चार अर्बको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

0
Shares

नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) लाई लागि ४ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ ।

सात वर्ष अवधिको उक्त ऋणपत्र बिक्री गर्न बोर्डले मंसिर १८ गते बैंकलाई अनुमति दिएको हो ।  ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ ऋणपत्रमा लगानीकर्ताले ८.५० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा पाउनेछन् ।

बैंकले निष्काशनमा ल्याउने ४० लाख कित्ता ऋणपत्रमध्ये प्रतिइकाई एक हजार रुपैयाँको दरमा १६ लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि बिक्री गर्नेछ भने २४ लाख कित्ता (६० प्रतिशत) प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैँले संघ संस्थालाई बिक्री गर्नेछ ।

नेपाल राष्ट्र बैंकले गत कार्तिकदेखि स्थीर ब्याजदर लागू गर्दै दीर्घकालीन स्रोत परिचालनका लागि वाणिज्य बैंकहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र अनिवार्य जारी गर्न निर्देशन दिएको छ ।

बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट एण्ड बैंकिङलाई यसअघि नै चयन गरिसकेको छ ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको बेला बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमै ऋणपत्र निष्काशन गर्न लागेकाले बचतको तुलनामा ऋणपत्रमा लगानी गर्नेले बढी ब्याजदर प्राप्त गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार  १३ : २७ बजे