चाहिएको बेला बीमा किन्न पाइन्न…‘किनकि जीवन अमूल्य छ’

0
Shares

बिहान बिहान फोनमा घन्टी बज्यो । साथीबाट सम्पर्क पाएको भन्दै कपनका देवराजले आफ्नो परिचय दिए । बीमा गर्नुपर्ने भएको भन्दै भेट्न बोलाए । आफ्नो पेशा हो । स्वभाविक रुपमा तत्काल भेट्ने स्थान र समय निर्धारित गरियो । उनले आफ्नो अफिसमै बोलाएकोले म उत्साहित हँुदै तोकिएको समयमा पुगेँ । भव्य कार्यालय । सभ्य कर्मचारी । मैले आफ्नो परिचय दिएपछि एक कर्मचारीले उनको कार्यकक्षसम्म लगे ।

सामान्य भलाकुसारीपछि उनले आफूलाई जीवन बीमा पोलिसी आवश्यक भएको बताए । ठूलै रकमको पोलिसी खरीद गर्ने इच्छा रहेछ उनको । बीमाका केही मूल्य मान्यताका आधारमा उनीसँग गरिएको अन्तरवार्ताबाट थाहा भयो उनी जीवन बीमाका लागि अयोग्य रहेछन् । मैले बीमा गर्न नसक्ने जवाफ दिएँ । उनी निराश भए । म फर्किएँ ।

उनको निराशाको मसँग कुनै उपाए थिएन । कारण बीमा विश्वासका आधारमा गरिने एक करार हो । बीमा गर्दा आफुले जानेबुझे सम्मको तथ्य तथा विवरणहरु कुनै कुरा नलुकाई सम्पूर्ण विवरण दिनुपर्दछ । त्यही विवरणका आधारमा सम्बन्धीत व्यक्ति जीवन बीमाका लागि योग्य छ छैन थाहा हुन्छ । अयोग्य व्यक्तिको बीमा स्वीकार्य हुँदैन । यस्तो व्यक्तिले चाहेर पनि बीमा खरिद गर्न पाउँदैन ।

आफ्नै मित्रले विगत चार वर्षदेखि बीमाका लागि प्रस्ताव गर्दा मित्रता नै तोडेको बताउने बानेश्वरका राज श्रीमतीको बीमा गराउन विभिन्न कम्पनी धाए । कसैले पनि उनको बीमा स्वीकार गरेनन् । उनी भन्छन् ‘समयमा बुद्धि पुगेन अहिले पछुताउनुको विकल्प रहेन ।’ हिजो स्वस्थ हुँदा उनले बीमा गर्नुको औचित्य बुझेनन् या बुझ्न चाहेनन् । अहिले श्रीमतीको अल्सर क्यान्सरमा परिणत भएपछि बल्ल बीमाको जरुरी देखे तर त्यो सम्भव भएन ।

उपचारमा लाखौं खर्च हुँदा नसोचेको आर्थिक क्षति भयो । समयमै जीवन बीमा पोलिसी खरीद गर्नु बुद्धिमानी हुन्छ भन्ने उनको सल्लाह छ । भोलि कसैले जान्दैन तसर्थ आजै आफ्नो आयश्रोतका आधारमा जीवन बीमा पोलिसी खरिद गरौं भन्ने राजले आफ्नो भने ठूलै रकमको बीमा गरेका छन् । श्रीमतीको बीमा गर्न नपाएकोमा भने अहिले आफू पछुताएको बताउँछन् उनी । रोग लागेपछि बीमा खरीद गर्न पाइँदैन ।

‘जीवन बीमा, बीमा कम्पनी र बीमा गर्ने ब्यक्तिबीच भएको एउटा कानुनी करार हो जसमा बीमितले निश्चित रूपले एकैपटक वा किस्ताबन्दीका रूपमा पटक पटक निश्चित बीमाशुल्क बुझाए बापत बीमकले निजको मृत्यु भएमा निजको परिवारलाई वा बीमा अवधिपछि निजलाई नै कुनै निश्चित रकम दिने सम्झौता भएको हुन्छ ।’

सम्भावित आर्थिक जोखिम नहोस् भनेर बीमालेख खरीद गरिन्छ । जुन खरीद समयमा व्यक्ति जीवन बीमाका लागि योग्य हुनु अनिवार्य हुन्छ । स्वस्थ हुँदा मात्र बीमा पोलिसी खरीद गर्न सकिन्छ । स्वस्थ भएर मात्र पुग्दैन, उनको आम्दानी पनि हुन जरुरी छ । सामान्यतया मानिसले आफ्नो आवश्यकताले मात्र कुनै वस्तु वा सेवा खरीद गर्छ । जबसम्म आवश्यकता हुँदैन तबसम्म त्यस्तो वस्तु या सेवामा खर्च गरिँदैंन । सामान्य नियमले यही भन्छ आवश्यकता नपरेको वस्तु या सेवामा खर्च गर्नु बुद्धिमानी होइन । तर, जीवन बीमा त्यस्तो सेवा हो, जुन आवश्यकता नपर्दै खरीद गर्नुपर्छ । भोलि आवश्यक पर्ला या नपर्ला तर सुनिश्चित भविष्यका लागि खरीद गरेर राख्नुपर्छ । समस्या परिसकेपछि चाहेर पनि बीमा खरीद गर्न पाइन्न ।

हामीलाई लाग्नसक्छ, अहिले बीमामा खर्च गर्नुभन्दा अन्य आवश्यकताको परिपूर्तिका लागि खर्च जरुरी छ । घर, गाडी, व्यापार, लगानी, बालबालिकाको शिक्षा जस्ता आवश्यकतामा हामीलाई सधै पैसाको जरुरी परिरहेको हुन्छ । आम मानिस यही क्षेत्रबाट अधिक लाभ हुने पनि तर्क गर्छन् । यी सबै आवश्यकताका लागि मानिसले रातदिन मिहेनत गरिरहेको हुन्छ । पसिना बगाउँछ । भविष्यको योजना बनाउँछ तर उसले आज आफूले गरिरहेको श्रम र पसिनाबाट भइरहेको उपलब्धी भोलि पनि हुन्छ भन्ने सुनिश्चित नभएको कुरा सोचेको हुन्न ।

लाखौं करोडौं कमाउने क्षमता भएको व्यक्ति जीवन बीमामा थोरै लगानी गर्न पनि उत्साहित हँुदैन । करोडौंको घरमा बस्छ । करोडौं कै गाडी चढ्छ । दैनिक लाखौं कमाउँछ । उसले आफूलाई सधै यस्तै रहन्छु भन्ने निश्चित छैन भनेर सोचेको हुँदैन । तर, अनिश्चित भविष्यमा कुनै पनि दिन आफूले गरिरहेको व्यवसाय धरासायी हुनसक्छ । त्यतिबेला बीमा खरीद गर्न चाहेर पनि सम्भव छैन। हुँदैन ।

मानिसको जीवन कुनै पनि बेला गडबड हुनसक्छ । त्यतिबेला तपाईको कमाईमा रमाएको परिवार आर्थिक विपतमा पर्नसक्छ । ‘मानिसको जीबनमा धेरै जोखिमहरू हुन्छन । सबैभन्दा ठूलो जोखिम मृत्यु हो । रोगब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट मानिसको अकालमा नै मृत्यु हुनसक्छ । यसरी परिवारको सदस्य नरहँदा उक्त परिवारलाई आर्थिक समस्या पर्न सक्दछ । बीमा चालु रहेको अवस्थामा बीमा अवधिभित्र बीमा गर्ने मानिसको मृत्यु भएको खण्डमा बीमा कम्पनीले उसको इच्छाइएको ब्यक्तिलाई बीमाङ्क रकम र बोनस प्रदान गर्दछ ।’ त्यसैले तपाईको परिवार आर्थिक संकटबाट जोगिन्छ । तर, यो त्यतिबेला खरीद गर्न सकिन्न जतिबेला आवश्यकता पर्दछ ।

घर, गाडी, जग्गा जमिन या अन्य खुशी तपाईको इच्छामा जतिबेला पनि खरीद गर्न सकिन्छ तर बीमा एकमात्र यस्तो चीज हो जुन तपाइलाई अति नै आवश्यक भएको बेला किन्न पाइन्न । बीमा कुनै पनि दुर्घटना हुनुभन्दा पहिले नै किनेर राखेको हुनुपर्छ । कुनै पनि घटनाबाट हुने आर्थिक क्षतिको पुर्तालका लागि बीमा अनिवार्य हुन्छ तर त्यो पहिले नै सम्झौता गरिसकिएको हुनुपर्छ । भोलि त्यसको आवश्यकता परोस् या नपरोस् समयमै बीमा सम्झौता गर्नुपर्छ । हो, सकेसम्म बीमाबाट क्षतिपूर्तिको आवश्यकता कहिल्यै कसैलाई नपरोस् । तर जब आवश्यक परिहाल्यो भने त्यतिखेर किन्न या सम्झौता गरेर लाभ लिन पाइन्न । तसर्थ समयमै यदि आफ्नो आवश्यकता र क्षमता अनुसारको बीमालेख खरिद गरिएको छ भने राज र देवराज जस्तो पश्चाताप गर्नुपर्दैन । तपाईको सानो लापरवाहीको कारण भएको आर्थिक क्षतिको पीडा तपाईको परिवारले भोग्न नपरोस् । यदि दुर्घटना अघि बीमा सम्झौता गरिएको छैन भने बीमा कम्पनीले त्यसको क्षतिपूर्ति दिँदैन र दुर्घटना भइसकेपछि क्षतिपूर्ति दिन सम्झौता पनि गर्दैन ।

सामान्य तर सत्य के हो भने हरेक व्यक्तिको जीवनमा उसको परिवार अमूल्य हुन्छ । आफ्नो परिवारमा कुनै समस्या आइलागोस् भनेर कसैले चाहन्न तर भोलि कसैले जानेको छैन । भनिन्छ नि ! ‘दुर्भाग्य खबर गरेर आउँदैन ।’ मृत्यु सत्य हो, यसलाई कसैले बदल्न या रोक्न सक्दैन, सामना गर्नुको विकल्प पनि छैन । न त पूर्व संकेत नै दिन्छ यसले । त्यसैले सम्भावित दुर्घटनापूर्व नै जोखिमसँग जुध्न तयार हुनु जरुरी छ । जोखिमसँग जुध्न तयार हुन भनेको क्षमताले भ्याएसम्मको जीवन बीमा खरीद गर्नु हो । यसो गरिएन भने तपाईलाई नभई तपाईको परिवारलाई आर्थिक अभावको पहाडले थिच्न सक्छ । त्यतिबेला चाहेर पनि बीमा गर्न पाइँदैन । आज बीमाको खाँचो महसुश नहुनसक्छ तर आजै र अहिल्यै बीमा खरीद गरौं…किनकि जीवन अमूल्य छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।