चर्चामा रहेका मध्ये कति वटा कम्पनीले पाउलान् पुनर्बीमाको लाइसेन्स ?

0
Shares

बीमा बजारमा पछिल्लो समय नयाँ पुनर्बीमा कम्पनीहरु संचालनमा आउने बिषय चर्चामा रहेको छ । बजारमा पुनर्बीमा व्यवसाय गर्ने उद्देश्य सहित तीन कम्पनी लाइसेन्सका लागि दौडधुप गर्दैछन ।

नेपाली बीमा बजारमा थप नयाँ पुनर्बीमा कम्पनीको आवश्यकता रहेको भन्दैे काठमाडौ, अन्नपूर्ण र प्रुडेन्सियल रि नामक कम्पनीहरु चर्चामा आएका छन् । यी कम्पनीहरुले आवश्यक तयारी गर्दै पुनर्बीमा व्यवसायको लाइसेन्सको लागि दौडधुप तिब्र बनाएका छन् ।

स्थापनको तयारीमा रहेका कम्पनीहरु लाइसेन्स हत्याउन बीमा समिति तथा शक्ती केन्द्र धाउन थालेपछि समितिले नेपाली बीमा बजारमा थप पुनर्बीमा कम्पनीको आवश्यकता र सम्भाव्यताको अध्ययन गर्न अध्ययन टोली गठन गरेको छ । अध्ययन टोलीमा बीमा समितिका सल्लाहाकार एवं बीमा विज्ञ भोजराज शर्मा सहित बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डे र चार्टर्ड एकाउण्टेण्ट निराज आचार्य रहेका छन् । समितिका सल्लाहाकार शर्माको नेतृत्वमा गठित अध्ययन टोलीले समेत काम सुरु गरिसकेको छ ।

पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन गर्न गठित अध्ययन टोलीलाई लिएर बजारमा विभिन्न तर्क विर्तक समेत आएका छन् । बीमासम्बन्धी सरोकारवालहरुले उक्त अध्ययन टोलीलाई लिएर भिन्नभिन्न खालका धारणा राखेको पाईन्छ । बीमा विज्ञ डा. रविन्द्र घिमिरे समितिले औपचारिकताका लागि मात्रै अध्ययन टोली गठन गरेको बताउँछन् ।

“पुनर्बीमा व्यवसायको लाइसेन्स दिने भनेको गम्भिर हो, स्वदेशको बजारलाई मात्रै नहेरि अन्तराष्ट्रिय बजारको पनि अध्ययन गर्नुपर्ने हुन्छ,” घिमिरेले भने, “तर यहाँ त तीन जनाको मात्रै टोली रहेछ, यो औपचारिकताका लागि मात्रै हो, यस्तो विषयमा गहन अध्ययन हुनुपर्ने र अध्ययन टोलीमा समेत बीमा क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरु समावेश गरिनु पर्छ ।”

लाइसेन्स दिनु भन्दा अघि बजारको अध्ययन गर्नु राम्रो काम रहेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नोटबजारलाई बताए । लाइसेन्स दिनु भन्दा अघि बजारको अवस्थालाई अध्ययन गर्नु सकारात्मक रहेको उनको भनाई छ ।

आफैले स्थापना गरेको कम्पनीलाई जगेर्ना नगरी निजी क्षेत्रलाई पुनर्बीमाको लाइसेन्स दिने सरकारको काम गलत रहेको घिमिरेको ठहर छ । “अहिले भईरहेको कम्पनीलाई जगेर्ना गर्ने हो भने थप कम्पनीको आवश्यक छैन्,” घिमिरेले भने,“ यहि कम्पनीलाई अन्तराष्ट्रिय बजारमा चिनाउन सके पुनर्बीमा व्यवसाय वापत विदेशीने रकम रोकिन्छ र विदेशी रकम पनि भित्रिन्छ ।”

पुनर्बीमा कम्पनीको अनुमती दिदाँ बीमा समितिले तोकेको मापदण्डहरु पुरा गरेको, दक्ष जनशक्ति, विदेशी साझेदार, पूँजी संरचना जस्ता विषयलाई विषेश ध्यान दिएर मात्र दिनुपर्ने सरोकारवालहरुको धारणा छ । यता बीमा समितिले भने अध्ययन टोलीले बुझाएको प्रतिवेदनका आधारमा लाइसेन्स दिने या नदिने निर्णय गर्ने बताउँदै आएको छ ।

पुनर्बीमा व्यवसाय सञ्चालन गर्नका लागि गौर आवासीय नेपाली उपेन्द्र महतोको नाम पनि चर्चामा रहेको छ । उनले आफु र भाई विरेन्द्र महत्तोको अगुवाईमा अन्नपूर्ण रि नामक कम्पनी पुनर्बीमा व्यवसायको लागि दर्ता प्रक्रिया अगाडि बढाएको स्रोतले जनकारी दिएको छ । उक्त कम्पनी दर्ताको प्रक्रिया प्रारम्भिक चरणमा रहेको छ । कम्पनीको चूँक्ता पुँजी १० अर्ब रुपैेयाँ हुने बताइएको छ ।

त्यस्तै, पुनर्बीमा व्यवसायको लागि दर्ताको प्रक्रियामा प्रुडेन्सियल रि पनि रहेको छ । स्रोतका अनुसार यो कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, विशाल गु्रप, शाहिल अग्रवाल लगायतको लगानीमा आउन लागेको हो । अन्नपूर्ण, प्रुडेन्सियल र काठमाडौँ रि मध्ये काठमाडौँ रि इन्स्योरेन्सले मात्रै दर्ता प्रक्रियाको काम अन्तिम चरणमा पुर्याएको छ ।

दर्ताको लागि अन्तिम तयारीमा रहेको काठमाडौँ रि का एक संस्थापकले बजारमा १ देखि २ थप नयाँ पुनर्बीमा कम्पनीको आवश्यकता रहेको बताए । हाल सञ्चालनमा रहेको पुनर्बीमा कम्पनी सरकारको भरमा चलेको बताउँदै उनले भने,“सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुले अनिवार्य रुपमा २० प्रतिशत पुनर्बीमाको व्यवसाय दिनुपर्ने सरकारको निर्देशनले गर्दा मात्रै यो कम्पनी चलेको छ, स्वदेशमा मात्रै भर परेको छ ।” उनले कम्पनी दर्ताको सबै तयारी अन्तिम चरणमा रहेको बताए । संस्थापक पूँजी जुटाउने काम देखि लिएर विदेशी साझेदार सँग समेत सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । उनका अनुसार काठमाडौ रि सहकार्य गर्नका लागि दुई विदेशी पुनर्बीमा कम्पनी समेत तयार भइसकेका छन् ।

बीमा समितिको अधयन प्रतिवेदन अनुसार अनुमती पाइने भएपनि अझै समय लाग्न सक्ने देखिन्छ । समितिले अध्ययन प्रतिवेदनको निष्कर्ष अनुसार एक कम्पनीलाई मात्र अनुमती दिने भनेको खण्डमा सबै कम्पनीहरु मिलेर एक भएर आउन सक्ने सम्भावना पनि नरहेको उनले बताए । “बीमा समितिले सबै मिलेर आउनु भनेर अफर गर्न सक्छ, मिलेर जाने सम्भावना चाँही म देख्दिन,” उनले भने । प्रस्तावित सबै कम्पनीलाई पुनर्बीमा व्यवसायको लाइसेन्स दिँदा बीमा बजारले धान्न नसक्ने उनको तर्क छ । “प्रस्तावित सबै कम्पनीलाई पुनर्बीमा व्यवसायको लाइसेन्स दिनहुने अवस्था छैन, अहिलेको आवश्यकता भनेको एउटा मात्रै कम्पनी हो ।”

नेपालमा सञ्चालनमा रहेको पुनर्बीमा कम्पनीले गुणस्तरिय सेवा दिन नसकेको आरोप लागाउँदै ती संस्थापकले भने,“अहिले भएको एउटा कम्पनीमा दक्ष जनशक्ति छैन्, गुणस्तरिय सेवा प्रवाह गर्न सकेको छैन, सरकारले तोकेको व्यापार गरेर बसेको छ ।”अहिले भईरहेको कम्पनीलाई प्रतिस्पर्धी र पुनर्बीमा व्यवसायलाई राम्रो बनाउन र विदेशी रकमलाई रोक्न एउटा कम्पनीलाई मात्रै लाइसेन्स दिनुपर्ने उनको तर्क छ ।

चर्चामा रहेका कम्पनीमध्ये काठमाडौँ रिले पनि सबै प्रक्रिया सकेको छ । बीमा समितिले निवेदन आहवान गरेपछि सबै भन्दा पहिले निवेदन दिन जाने कम्पनीले जनाएको छ । एक हप्ताको अवधिमा काठमाडौँ रिले निजी क्षेत्रको ३ अर्बको लगानीेमा ४ अर्बको प्रस्ताव आईसकेको जानकारी दिएको छ । संस्थागत लगानी करिब २ अर्ब आईसकेको जनाएको छ ।

यसरी पुनर्बीमा व्यवसायका लागि तीन कम्पनीको दैडधुप चलिरहेको छ । केही कम्पनीले कम्पनी दर्ताको अन्तिम प्रक्रिया छन भने कोही पूँजी जुटाउने प्रक्रियामा छन । कुनै भने विदेशी लगानीकर्ता ल्याउने प्रयासमा देखिन्छन् । तर, बीमा समितिले भने पुनर्बीमा कम्पनीको लाइसेन्स वितरणमा ढिला गर्ने दाउमा देखिन्छ । त्यती मात्र नभै समितिले बजारको सम्भाव्यता अध्ययनका लागि नै समिति गठन गरेको भएपनि समिति आफैमा पनि विवादीत देखिएको छ । त्यसैले बीमा समितिले ढिलाईका लागि नभई बजारको बास्तविकताका लागि अध्ययन समिति गठन गरेका आधारहरु दैडधुप गरेका सम्बन्धित कम्पनीहरुलाई दिनुपर्ने देखिन्छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।