उद्योग वाणिज्य महासंघलाई समस्या समाधानमा सहकार्य गर्दै जाने नेपाल रत्न तथा आभुषण संघको प्रतिबद्धता


नेपाल रत्न तथा आभुषण संघले नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा स्वागत गरेको छ ।

आईतवार काठमाडौंमा आयोजित सो स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको समस्या समाधान गर्ने विश्वासका साथ निर्वाचित गरेको भन्दै आफूहरुले सो विश्वासलाई कायम राख्न प्रयास गर्ने बताए ।

‘निजी क्षेत्रले एकमात्र नेतृत्व महासंघलाई मानेको हुँदा हामी सबैजनाले एक लक्ष्य र आवाजमा कामगर्ने छौं, अध्यक्ष गोल्छाले भने ।

उनले हालै महासंघ भित्र समिति र फोरम गठन गरिसकेको भन्दै ती समिति र फोरमहरुलाई सक्रिय बनाएर निजी क्षेत्रको विभिन्न समस्याहरु समाधान गर्न पहल गर्ने बताए ।

हाल देशभित्र सुनचाँदीको गरगहना तयार गर्न दक्ष कामदारको अभाव देखिएको विषयमा जानकार रहेको भन्दै सो विषयलाई सम्बोधन गर्दै आगामी दिनमा नेपालभित्रै कामदार तयार पार्ने प्रयास गर्ने बताए ।

उनले नेपाली गरगहनाको निर्यातमा पनि चुनौती रहेको तर उच्च मूल्य प्राप्त गर्न सकिने सुनचाँदी गरगहनाको निर्यातका लागि समेत रत्न तथा आभुषण संघसँग सहकार्य गर्ने बताए ।

लगानीको वातावरणलाई सुधार्ने र कसरी दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने योजनासहित काम भईरहेको भन्दै त्यसको लागि वृहत छलफल समेत गरिने अध्यक्ष गोल्छाले बताए ।

त्यसैगरि वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले रत्न तथा आभूषण संघसँग नजिकबाट सहकार्य गर्न तयार भएको भन्दै १० हजार भन्दा बढि सुन व्यवसायी रहेकोमा सरकारले कोटा लगाउनु दुखद रहेको बताए । सुनको अभावले व्यवसायी र कालिगढ पलायन हुनसक्ने जोखिम भएको भन्दै उनले सो समस्या समाधान गर्न प्रयास गर्ने बताए ।

कार्यक्रममा नेपाल रत्न तथा आभूषण संघका पूर्व अध्यक्ष सुरेश श्रेष्ठले नेपाली रत्न तथा आभुषणको व्यवसायमा दक्ष कामदारको समस्या रहेको र त्यसलाई समाधान गर्न कठिन भएको बताए । उनले नेपाली स्टोनहरुलाई उत्खनन गरेर विदेशमा महंगो मूल्यमा निर्यात गर्न सकिने संभावना रहेको भन्दै त्यसको लागि सबैले पहल गर्नुपर्ने बताए ।

संघबाट अध्यक्ष ज्योत्सना श्रेष्ठका साथै अन्य ३ जना समेत कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाली गरगहना गुणस्तरीय भएपनि सो अनुसार सरकारले निर्यात प्रोत्साहन गर्न नसकेको बताईन् । उनले दक्ष कामदारको अभाव, सुन आयातमा कोटा, स्पष्ट नीति नियमको अभाव हुँदा रत्न तथा आभुषण व्यवसायीहरुले पटक पटक समस्या बेहोर्नुपरिरहेको बताईन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।