धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले आइतबार मात्रै १६६ अर्ब रुपैयाँ गुमाएका छन् । शेयर बजार सूचक १२३ अंकले घटेपछि लगानीकर्ताको सम्पत्तीमा उच्च गिरावट आएको हो ।
शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै शेयर तथा व्यक्तिगत कर्जाको सन्दर्भमा हालको व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ । केन्द्रीय बैंकको यो कदमले आइतबार शेयर बजार सूचकमा सर्किट ब्रेक लागाउन पर्नेगरी घटेको छ ।
आइतबार नेप्से परिसूचक १२३.३४ अंकले घटेर १ हजार ९३२ दशमलव ११ अंकमा झरेको छ । नेप्सेमा १९७ कम्पनीको ६१ हजार ८५८ कारोबारबाट ७ अर्ब २० करोड रुपैयाँ बराबरको एक करोड ५४ लाख ९० हजार कित्ता शेयर खरीद बिक्री भएको छ ।
नेप्से सूचकसँगै नेप्सेको कुल बजार पूँजीकरण पनि घटेको छ । आइतबार नेप्सेको कुल बजार पूँजीकरण २५ खर्ब ८९ अर्ब रुपैयाँमा झरेको छ । गत साता नेप्सेमा कारोबार भएको अन्तिम दिन बिहीबार नेप्सेको कुल बजार पूँजीकरण २७ खर्ब ५५ अर्ब रुपैयाँ थियो ।
आइतबार फ्लोट मार्केट क्यापिटलाइजेशन पनि करिब ५१ अर्ब रुपैयाँ घटेको छ । गत बिहीबार ९ खर्ब ४० अर्बको फ्लोट मार्केट क्यापिटलाइजेसन थियो । यो आइतबार घटेर ८ खर्ब ८९ अर्बमा सीमित भएको छ ।
नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयरमूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तीको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयरमूल्य र शेयर संख्याको गुणनफल नै बजार पुँजीकरण हो ।
बजार पूँजीकरण भने कम्पनीको शेयर र अघिल्लो दिनको अन्तिम मूल्यको गुणनफल भएकाले शेयरमूल्य सँगसँगै बजार पूँजीकरण पनि घट्छ । बजारमा संस्थापक र पब्लिक दुबै शेयर भएपनि दैनिक कारोबार पब्लिक शेयरको नै धेरै हुन्छ । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया