धितोपत्रको दोस्रो बजार हालसम्मकै ठूलो बन्यो, बजार पूँजीकरण २४ खर्ब नजिक

0
Shares

धितोपत्रको दोस्रो बजारको विस्तारसँगै आकारमा पनि उल्लेख्य सुधार आएको छ । बिहीबारसम्ममा शेयर बजारको आकार २३ खर्ब ८२ अर्ब ७० करोड ९३ लाख पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आएको सुधारसँगै बजार पूँजीकरण हालसम्मकै उच्च भएको हो ।

नेप्सेमा सूचीकृत शेयरको संख्या र शेयरको मूल्य वृद्धिसँगै बजार सूचक पनि बढ्दो क्रममा देखिएपछि धितोपत्रको बजारको आकार बढेको हो । बजार पूँजीकरण र कारोबार रकमका आधारमा मात्र होइन्, बिहीबार एकैदिन कारोबार भएको शेयरसंख्याका आधारमा समेत नयाँ रेकर्ड बनेको छ ।

नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।

यसअघि दशैंपछि कारोबार खुलेको पहिलो दिन (कार्तिक १२ गते) नेप्सेको कुल बजार पूँजीकरण २२ खर्ब १ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो । त्यससता नेप्सेमा आएको क्रमिक सुधार बजार पूँजीकरण दिनानुदिन बढ्दो क्रममा रहेको छ ।

त्योभन्दा अघि २०७३ साउन १२ गते नेप्सेको कुल बजार पूँजीकरण हालसम्मकै उच्च २० खर्ब ७० अर्ब ९९ करोड ५९ लाख रुपैयाँ थियो । त्यो दिन नेप्से सूचक पनि १ हजार ८८१ अंकमा पुगेको थियो । त्यो रेकर्ड २०७७ असोज १ गते तोडेर बजार पूँजीकरण २० खर्ब ९० अर्बमा पुगेको थियो ।

यसअवधिमा बजारमा शेयरको आपूर्ति उल्लेख्य बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको चुक्ता पूँजी ४ गुणा भन्दा धेरैले बढेको छ भने जलविद्युत तथा उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सहभागिता पनि बढेको छ । सूचीकृत कम्पनीको बोनस तथा हकप्रद शेयर पनि उत्तिकै थपिएको छ ।

त्यसैगरी नयाँ बीमा कम्पनी र अन्य कम्पनीहरुको पनि शेयरको आपूर्ति बढेको छ । बिहीबार नेप्से परिसूचक ३६.३२ अंकले बढेको छ भने बजार पूँजीकरण पनि हालसम्मकै उच्च २३ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ नाघेको छ ।

कोरोना भाइरसका कारण समग्र अर्थतन्त्र गतिशिल हुन नसकेको अवस्थामा शेयर बजारमा भने आकर्षक देखिन थालेको छ । पछिल्लो समयमा लगानीका अन्य क्षेत्र नभएको र बैंक वित्तीय संस्थाको ब्याजदर पनि घटेको हुनाले शेयर बजार लगानी थपिएको अनुमान छ । त्यसले बजार बजार सुधारमा महत्वपुर्ण भुमिका खेलेको छ ।

अहिले दैनिक ४ अर्ब बढीको शेयर कारोबार हुन थालेकोमा आज एकैदिन ६ अर्ब बढीको कारोबार भएको छ । त्यसैगरी करिब १ हजार १०२ अंकको लाइनमा झरेको नेप्से सूचक समेत बढेर १ हजार ७७८ अंकमा पुगेको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा आएको सुधारले आगामी दिनमा बजार अझै बढ्ने संकेत गरेको देखिन्छ ।

बजार पूँजीकरण भने कम्पनीको शेयर र अघिल्लो दिनको अन्तिम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ । हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा पब्लिक नै धेरै हुन्छ । बुधबार फ्लोट मार्केट क्याप पनि ८ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । २०७३ साउन १२ गते फ्लोट मार्केट क्याप ६ खर्ब ९१ अर्ब ४७ करोड रुपैयाँ थियो ।

बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

बिहीबार शेयर संख्याका आधारमा पनि रेकर्ड कायम भएको छ । नेप्सेका अनुसार आज १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर कारोबार भएको हो । यसअघि २०७७ असोज १ गते शेयर बजारमा एकैदिन १ करोड ३२ लाख १६ हजार २३४ कित्ता शेयर खरीद बिक्री भएको थियो । सो रेकर्डलाई समेत बिहीबारको बजारले तोडेर नयाँ रेकर्ड बनाएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।