चन्द्रागिरीको आईपीओमा ४.२९ गुणा धेरै माग, १३.१५ करोडको पर्यो आवेदन

चन्द्रागिरीको आईपीओमा ४.२९ गुणा धेरै माग, १३.१५ करोडको पर्यो आवेदन

चन्द्रागिरी हिल्स लिमिटेडको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा मंसिर ३० गते मंगलबारसम्ममा १३ करोड १५ लाख रुपैयाँ बढीको शेयर माग भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंसिर १७ गतेदेखि निष्काशन खुला भएको कम्पनीको आईपीओमा मंगलबार साढे ५ बजेसम्ममा ३ हजार ५५८ वटा आवेदबाट १३ करोड १५ लाख ६६ हजार ५०० रुपैयाँ बराबरको १३ लाख १५ हजार ६६५ कित्ता शेयरको माग भएको छ ।

जसमध्ये आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट २ हजार ८९९ वटा आवेदन मार्फत १० लाख ४१ हजार ७७० कित्ता र फारम मार्फत ६५९ आवेदन मार्फत २ लाख ७३ हजार ८९५ कित्ताको माग परेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गरेको हो । यस आधारमा हेर्दा कम्पनीको शेयरमा मागको तुलनामा ४.२९ गुणा बढीको माग परेको हो ।

आईपीओमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ । इच्छुक आवेदकले कम्तिमा १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी गरेको पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं। ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं। ९ र १० का नागरिकले मात्र आवेदन दिन पाउनेछन् ।

  • सर्वसाधारणमा दोश्रो चरणमा खुल्ने

कम्पनीले पहिलो चरणको शेयर बिक्रीपछि सर्वसाधारणमा दोश्रो चरणमा शेयर बिक्रीमा ल्याउनेछ । दोश्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ ।

कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितापत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित उद्यमी चन्द्र ढकालको प्रमुख लगानी रहेको कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकिकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० मंसिर २०७७, मंगलबार १७ : ५८ बजे