सेबोन अध्यक्षलाई सासंदको प्रश्न, सर्बोत्तम कसरी नियमन बाहिरको भयो ?

0
Shares

व्यवस्थापिका संसदको अर्थसमितिका सदस्यहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई सर्बोत्तम सिमेन्ट बोर्डको नियमन भन्दा बाहिर रहेको भन्ने विषयमा प्रश्न गरेका छन् । सर्बोत्तम सिमेन्टको शेयर कारोबार विवरण बोर्डमा बोधार्थ गएको अवस्थामा नियमन भन्दा बाहिर कसरी हुन सक्छ भन्ने प्रश्न उनीहरुले गरेका हुन् ।

धितोपत्र बजार नियमन गर्ने निकायका बोर्ड अध्यक्ष तथा सदस्य नै उक्त कम्पनीको शेयर कारोबार संलग्न रहेपछि अर्थसमितिले आइतबार अध्यक्ष ढुङगानालाई बोलाएर छलफल गरेको छ । समितिको छलफलमा सांसदहरुले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को ओटीस मार्केटमा कारोबार भएको सर्वोत्तमको शेयर विवरण बोधार्थ बोर्डमा पठाइएको अवस्थामा नियमन भन्दा बाहिर रहेको कम्पनी भन्न मिल्छ भनेर सासंदहरुले प्रश्न गरेका हुन ।

बुक विल्डिङ विधि मार्फत मूल्य निर्धारण गरी साधारण शेयर निष्कासन गर्ने तयारीमा जुटेको सर्बोत्तमको शेयर कारोबारमा धितोपत्र बोर्डका पदाधिकारी नै सहभागि हुँदा नौतिकताको प्रश्न पनि रहने सांसद राकुमारी झाक्रीले बताइन । “कनुनले के भन्छ भन्दैन भन्ने कुरा होला,” संसद झाक्रीले भनीन,“आजको विवादको विषय छानवीन हुनु पर्छ, भोलिका दिनमा कानुनमा रहेका छिद्रहरुलाई टाल्नु पर्ने देखिन्छ ।”

उनले ढुङगानालाई आरोप लागेको मात्र नभै धितोपत्र बोर्डले बुझाएको विवरणले पनि गलत भएको देखाउने दाबी गरीन । अर्थमन्त्रालयले धितोपत्र बोर्डका पदाधिकारीको सन्दर्भमा लागेको आरोपको स्पष्टिकरण बोर्ड सँगै मागेको सन्दर्भमा पनि प्रश्न गर्दै उनले भनिन,“बोर्ड अध्यक्ष र सदस्यलाई लागेको आरोपको स्पष्टिकरण ७ जना कर्मचारीले हस्ताक्षेर गरेर मन्त्रालयमा बुझाइएपछि पुग्छ ?” यस सन्दर्भमा अर्थमन्त्रालयले पनि जानकारी दिनु पर्ने झाक्रीको दाबी रहेको छ ।

धितोपत्र ऐन अनुसार बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक नै सूचिकृत कम्पनीको अध्यक्ष तथा सञ्चालक हुने व्यवस्था रहेको अवस्थामा इन्सासइडर टे«डिङ हुदैन भन्न नमिल्ने उनको भनाई छ । त्यसैले धितोपत्र बोर्डको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको सन्दर्भमा समेत कानुन संशोधन गर्न आवश्यक रहेको उनले बताईन ।

तर, बोर्डका अध्यक्षले भने आफैले कारोबार गरे जसरी बाहिर आएको गुनासो गर्दै सर्बोत्तमको शेयर कारोबारको सन्दर्भमा धितोपत्र बोर्ड सञ्चालक समितिको आचार संहिताले नछुने दाबी गरे । “सर्बोत्तम सीमेन्ट नेप्सेमा सूचिकृत नभएको हुनाले धितोपत्र बोर्डको नियमन दायराभित्र पर्दैन,” अध्यक्ष ढुङगानाले अर्थ समिति समक्ष भने,“सर्बोत्तमको शेयर कारोबार बोर्डको दायरा भित्र पर्दैन, त्यतिमात्र नभई भित्री कारोबार भनेर भन्न मिल्ने पनि छैन ।”

सर्बोत्तमको शेयर कारोबार सम्बन्धमा बाहिर आएको कुरा सत्य नभएको भन्दै उनले आफु बोर्डको अध्यक्ष भएकै कारण विवाहीता छोरीलाई शेयर कारोबारमा कानुनले बन्देज नगरेको जानकारी गराए । “यस समितिका सदस्यहरु पनि महिला हुनुहुन्छ,” उनले भने,“घरको निर्णयमा माइतीको भुमिका कति हुन्छ त्यसको व्यवबारिकता पनि हेरौ ।”

धितोपत्र बोर्डका पदाधिकारी माथि व्यक्तिगत रुपमा आरोप आउने अवस्थालाई नियन्त्रण गर्ने गरी कानुन बनाउनु पर्ने समितिलाई उनको सुझाव रहेको छ । अहिलेको कानुनी व्यवस्थामा एकाघर परिवार भित्र रहेको व्यवस्थालाई संशोधन गरेर त्यसमा अन्य थप गर्नु पर्ने नाता सम्बन्धलाई पनि थप गरेर आगामी दिनमा आउन सक्ने यस्ता अरोप नियन्त्रण गर्नुु पर्ने बताए । हालको धितोपत्र बोर्ड सञ्चालक समितिको आचारसंहितालाई पनि समय सापेक्ष बनाएर संशोधन गर्ने तथा निश्चित प्रणाली बनाएर प्रश्न उठ्ने ठाउ राख्न नहुने पनि ढुङगानाले सुझाए । यस्ता विषयहरुमा ऐन, कानुन तथा व्यबाहारिक हिसावले पनि जानु पर्ने ढुङगानाको तर्क छ ।

अर्थ समितिलाई बोर्डका तर्फबाट दिइएको जवाफमा अध्यक्ष ढुंगानाकी छोरीले किनेको सर्वोत्तम सिमेन्टको शेयरमा कुनै कानुन आकर्षित नहुने उल्लेख छ । सर्वोत्तम सिमेन्टको शेयरको कारोबार बोर्ड तथा बोर्डका अधिकारीहरुको क्षेत्राधिकार नपर्ने जनाइएको छ । बोर्डको कानुन अविवाहित छोराछोरीको हकमा मात्रै आकर्षित हुने भएकाले विवाहित छोरीको नाममा भएको शेयरलाई लिएर लगाइएको आरोपमा सत्यता नभएको समितिमा बोर्डका तर्फबाट पेस भएको विवरणमा उल्लेख छ ।

बोर्ड अध्यक्ष ढुंगानाले सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर छोरीले किनेको र आफुले केही पैसा सापट दिएको पनि स्विकार गरीसकेका छन् । यस विषयलाई लिएर अर्थ मन्त्रालय र अर्थ समितिले बोर्डसँग स्पष्टीकरण मागेका थिए । व्यक्तिलाइ लागेको आरोप बोर्ड संगै स्पष्टिकरण सोधिनु नै संङकास्पद भएको सासंदहरुको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।