नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०७३ सालको बुलपछिका घट्ना क्रम दोहोरिन थालेको छ । विगतमा जस्तै यसपटक पनि बजार सूचकले नयाँ उचाई कायम गरेपछि उच्च अंकको उतार-चढाव देखिएको हो ।
२०७३ साल साउन १२ गते १८८१ अंकमा पुगेको शेयर बजार सूचक केही दिनमा नै ५ प्रतिशत अर्थात ८८ अंकले घटेर सर्किट ब्रेकर लगाएपछि बजार बन्द भएको थियो । त्यसको भोलिपल्ट नै बजार सूचक पुनः सोही गतिमा अर्थात ८४ अंकले बढेको थियो । त्यसपछिको बजार बुल सकिएको संकेत गर्दै निरन्तर घट्दो क्रममा देखियो ।
अहिले पनि बजारले सो गति लिएको छ । २०७७ मंसिर १७ गते हालसम्मकै उच्च अंक २०७१ अंकमा पुगेको नेप्से सूचक मंसिर २१ गते आइतबार ६ प्रतिशत अर्थात १२३ अंकले घट्यो । तर, २३ गते सोमबार भने बजार सूचक पुनः ७२ अंकले बढेको छ । विगतको नेप्से सूचकको गतिविधिलाई हेर्दा अहिले पनि बुल सकिएको संकेत गरेको हुनसक्छ ।
२०७३ साल साउन १२ गतेको बुलपछि नेपाल धितोपत्र बोर्डले सम्पत्ती शुद्दीकरण निर्देशिकाको प्रभावकारी कार्यन्वयन गर्ने भन्ने नीतिगत निर्णय गरेपछि बजार घट्दो क्रममा देखिएको थियो । अहिले पनि बजारमा हालसम्मकै उच्च बिन्दु २०७१ बनाइसकेपछि नेपाल राष्ट्र बैंकले मार्जिन र व्यक्तिगत कर्जाका व्यवस्थामा पुनरावलोकन गर्ने भनेपछि बजार सूचक सर्किट ब्रेकर लगाउन पर्ने गरी घट्यो । तर, सोमबार बजार सूचकमा सोही गतिको सुधार पनि आयो ।
अहिले र यसभन्दा अघिको बुल र बुलपछिको नेप्सेको उतार-चढावलाई तुलना गर्दा लगानीकर्ता होसियार भएर लगानीको निर्णय गर्नुपर्ने देखिन्छ । २०७३ को बुल पनि भूकम्पपछि आर्थिक वृद्धि ०.२ प्रतिशतमा रहँदै गर्दा त्यसको ठीक विपरित शेयर बजारले नयाँ उचाई बनाएको थियो ।
त्यसैगरी अहिले पनि कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा सुस्तता आउनुका साथै उत्पादन तथा बिक्री वितरणको संयन्त्रमा नै समस्या आयो । फलस्वरुप आर्थिक वृद्धिमा असर पुग्ने देखियो । राष्ट्रिय तथ्याङ्क विभागको प्रारम्भिक अध्ययन अनुसार गत आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रह्यो । आर्थिक वर्ष २०७५/७६ को आर्थिक वृद्धि करिब ७ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धि झनै प्रभावित हुने देखिन्छ । तरपनि शेयर बजार सूचक दिन प्रतिदिन नयाँ उचाई कायम गरिरहेको छ ।
२०६५ साल भदौ १५ गते नेप्से परिसूचक ११७५ बिन्दुमा थियो । सो उच्च बिन्दुबाट बजार घट्ने क्रम सुरु हुँदा पनि अलिहेको जस्तै उच्च अंकको उतार-चढाव देखिएको थियो । त्यसपछि नेप्से सूचक घटेर २९२ बिन्दुसम्म झरेको थियो । सो समयमा विश्व आर्थिक मन्दीको समय थियो । विश्वभर आर्थिक मन्दी भएको अवस्थामा नेपालको शेयर बजार नयाँ उचाई बनाएको थियो । सो वर्ष नेपालमा पनि उर्जा संकट तथा बन्द र हड्तालले गर्दा आर्थिक वृद्धि खुम्चिएको अवस्था थियो।
यसरी पछिल्लो १२ वर्षमा नेप्सेमा आएका तीनवटा बुलमा तीनै पटक अर्थतन्त्र भन्दा शेयर बजार विपरित दिशामा देखिएको अवस्था छ । लगानीका अन्य क्षेत्र खुम्चिँदा शेयर बजारमा लगानी बढ्ने गरेको छ ।
अहिलेको समयमा आएको बुल पनि अर्थतन्त्रको गतिविधि विपरित भएको र पछिल्ला दिनमा देखिएको उतार-चढावले विगतका बुलमा जस्तो जोखिम बढेको विज्ञहरुले भन्दै पनि आएका छन् । नेप्से सूचकको नयाँ उचाइ बनाएसँगै नियामक निकायले समेत लगानीकर्तालाई जोखिम विश्लेषण गरेर शेयर खरिद बिक्रीको निर्णय गर्न भनेर सचेत समेत गरिसकेको अवस्था छ ।
पूँजी बजार तथा मुद्रा बजारका नियामक निकायका अधिकारीहरुले समेत बजारको सुधार दीर्घकालीन भन्दा पनि विगतकै गतिविधिलाइ दोहोर्याएको हुनाले जोखिम उच्च रहेको बताउँदै आएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया