नेपालले भारत र चीनसँग व्यापारिक सम्बन्ध सुदृढ बनाउनु पर्छ : डा. महत


पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् ।

दुवै मुलुकसँगको व्यापार बिस्तारका लागि पनि छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा पुर्व अर्थमन्त्री महतले चीन र भारतसँग नेपालको आयात र निर्यात व्यापार निर्भर जस्तै रहेकाले सम्बन्ध सुदृढीकरणमा जोड दिएका हुन् ।

‘भारतसँग सामाजिक, धार्मिक, सांस्कृतिक सम्बन्धसँगै आर्थिक सम्बन्ध बढी छ । साथसाथै, आर्थिक सम्बन्ध पनि उत्तिकै छ । नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट हुन्छ । चीनबाट १५ प्रतिशत हुन्छ । ५८ प्रतिशत निर्यात पनि भारतसँग छ । व्यापारको हिसाबले पनि भारत र चीनसँग अत्यन्तै नजिकको सम्बन्ध छ ।’ डा. महतले भने, ‘लगानीको कुरा गर्दा भारतबाट लगानी आईरहेकोमा चीनबाट पनि भित्रिँदैछ । यस्तो अवस्थामा भविष्यको विकासको लागि दुई देशबीच दुवै देशसँग फाईदा लिनुपर्छ ।’

‘लगानीको स्रोतको रुपमा, पर्यटनको स्रोतको रुपमा र हाम्रो मार्केट सोर्सको रुपमा पनि भारत र चीन नै महत्वपूर्ण हुन् । आर्थिक सहयोग पनि दुवै मुलुकबाट प्राप्त गरेका छौं । दुवै मुलुकसँग सम्बन्ध राम्रोसँग राख्नुपर्छ’ उनले भने ।

चीनको विरोध, भारतको समर्थन, अनि फेरी चीनको समर्थन र भारतको विरोध भन्ने कुरा सुनिए पनि नेपालले आफ्नो राष्ट्रिय हितको लागि दुवै देशसँग समुधुर सम्बन्ध राख्नुपर्नेमा डा. महतले जोड दिए ।

महतले नेपालले भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए । उनले भारतसँग धेरै विवाद रहेको सुनाउँदै ती नयाँ विषय नभएको बताए । चीनसँग पनि नेपालको सीमा विवाद रहेको बताएका महतले भने, ‘हुम्लामा कतिपय पहिलेका खम्बाहरु, पिल्लर सारिएका छन् भन्ने सुनिएको छ । यस सम्बन्धमा निष्पक्ष ढंगले विज्ञहरु बसेर वास्तविकताको छानबिन गरेर टुँगो लगाउनु पर्छ ।’

भारतसँगको सिमाना विवादको विषय पनि पनि टुँगो लगाउनु पर्ने डा. महतको जोड थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।