 Siddhartha Bank -486,237 189,831 -356.14
Total 3,768,436 8,266,520 -54.41

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।