कोभिडको असर न्युनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यक :अर्थमन्त्री


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरसका कारण अर्थतन्त्रमा पुगेको क्षती न्यूनीकरण गर्न निजी क्षेत्रसंगको सहकार्य आवश्यक रहेको बताएका छन् ।
कोरोना भाइरसका कारण अर्थतन्त्रमा थपिएको चुनौति कम गर्न सरकार एक्लैले नसक्ने बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रको सहकार्य अति आवश्यक रहेको बताए ।

कोभिडले सिर्जना गरेका चुनौतिलाई कम गर्नका लागि सरोकारवाला निकाय सवैको योगदान अपरिहार्य रहेको बताउँदै मन्त्री पौडेलले भने,“विशेष गरी अहिले लगानी वृद्धि, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेमा केन्द्रित हुनुपर्नेछ ।,”

अर्थतन्त्रलाई चलायमान गराई लगानी रोजगारी वृद्धिमा केन्द्रित गरी अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक रहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्न सरकारले विशेष कार्यक्रम आवश्यक रहेको बताए । निजी क्षेत्र रणनीति बनाएर काम गर्न लागेको हुनाले सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष गोल्छाको भनाई छ ।

महासंघले १० वर्षे रणनीतिपत्र तयार पारी आगामी एक सय दिनभित्रमा सार्वजनिक गर्ने बताउँदै अध्यक्ष गोल्छाले भने,“दिगो आर्थिक वृद्धि, रोजगारी, राजस्व वृद्धि गर्ने काम निजी क्षेत्रले गर्दै आएको छ, आगामी दिनमा पनि गर्ने नै छ ।” समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रको योगदान पु¥याउन व्यवसायी मैत्री बातावरण अपरिर्हाय रहेको उनको भनाइ छ । प्रत्यक्ष अनुदान, राजस्व छुट, साँवा ब्याज भुक्तानीको अवस्था, श्रमिक व्यवस्थापन लगायत विषयलाइ सरकारले तत्काल सम्बोधन गरे मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उनको तर्क छ ।

दोहोरो दरको आर्थिक वृद्धि, वार्षिक चार लाख युवालाई रोजगारी सिर्जना, व्यापार घाटा न्युनीकरण गरी आत्मनिर्भर अर्थतन्त्र बनाउन निजी क्षेत्र आतुर रहेको गोल्छाको भनाई छ ।

कृषि उत्पादनलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम ल्याउन, साना र मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन महासंघले सरकारसँग सहकार्य गर्न चाहेको समेत उनले बताए । एक दर्जन बढी नीति एवं कानूनहरुमा सुधार गर्नुपर्ने आवश्यकता रहको र निर्यात बढाउन केही अन्तर्राष्ट्रिय लगानी सम्झौताको पुनरावलोकन गर्न आवश्यक रहेको गोल्छाले सुझाए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।