धितोपत्रको बजार पूँजीकरण ६ अर्बले बढ्दा २४ खर्ब नजिक पुग्यो

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आएको सुधारसँगै बजार पूँजीकरण हालसम्मकै उच्च भएको हो । आइतबार नेप्सेको बजार पूँजीकरण एकैदिन थप ६ अर्बले बढेको छ ।

आज ५० अंकको उतारचढाव भोगेको बजार बन्द हुँदा ४.६९ अंकले बढेर बन्द हुँदा पूँजीकरण रकम ६ अर्बले बण्ढेर २३ खर्ब ८८ अर्ब ९८ करोड ६९ लाख ३४ हजार रुपैयाँ पुगेको हो ।

धितोपत्रको दोस्रो बजारको विस्तारसँगै आकारमा पनि उल्लेख्य सुधार आएको छ । नेप्सेमा सूचीकृत शेयरको संख्या र शेयरको मूल्य वृद्धिसँगै बजार सूचक पनि बढ्दो क्रममा देखिएपछि धितोपत्रको बजारको आकार बढेको हो । बजार पूँजीकरण र कारोबार रकमका आधारमा मात्र होइन्, बिहीबार एकैदिन कारोबार भएको शेयरसंख्याका आधारमा समेत नयाँ रेकर्ड बनेको छ ।

यसअघि गत बिहीबार शेयर बजारको आकार २३ खर्ब ८२ अर्ब ७० करोड ९३ लाख थियो।

नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।

यसअवधिमा बजारमा शेयरको आपूर्ति उल्लेख्य बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको चुक्ता पूँजी ४ गुणा भन्दा धेरैले बढेको छ भने जलविद्युत तथा उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सहभागिता पनि बढेको छ । सूचीकृत कम्पनीको बोनस तथा हकप्रद शेयर पनि उत्तिकै थपिएको छ । त्यसैगरी नयाँ बीमा कम्पनी र अन्य कम्पनीहरुको पनि शेयरको आपूर्ति बढेको छ ।

कोरोना भाइरसका कारण समग्र अर्थतन्त्र गतिशिल हुन नसकेको अवस्थामा शेयर बजारमा भने आकर्षक देखिन थालेको छ । पछिल्लो समयमा लगानीका अन्य क्षेत्र नभएको र बैंक वित्तीय संस्थाको ब्याजदर पनि घटेको हुनाले शेयर बजार लगानी थपिएको अनुमान छ । त्यसले बजार बजार सुधारमा महत्वपुर्ण भुमिका खेलेको छ ।

आइतबार बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा आएको सुधारले आगामी दिनमा बजार अझै बढ्ने संकेत देखिन्छ । बजार पूँजीकरण भने कम्पनीको शेयर र अघिल्लो दिनको अन्तिम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ ।

हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा पब्लिक नै धेरै हुन्छ । बुधबार फ्लोट मार्केट क्याप पनि ८ खर्ब २७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । २०७३ साउन १२ गते फ्लोट मार्केट क्याप ६ खर्ब ९१ अर्ब ४७ करोड रुपैयाँ थियो ।

बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

पूँजीकरण मात्रै होइन आइतबार शेयर संख्याका आधारमा पनि रेकर्ड कायम भएको छ । नेप्सेका अनुसार आज १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर कारोबार भएको हो । बिहीबार १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर कारोबार भएकोमा सो रेकर्डलाई समेत आइतबारको बजारले तोडेर नयाँ रेकर्ड बनाएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आइतबार  १६ : ०२ बजे