सिडिएससीले केही लगानीकर्ताको पछि लागेर आम लगानीकर्ताको सूचनाको पहुँचमा लगायो बन्देज


हल्ला र सुनेका कुराहरुमा आधारित भई केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले निर्णयमा पुग्ने काम गरेसँगै आम लगानीकर्ता साधारण शेयर बाँडफाँडको सूचना पाउनबाट बञ्चित भएका छन् ।

१५ लाखभन्दा बढी लगानीकर्ताले साधारण शेयरमा आवेदन गर्दै आइरहेको अवस्थामा एकाएक नतिजा सार्वजनिक गर्दै आईरहेका सञ्चार माध्यमलाई तथ्यांक उपलब्ध गराउनबाट सिडिएससीले बन्देज लगाइयो ।

जसका कारण सर्वसाधारणले शुक्रबार शेयर बाँडफाँड भएको धेरै समय बित्दासम्म शेयर बाँडफाँडको नतिजा हेर्न सकिरहेका छैनन् ।

सिडिएससीले मेरो शेयर, शेयर बिक्री प्रबन्धक तथा सम्बन्धित कम्पनीले मात्र शेयर बाँडफाँडको नतिजा सार्वजनिक गर्ने व्यवस्था गरे पनि हालसम्म त्यस किसिमको पुर्वाधार तयार भएको छैन । बिना तयारी अघि सारिएको नयाँ व्यवस्थाले लगानीकर्ताको च्यादर ओढेका केही थान लगानीकर्ताहरुको मिशन त पूरा भयो, तर आम लगानीकर्ता भने सूचनाको पहुँचबाट बाहिरिएका छन् ।

शुक्रबार शेयर बाँडफाँड भएको महिला लघुवित्तको नतिजा मेरो शेयर, कम्पनी र बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङबाट सार्वजनिक गर्ने भनिएकोमा अहिले उल्लेखित तीनवटै संस्थाका वेबसाइटहरु पूर्ण रुपमा बन्द छन् । मेरो शेयरको हकमा कुरा गर्ने हो भने १५ लाख लगानीकर्ताको चाप धान्न नसक्ने भएकाले नै धितोपत्र बोर्डलाई गुहारेर शुक्रबार मात्र शेयर बाँडफाँड गराउने व्यवस्थाका लागि अनुरोध गरेपछि अहिले सोही अनुसार शुक्रबारदेखि शेयर निष्काशन सुरु हुने अनि शेयर बाँडफाँड पनि शुक्रबार नै गर्ने चलनको विकास गर्यो ।

आफ्नो प्रणाली सुधार गर्नु कता हो कता वेबसाइट नै नखुल्ने अवस्थामा छाडेर निष्काशन वापतको मोटो शुल्क मात्र असुली गर्दै आएको सिडिएससीले नतिजा सार्वजनिक गर्ने माध्यम प्रभावकारी बनाउन सकेन । सिडिएससीले गर्न नसकेको काम कम्तिमा सञ्चार माध्यमहरुले नतिजा सार्वजनिक गराएर आम लगानीकर्तालाई सहज रुपमा नतिजा हेर्न सक्ने व्यवस्था गरिरहेका थिए । तर सिडिएससीले केही थान लगानीकर्ताहरुले सुनेको भरमा गरेको गुनासोलाई सम्बोधन गर्न खोज्दा शुक्रबार लगानीकर्ता आईपीओ नतिजा हेर्नबाट बञ्चित हुन पुगेका छन् ।

लगानीकर्ताको गोपनीयताको मुद्धा बनाएर सञ्चार माध्यमलाई नै गलत सावित गराउने केही थान लगानीकर्ताको हचुवाको गुनासोलाई सुन्ने सिडिएससीले किन लगानीकर्तालाई नतिजा हेर्ने पूर्ण प्रबन्ध नगरी नतिजा वितरणमा रोक लगायो भन्ने प्रश्न उब्जिएको छ ।

सिडिएससीको यो निर्णयबाट केही लगानीकर्ताका नेता, स्वदेशमा बस्न नसकी विदेश पलायन भएर आफुलाई नेपालको पूँजी बजार मुट्ठीमा भएको ठान्ने सेलिब्रिटी लगायतको आम लगानीकर्ताको हीत विपरितको चाहना मात्र पूरा भएको छ । सिडिएससीले पनि तथ्यांक संप्रेषण गर्ने निर्णयमा अदूरदर्शीता अपनाएको शुक्रबारको नतिजा हेर्न नपाउने अवस्थाले नै पुष्टि गर्छ ।

अब आम लगानीकर्ताले साधारण शेयरको नतिजा थाहा पाउनका लागि सिडिएससी, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत, लगानीकर्ताका नेता तथा सेलिब्रिटीहरुलाई धेरैभन्दा धेरै फोन गरेर आफुलाई शेयर परे नपरेको विवरण माग गर्नु सान्दर्भिक देखिनेछ । किनकी न त मेरो शेयर चल्छ, न त मर्चेण्ट बैंकरको वेबसाइट, न त महिला लघुवित्तको वेबसाइट ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।