शेयर बजारमा साढे ९ महिनामा ११ खर्ब रुपैयाँ बराबरको पूँजी निर्माण

0
Shares

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र निरन्तर खुम्चिदै गएको अवस्थामा विश्वभरका पूँजी बजारहरु भने निरन्तर सुधारको बाटोमा छन् । आर्थिक गतिविधिका लागि उत्पादन तथा वितरणको संयन्त्र विग्रिएको भएपनि शेयर बजार मार्फत पूँजी निमार्ण हुने क्रम भने उत्साहजनक देखिन्छ ।

सन २०१९ मा २.८ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२० मा ४.४ प्रतिशतले संकुचन हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । सन् २०२१ मा भने विश्व अर्थतन्त्र ५.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको छ । सन् २०१९ मा १.७ प्रतिशतले वृद्धि भएको विकसित मुलुकहरुको अर्थतन्त्र सन् २०२० मा ५.८ प्रतिशतले संकुचन हुने कोषको प्रक्षेपण छ । 

उदयीमान तथा विकासशील अर्थतन्त्र सन् २०१९ मा ३.७ प्रतिशतले वृद्धि भएकोमा सन् २०२० मा ३.३ प्रतिशतले संकुचन हुने मुद्रा कोषको प्रक्षेपण रहेको छ । सन् २०२१ मा विकसित मुलुकहरुको अर्थतन्त्र ३.९ प्रतिशतले र उदीयमान तथा विकासशील मुलुकहरुको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।

यस्तो अवस्थामा पनि धितोपत्र बजारहरुमा भने एक पछि अर्को किर्तिमान बन्ने गरेको छ । अमेरिका, भारत, चीन लगायतका मुलुकहरुको पूँजी बजारमा उल्लेख्य सुधार आएको छ । कोरोनाका कारण नकारात्मक भएको आर्थिक क्षेत्रमा शेयर बजारले भने लगानीकर्तालाई भुलाएको देखिन्छ । कोरोनाका कारण अर्थतन्त्रले गुमाएको रकमको केही हिस्सा शेयर बजारबाट निमार्ण पनि गरेको देखिन्छ । तर, विषम अर्थव्यवस्थामा शेयर बजारमा आएको सुधार दिगो हुने भने संङका नै छ । त्यसैले गर्दा अहिलेको अवस्थामा शेयर बजारको लगानी सोच विचार गरेर गर्नुपर्ने हुन्छ ।

नेपालको सन्दर्भमा भन्दा पनि गत आर्थिक वर्षको आर्थिक वृद्धि २.६ प्रतिशतमा सिमित हुने प्रारम्भिक अनुमान केन्द्रीय तथ्याङक विभागले जनाएको छ । तर, यो अवधिमा शेयर बजारमा ११ खर्ब रुपैयाँ बरावरको पूँजी निमार्ण भएको छ । चालु आर्थिक वर्षको बजेटको आकार १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ छ ।

पूँजी निमार्ण गर्ने प्रमुख क्षेत्रको रुपमा धितोपत्र बजारलाई लिइन्छ । सामान्यतया पूँजी बजारले पैसा सृजना गर्छ भने मुद्रा बजारले त्यसको व्यवस्थापन गर्ने काम गर्छ।

कोरोनाका भाइरसको संक्रमण नियन्त्रणका लागि गत चैत ११ गते देखि सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गर्यो । सोही समयदेखि शेयर बजारमा सुधारको गति सुरु भयो । कोरोना भाइरसको संक्रमणले अझै पनि आर्थिक गतिविधिहरु पूर्वत रुपमा सञ्चालन हुन सकेका छैनन । तर, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक हालसम्मकै उच्च २०७१ अंकसम्म पुगेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि गरिएका बन्दाबन्दी लगायतका नियन्त्रणात्मक उपायका कारण पर्यटन, निर्माण, औद्योगिक उत्पादन, शैक्षिक संस्था लगायतका गतिविधिहरु बढी प्रभावित भए । संक्रमण न्यूनीकरणका लागि लागू गरिएका नियन्त्रणात्मक व्यवस्थालाई सहज गरिएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेको छ । बैंकिङ्ग प्रणालीमा पर्याप्त तरलता रहेको छ । निक्षेप र कर्जाको ब्याजदरमा कमी आएको छ । मुद्रास्फीति नियन्त्रित रहेको छ भने शोधनान्तर बचतमा रहेको छ ।

वित्तीय क्षेत्रको अधिक तरलता, लगानीका क्षेत्र नहुनु र घट्दो ब्याजदरका कारण शेयर बजारमा लगानी बढ्न गयो । त्यसले गर्दा नेप्सेको कारोबार रकम, नेप्से सूचक तथा बजारको हाकारमा पनि नयाँ किर्तिमान बनेको अवस्था हो ।

२०७६ चैत १० गते १२५१.४५५७ अंकमा रहेको नेप्से परिसूचक २०७७ मंसिर २३ गतेसम्ममा आइपुग्दा १९९५.३५ अंकमा पुगेको छ । यो ९ महिना १४ दिनको अवधिमा नेप्सेमा कारोबार हुने ठुला कम्पनीको सेन्सेटिभ इण्डेक्स पनि २७१.०६२ अंकवाट ३८०.१८ अंकमा पुगेको छ । यो विचमा नेप्सेको कारोबार रकम एक दिनमा ९ अर्ब रुपैयाँ सम्म पुगेको छ ।

यो अवधिमा नेपाली पूँजी बजारले १० खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ पूँजी निमार्ण गरेको छ । २०७६ चैत १० गते नेप्सेमा कारोबार हुदाँ १६ खर्ब १९ करोड रुपैयाँ कुल बजार पूँजीकरण रहेकोमा मंसिर २३ गते मंगलबार २६ खर्ब ७४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । नेप्सेको बजार पूँजीकरणलाइ आधार मानेर हेर्दा पनि यो अवधिमा लगानीकर्ताले १० खर्ब ७४ अर्ब ३१ करोड रुपैयाँ कमाएको देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७७, मंगलबार  १७ : ०१ बजे