शेयर बजारको सुधार अस्वभाविक, साना र नयाँ लगानीकर्ताका लागि जोखिम उच्च

0
Shares

पछिल्लो चरणमा निरन्तर सुधारउन्मुख रहेको शेयर बजार परिसूचक नेप्से मंगलबार चार वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । बजार निरन्तर बढ्दै जाँदा औसतमा दैनिक चार अर्ब बढीको कारोबार हुन थालेको छ ।

मंगलबार नेप्से १८१० विन्दु पार गरेको छ । यसअघि २०७३, असोजमा नेप्से १८१० विन्दुमा थियो। नेप्सेले २०७३, साउन १२ मा हालसम्मकै उच्च विन्दु १८८१ लाई छोएको थियो।

अन्तर्राष्ट्रिय रुपमै शेयर बजारमा उछाल आएको, ब्याजदर घटेको, कम्पनीहरूले अपेक्षीत लाभांश घोषणा गरेकाले पनि बजार बढेको हो। विश्वव्यापी कोरोना महामारीले लगानीका अन्य क्षेत्रहरु संकुचीत भएकाले पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरु बताउँछन् ।

‘शेयर बजारमा नियमित र ठूलो परिमाणमा कारोबार गर्नेहरूले बैंकबाट ऋण लिएर कारोबार गर्छन,’ एक शेयर दलालले भने, ‘ब्याज दर घटेपछि स्वाभाविक रुपमा मान्छेहरू ऋण लिएर शेयर किन्न थाल्छन्। यसले माग बढ्छ र मूल्य पनि बढ्छ।’

बैंक तथा वित्तीय संस्थाहरूले ६ महिना अघिसम्म शेयर धितोमा ११–१२ प्रतिशत ब्याज लिएर ऋण दिने गरेकोमा हाल ७ प्रतिशतमा दिने गरेका छन्। । ‘ब्याज सस्तो भएको मात्रै होइन, बैंक कर्मचारीले फोन गरेरै ऋण लिनु आउनुस भन्न थालेका छन’ उनले भने।

कोरोना महामारीका कारण सरकारले लकडाउन घोषणा गर्नुअघि दैनिक औसत एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको थियो। यस्तो औसत हाल चार अर्बभन्दा माथि पुगेको छ। ‘पछिल्लो दुई–तीन दिनमा ४ अर्ब रुपैयाँभन्दा बढीको शेयर किनबेच हुने गरेको छ । पछिल्लो ३ तीन दिनमा मात्रै झण्डै १८ अर्ब बराबरको शेयर किनबेच भएको छ ।

नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीले अहिलेको शेयर बजारको बढाई अर्थतन्त्र विपरित रहेको बताउँछन् । पछिल्लो चरणको बजारको बढाई कृत्रिम भएको र यस्तो अवस्थामा साना तथा नयाँ लगानीकर्ताहरु डुब्ने खतरा हुने उनको भनाई छ । ”अहिले बजार यति पुग्छ र उति पुग्छ भनेर अनेक हल्ला र चलखेल गर्नेहरु सक्रिय भएको देखिन्छ, बजारमा हुने असमान्य गतिविधि साना लगानीकर्ताका लागि खतरनाक हुनसक्छ, यसतर्फ सरोकारवालहरुले सवाधानी अपनाउन जरुरी छ,” कार्कीले भने ।

प्रविधिको विकासले शेयर कारोबार सहज भएको र यतिबेला अन्यत्रको लगानी संकुचित हुँदा शेयर कारोबारमा बढोत्तरी आएको उनको भनाई छ । बैंकहरुले समेत शेयर कर्जा दिने क्रम बढेको, बजारमा तरलताको अवस्था सहज र निक्षेपको ब्याजदर पनि घटेकाले शेयर बजारमा आर्कषण बढ्नु स्वभाविक भएको उनको भनाई छ । 

फाइजर र बायोएनटेक कम्पनीले कोरोना भाइरस प्रतिरोधी भ्याक्सिन ल्याउन लागेको समाचारले संसारभरको शेयर बजार बढेका छन । संसारभरका शेयर बजार बढ्दा त्यसको सकारात्मक प्रभाव नेपालमा समेत परेको बताईन्छ ।

तर बजार विश्लेषकहरु यस्तो समयमा शेयरमा लगानी गर्दा सजग हुनुपर्ने बताउँछन्। बजार बढेको बेला सामान्यतया नयाँ लगानीकर्ता भित्रिने हुँदा उनीहरु सजग बन्नुपर्ने सुझाब छ । कोरोना भाइरसका कारण आर्थतन्त्रका सूचकहरु नकरात्मक रहेको अवस्थामा समेत शेयर बजारमा निरन्तर सुधार जोखिम पुर्ण छ । विश्व अर्थतन्त्र नै नकरात्मक अवस्थामा रहेको भएपनि शेयर बजारहरु भने उल्टो दिशामा अघि बढीरहेको अवस्था छ ।

पछिल्ला दिनहरुमा भारतीय, अमेरिकी शेयर बजारहरु पनि नयाँ उचाइमा छन् । नेपाली शेयर बजार पनि सोही दिशामा देखिएको छ । पछिल्ला दिनहरुमा नेप्सेमा नयाँ–नयाँ किर्तिमानहरु पनि बनेका छन् ।

बैंकिङ प्रणालीको ब्याजदर घट्नु तथा बैंकहरुले सहज र सस्तो दरमा कर्जा दिनुले पनि शेयर बजार सकारात्मक हुनमा मद्दत गरेको हो । त्यतीमा मात्र नभै बैंकहरु आफैले पनि शेयर बजारमा लगानी बढाएको अवस्था छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ मंसिर २०७७, मंगलबार  १५ : ४४ बजे