बैंकहरुको दोहोरो लगानीले शेयर बजार हालसम्मकै उच्च अंकमा

0
Shares

बैंक तथा वित्तीय संस्थाले दोहोरो बाटोबाट लगानी गरेपछि अर्थतन्त्रको विपरित धितोपत्र बजार देखिएको छ । कोरोनाका कारण अस्तव्यस्त अर्थतन्त्रको वृद्धि नकारात्मक हुने विश्लेषण गरिरहेको अवस्थामा बैंकहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शेयर बजारमा लगानी गरेपछि बजार सूचक हालसम्मकै उच्च अंकमा पुगेको हो ।

बैंक/वित्तीय संस्थाले चालु आर्थिक वर्षको असोजसम्ममा करिब ५०७ अर्बको ओभरड्राफ्ट कर्जा, साढे ५९ अर्बको मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका छन। त्यसका साथै बैंकहरु आँफैले पनि ट्रेजरी म्यानेजमेन्टको नाममा शेयर बजारमा प्रत्यक्ष लगानी गरेका छन्।

राष्ट्र बैंकका अनुसार पछिल्लो समयमा वित्तीय प्रणालीमा एक खर्ब ६५ अर्ब अधिक तरलता रहेको छ । बैंकहरुमा प्रशस्त तरलता भए पनि आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जा लगानी विस्तार गर्न सकेका छैनन् । यो अवस्थामा बैंकहरुले धितोपत्र बजारलाई अवसरको रुपमा प्रयोग गरेको देखिन्छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) हालसम्मकै उच्च १८९३ बिन्दुमा पुगेको अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा सुधार नआएको लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताए । “नेप्से सूचक हेर्दा करेक्सन हुनुपर्ने देखिदैन तर, केही समुहमा भने उछाल आएको छ,” पौडेलले भने,“केही समुहमा आएको अस्वभाविक वृद्धि करेक्सन हुनुपर्छ र हुन्छ पनि ।” बजारमा धेरै वेटेज रहेका क्षेत्रका कम्पनीको शेयर मूल्य अझै पनि न्यून रहेको हुनाले कम्पनी छनोट गरेर लगानी गरेको खण्डमा समस्या नहुने उनी बताउँछन् ।

पूँजी बजार कर्जा उपभोगको हिसाबले प्राथमिकता प्राप्त क्षेत्र नभएपनि पछिल्लो समयमा अन्य क्षेत्रमा प्रबाह हुने कर्जा रोकिएको हुनाले शेयर बजारले अवसर पाएको उनको भनाइ छ । “बैंक वित्तीय संस्थाले नै लगानीकर्तालाइ बोलाएर कर्जा दिएको अवस्था छ,” उनले भने,“बैंक वित्तीय संस्थालाई कर्जा लगानी गर्न सबैभन्दा सहज क्षेत्र भनेको पूँजी बजार हो ।” विगतको तुलनामा ब्याजदर घटेको र कर्जाको प्रक्रिया समेत सहज भएकाले वित्तीय क्षेत्रको पैसा शेयर बजारमा आएको उनको तर्क छ।

अहिले बैंक तथा वित्तीय संस्थासंग अत्याधिक तरलता छ । यो अवस्थामा बैंक वित्तीय संस्थाको कल एकाउन्टमा दिएको रिर्टन भन्दा उपयुक्त प्रतिफल शेयर बजारबाट आउने भएकाले पोर्टफोलियो व्यवस्थापनका लागि पनि बैंक वित्तीय संस्था आँफैले पनि धितोपत्र बजारमा कारोबार गरेको उनले बताए ।

पछिल्लो समयमा केही वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीले प्रत्यक्ष रुपमा शेयर बजारमा लगानी गरेको एक बैंकरले बताए । “हाइड्रो, नेपाल टेलिकम तथा बीमा कम्पनीहरुमा बैंक वित्तीय संस्थाले प्रत्यक्ष लगानी गरेको हुनाले माग बढेको देखिन्छ ।,” उनले भने,“बैंक वित्तीय संस्थाको शेयर उनीहरुले नै लगानी गर्न नपाउने भएकाले मूल्य नबढेको हो ।”

रेमिट्यान्समा आएको निरन्तर सुधार बैंकहरुमा निक्षेप उच्च दरमा बढ्न गएको छ । त्यसका साथै बैंकहरुले कर्जा लगानी गर्ने क्षेत्रहरु पनि ठप्प छन । त्यसका साथै बैंकहरुले मुद्दती तथा बचत खातामा दिने ब्याजदर पनि धेरै घटाएको अवस्था छ । त्यसैले सबै क्षेत्रको लगानी शेयर बजारमा आउँदा बजार बढेको ती बैंकरको तर्क छ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले धितोपत्र बजार भनेको माग र आपूर्तिले निर्धारण हुने बताए । लगानीकर्ताले तत्कालको प्रतिफल र भविष्यमा हुने प्रतिफललाई हेरेर लगानी गर्नुपर्ने हुन्छ । शेयर बजारमा पनि लगानी गर्दा आफुले शेयर खरिद गर्ने कम्पनीको अहिलेको अवस्था र भोलिको अवस्था हेरेर मात्र लगानी गर्न उपयुक्त हुने उनले सुझाएका छन् ।

२०७२ सालमा भूकम्पपछि नेप्से सूचक निरन्तर बढेर २०७३ साउन १२ गते १८८१ अंक पुगेको थियो । त्यसपछि निरन्तर घट्दो क्रममा रहेको शेयर बजार ११०२ अंकसम्म झरेको थियो। अर्थतन्त्र भन्दा फरक बाटोमा हिडेकाले २०७२ सालको पुनारावृती भएको नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।

“भुकम्प आएपछि बढेको शेयर बजारमा सुधार बबल थियो, अहिले पनि लगानीका अन्यत्र क्षेत्र संकुचित हुँदा शेयर बजारमा लगानी बढेको देखिन्छ। उनले भने,“ शेयर बजारमा बबलको अवस्था हुन नदिनका लागि कारोबार हुने वित्तीय उपकरणगत तथा संस्थागत विविधिकरण गर्नु जरुरी छ ।” त्यसका साथै वास्तविक क्षेत्रलाइ पनि अघि बढाउनु पर्ने उनको तर्क छ ।

सरकारले तोकिदिएका क्षेत्रमा कर्जा जान नसकेपछि बैंकहरुले पैसा उपयोगको गर्ने क्रममा शेयरमा लगानी बढाएको भट्टले बताए । “चालुपूँजी र ओभर ड्राफ्टको पैसा पनि स्टक मार्केटमा आएको हुन सक्छ,” उनले भने,“यसमा ब्याजदर सस्तो र अधिक तरलताका मुख्य कारण हो ।”

बैंकहरु आफैले पनि कुनै एक संगठित संस्थाको शेयर, डिबेञ्चर वा कुनै सामूहिक लगानी कोषमा लगानी गर्दा प्राथमिक पूँजीको १० प्रतिशतमा नबढ्ने गरी र सबै संगठित संस्थाको शेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पूँजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सक्ने व्यवस्था छ ।यसभन्दा अघि बैंकहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा घरजग्गामा लगानी गर्दा बबल सृजना भएको थियो । घरजग्गामा आएको बबल फुट्दा केही बैंक वित्तीय संस्था बन्द समेत भएको अवस्था थियो ।

चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा असोजमा ओभरड्राफ्ट कर्जा ३.७ बढेको छ । भदौ महिनामा ४ खर्ब ८८ अर्ब ५९ करोड रुपैयाँ ओभरड्राफ्ट जारी गर्दा असोजसम्ममा आइपुग्दा बढेर ५ खर्ब ६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । तर, गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आवको असोजमा भने बैंक वित्तीय संस्थाले प्रवाह गरेको ओभरड्राफ्ट कर्जा १० प्रतिशतले बढेको छ । बैंक वित्तीय संस्थाले गत आर्थिक वर्षको असोजसम्ममा ४ खर्ब ६० अर्ब ३७ करोड रुपैयाँ बरावरको ओभरड्राफ्ट प्रवाह गरेका थिए ।

चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा असोजमा मार्जिन कर्जा पनि १७.८ प्रतिशतले बढेको छ । तर, गत आर्थिक वर्षको असोजको तुलनामा भने चालु आवको सो अवधिमा ३१.१ प्रतिशतले बढेको हो । चालु आवको भदौसम्ममा बैंक वित्तीय संस्थाले ५० अर्ब ४० करोड रुपैयाँ शेयर कर्जा प्रवाह गरेका थिए भने असोजमा ९ अर्बले बढेर ५९ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन । गत आर्थिक वर्षको असोजमा बैंक वित्तीय संस्थाले ४५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।