राष्ट्र बैंकद्धारा एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन आह्वान

0
Shares

नेपाल राष्ट्र बैंकले पुस १७ गते शुक्रबारबाट एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ।  राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आगामी माघ १६ गतेसम्म आवेदन पेश गर्न भनेको हो ।

‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७’ मा भएको व्यवस्थाअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन आह्वान गरिएको हो ।

राष्ट्र बैंकले यसअघि नै “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७” लागू गरिसकेको छ ।

राष्ट्र बैंकबाट प्राप्त हुने पुनरकर्जा कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाहरुलाई उपलब्ध हुनेछ । बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउनेछ ।

राष्ट्र बैंकले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउनेछ । पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ ।

पुनरकर्जा आवेदनका साथमा इजाजत पत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची पेश गर्नुपर्नेछ । संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्नेछ । आवेदनको लागि छनौट गरिएको कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक।वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्नेछ ।

यसैगरी पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नुपर्ने, आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनुपर्नेछ । आवेदन पेश गर्ने संस्थाको पूँजीकोष अनुपात राष्ट्र बैंकले तोके बमोजिम पुगेको हुनुपर्नेछ । इच्छुक ग्राहक ऋणीलाई आफुले सेवा लिइरहेको शाखामा पुनरकर्जा माग गरी निवेदन दिनुपर्नेछ ।

केन्द्रीय बैंकले उपलब्ध गराउने पुनरकर्जा सुविधा २० प्रतिशतभन्दा बढी नाफा गर्ने संस्था, पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्युटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसाय र व्यक्तिगत ऋणीले उपयोग गर्न नपाउने व्यवस्था पुनकर्जा कार्यविधि, २०७७ मा व्यवस्था गरिएको छ। यस्तै ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जामा उपभोग गर्ने ऋणीहरु पनि पुनरकर्जा लागि अयोग्य हुनेछन् ।

साथै व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको, मार्जिन कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जामाका साथै सुर्तीजन्य उद्योगरव्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई पनि पुनरकर्जाको लागि अयोग्य हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार हालसम्म ८१ अर्ब पुनकरर्जा स्वीकृत भइसकेको छ । स्वीकृत भएको ८१ अर्ब पुनकर्जा मध्ये अधिकाँस १५ लाख भन्दा साना कर्जा रहेको छ । ‘हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ३३ हजार भन्दा बढी ऋणीको १५ लाख भन्दा सानो कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।