नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंसिर ४ गते बिहीबार हालसम्मकै उच्च रकमको शेयर खरीद बिक्री भएको छ । नेप्से सूचक ३६.३२ अंकले वृद्धि भएको शेयर बजार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको हो ।
कारोबार रकमको आधारमा यो हालसम्मकै उच्च हो । यसअघि २०७६ फागुन १८ गते आइतबार एकैदिन ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार हुँदै रेकर्ड कायम भएको थियो । सो दिन बजार पूँजीकरण २० खर्ब ३१ अर्ब कायम भएको थियो । यसअघि उक्त मितिमा नै नेपाली शेयर बजारमा कारोबार रकमका आधारमा रेकर्ड नै कायम गरेको थियो । सो रेकर्ड आज तोडिएको हो ।
नेप्से सूचकले पछिल्लो उच्च बिन्दु कायम गरेको दिन २०७३ साउन १२ गते बुधबार सूचक १ हजार ८८१ दशमलव ४५ बिन्दुमा रहेको थियो । उक्त दिन २ अर्ब २६ करोडको शेयर कारोबार हुँदा बजार पूँजीकरण २० खर्ब ७० अर्ब रहेको थियो ।
बिहीबार १९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर ५६ हजार ३४१ पटक खरीद बिक्री भएका हुन् । कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये सबै सूचकमा हरियाली छाएको छ । ब्यापार र होटलको सूचकमा ९ प्रतिशत धेरैको वृद्धि आएको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड बढीको शेयर खरीद बिक्री हुँदा १५ कम्पनीको शेयर ९ प्रतिशत धेरैले बढेको छ । कारोबारमा आएका ३२ कम्पनीको शेयरमूल्य मात्र घटेको छ ।
बिहीबार शेयर संख्याका आधारमा पनि रेकर्ड कायम भएको छ । नेप्सेका अनुसार आज १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर कारोबार भएको हो । यसअघि २०७७ असोज १ गते शेयर बजारमा एकैदिन १ करोड ३२ लाख १६ हजार २३४ कित्ता शेयर खरीद बिक्री भएको थियो । सो रेकर्डलाई समेत बिहीबारको बजारले तोडेर नयाँ रेकर्ड बनाएको हो । यस्तै बजार पूँजीकरण पनि २३ खर्ब ८२ अर्ब ७० करोड कायम हुँदा धितोपत्रको बजार हालसम्मकै ठूलो बनेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया