वित्तीय साधन उत्पादन अभिवृद्धिमा प्रोत्साहित गर्न चुनौती : राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलतालाई उत्पादन तथा रोजगारी बढाउने क्षेत्रमा सदुपयोग गर्न चुनौती रहेको जनाएको छ । कोरोना भाइरसका कारण सृजना भएका समस्याले वित्तीय साधन ती क्षेत्रमा परिचालन गर्न चुनौतीपूर्ण रहेको हो ।

कोभिड–१९ संक्रमण न्यूनीकरणका स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डको पालना गर्दै आर्थिक क्रियाकलाप संचालनलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । केन्द्रीय बैंकले निक्षेपको ब्याजदरमा आउने कमीले साना निक्षेपकर्तालाई प्रभावित गर्ने भएकाले बचत र मुद्दती निक्षेपको ब्याजदर अन्तर ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवसथा गरेको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै महामारीबाट सिर्जित समस्याका कारण वित्तीय साधन उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रतर्फ प्रोत्साहित गर्न चुनौती बढेको जनाएको छ ।

अर्थतन्त्रमा महामारीको प्रभाव उच्च रहेतापनि आर्थिक पुनरुत्थानका लागि अवलम्वन गरिएका मौद्रिक तथा वित्तीय उपायहरुले व्यावसायिक वातावरण सहज वनाउन मद्दत पुगेको देखिन्छ । संक्रमण न्यूनीकरणका लागि लागू गरिएका नियन्त्रणात्मक व्यवस्थालाई सहज गरिएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेको छ ।

अहिले बैंकिङ्ग प्रणालीमा पर्याप्त तरलता रहेको छ । निक्षेप र कर्जाको ब्याजदरमा कमी आएको छ । वित्तीय पहुँच विस्तार हुनुका साथै विद्युतीय वित्तीय कारोवार वढ्दै गएको छ । मुद्रास्फीति नियन्त्रित रहेको छ भने शोधनान्तर बचतमा रहेको छ । शेयर बजार कारोबार र सूचकांक बृद्धि भएसँगै लगानीकर्तामा उत्साह बढेको छ । समष्टिगत आर्थिक आधारहरु सुदृढ रहेतापनि आर्थिक क्रियाकलाप विस्तारमा कोभिड–१९ संक्रमणले सिर्जना गरेको असहजता यथावत नै रहेको छ । त्यसले गर्दा पनि वित्तीय स्रोतलाई उत्पानद वृद्धि गर्ने क्षेत्र तर्फ परिचालन गर्न चुनौतीपूर्ण रहेको केन्द्रीय बैंकले जनाएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।