कोरोना भाइरसका कारण थलिएको अर्थतन्त्रले गति लिन थालेको छ । बैंकहरुमा कर्जाको माग बढ्नुले पनि आर्थिक गतिविधिमा सुधार आएको स्पष्ट हुन्छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएका कारण नेपाल राष्ट्र बैंकले पैसा खिचिरहेको अवस्था छ । तर, चालु आर्थिक वर्षको पुस महिना सुरु भएसंगै आर्थिक गतिविधिमा देखिएको सुधारले कर्जाको माग समेत बढाएको छ ।
मंसिर महिनाको अन्तिम तथा पुस महिनाको सुरुका तीन दिनमा मात्र बैंकहरुमा २३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने २२ अर्ब रुपैयाँ बजार प्रबाह भएको छ । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण बैंकहरुमा कर्जाको माग नआउने समस्या बढ्दै गएको थियो ।
बैंक वित्तीय संस्थामा निक्षेप बढ्ने कर्जाको माग नहुने भएपनि अधिक तरलताको समस्या देखिएको छ । विदेशबाट भित्रिने रेमिट्यान्स निरन्तर बढ्नु तथा कोरोनाका कारण सर्वसाधारणको खर्चमा कटौति आएपछि बैंकहरुमा निक्षेप उल्लेख्य बढेको हो ।अहिलेको अवस्थामा पनि बैंकहरुमा अधिक तरलताको समस्या छ । त्यसकारण ब्याजदर निरन्तर घट्दो क्रममा छ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने गरी चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने भने पनि कोरोना महामारीको त्रास कम भएसंगै आर्थिक गतिविधिमा आउने सुधारमा हालको तरलता पनि कम हुने भन्दै नीतिगत परिवर्तन नगरेको अवस्था छ । पछिल्लो समयमा देखिएको कर्जाको मागले त्यसलाई पुष्टि पनि गरेको देखिन्छ । कर्जाको माग बढ्न थालेपछि आगामी सातासम्ममा नै अधिक तरलताको समस्या पनि व्यवस्थापन हुनेछ ।
चालु आर्थिक वर्षको पुस ३ गतेसम्ममा बैंकहरुले कुल २२ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन । यो अवधिमा बैंकहरुले २ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको नेपाल बैंकर्स संघले जनाएको छ । हालसम्म बैंकहरुले ३७ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन भने ३१ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया