पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्र चिन्तित, संयमतापूर्वक निर्णय लिन अपिल

0
Shares

निजी क्षेत्रका तीन ठूला प्रतिनिधि संस्थाहरूले प्रमुख राजनीतिक दलहरू समक्ष संयमतापूर्वक निर्णय लिन अपिल गरेका छन् ।

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र निजी क्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि वारम्वार सुझाव दिंदै आएको उल्लेख गर्दै राजनीतिक दलहरू समक्ष संयमतापूर्वक निर्णय लिन अपिल गरेका छन् ।

राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न नहुने उनीहरुको भनाई छ।

विश्वव्याधी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित छ । तीन संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक स्थिरताको आर्थिक विकाससंग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्यौलता सृजना गर्नेमा निजी क्षेत्र शसंकित एवं चिन्तित भएको छ र भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्नेमा चिन्ता प्रकट गरेका छन् ।

अतः नेपाल उद्योग वाणिज्य महासघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघ संयुक्त रुपमा आजको यस बिषम परिस्थितिमा सम्पुर्ण राजनीतिक दलहरू समक्ष सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गर्दछ । तीन संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।