एनसीएचएलबाट पहिलो त्रैमासमा ४१.२ खर्बको कारोबार

-नोटबजार संवाददाता।
काठमाडौं ।
९कार्तिक, २०७८, मंगलवार / Oct 26, 2021 10:01:am

एनसीएचएलले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ४१.२ खर्ब बराबरको १ करोड ७१ लाख भन्दा बढि कारोबारहरु प्रोसेस र फर्छ्यौट गरेको छ । पछिल्लो आ. व.को तुलनामा उक्त कारोबार संख्याको आधारमा १०७% ले बृद्धि भएको हो ।

पहिलो त्रैमासमा इसीसीमा जम्मा २८.९ खर्ब बराबरको ४१ लाख ५३ हजार भन्दा बढि चेक कारोबार भएको छ । बैंकका शाखा तथा एनपीआइबाट आईपीएसमा गरिने कारोबार ५.५ खर्ब बराबरको ३२ लाख ८६ हजार भन्दा बढि भएको छ।

त्यस्तै गरी बैंक वित्तिय संस्थाका वैकल्पिक माध्यमबाट गरिने कनेक्टआईपीएसमा ६.९ खर्ब बराबरको ९७ लाख ४७ हजार भन्दा बढि कारोबारहरु भएको छ ।

एनपीआईको प्रयोग गरेर आईपीएस र कनेक्टआईपीएसबाट गरिने कारोबारहरुमा उल्लेख्य बृद्धी भएको छ । विद्युतिय कारोबारको स्वीकार्यता तथा प्रयोग बृद्धीसँगै नेपाल राष्ट्र बैंकको विभिन्न मार्गनिर्देशले नेपालको विद्युतिय कारोबार पछिल्लो समयमा निकै बढ्दै गएको एनसीएचएलको भनाई छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक/वित्तिय संस्थाहरु, पिएसपि, पिएसओ लगायत विभिन्न संस्थाहरुलाई विद्युतिय भुक्तानीमा ल्याउन आवश्यक पूर्वाधारहरुको विकास र विस्तार गर्दै आएको छ ।

यसै क्रममा हाल उपलब्ध भएका पूर्वाधारहरु समेतलाई पुनः प्रयोग र थप गरी एनसीएचएलले राष्ट्रिय भुक्तानी स्वीचको काम समेत अगाडी बढाएको छ, जसको पहिलो चरणको तयारी सकिएर लागू हुने चरणमा रहेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments