देशको कुल ग्राहस्र्थ उत्पादनको तुलनामा धितोपत्रको दोस्रो बजारको आकार ८ खर्ब ४० अर्ब रुपैयाँ मात्र सानो छ । पछिल्लो समयमा आएको सुधारले शेयर बजारको आकार विस्तार भएपछि कुल ग्राहस्थ उत्पादन (जीडीपी) को नजिक पुगेको हो ।
गत आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धि २.२७ प्रतिशतले हुने अनुमान गरिएसंगै अर्थतन्त्रको आकार पनि ३७ खर्ब ६७ अर्बको पुग्ने अनुमान तथ्याङक विभागको रहेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्तताका कारण आर्थिक वृद्धि न्यून हुने अनुमान गरिएको हो ।
आर्थिक गतिविधिमा आएको सुस्तताले अर्थतन्त्रको वृद्धिदरमा कमी आएको भएपनि शेयर बजारलाइ भने खासै असर गरेन ।
पछिल्लो समयमा कोरोनाका कारण भीडभाड नगरी शेयर कारोबार निरन्तरता दिनका लागि लकडाउन संगै सुरु भएको प्रविधिमा आधारित शेयर कारोबारले पूँजी बजारलाइ झनै सकारात्मक बनाएको छ ।
पछिल्लो समयमा अर्थतन्त्रको विपरित गतिमा भएपनि निरन्तर बढीरहेको धितोपत्र बजार हालसम्मकै ठूलो भएको छ । सार्वजनिक निष्काशनमा धितोपत्र बोर्डको १० कित्ते नीतिले शेयर बजारको विस्तार तथा जनचेतना अभिवृद्धि गरेको छ । त्यसले गर्दा पनि बजारको आकार बढ्नमा थप मद्दत गरेको छ । हाल धितोपत्र बजारको आकार २९ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।
आइतबारको धितोपत्र बजारको कुल बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ७८ प्रतिशत हो । अथार्त धितोपत्र बजारको कुल बजार पूँजीकरण आइतबार देशको कुल ग्राहस्र्थ उत्पादन भन्दा ८ खर्ब ४० अर्ब रुपैयाँले थोरै हो ।
धितोपत्र बजारको बजार पूँजीकरण बढ्नु लगानीकर्ताका लागि पनि सकारात्मक हो । नेप्से परिसुचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचिकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तीको आकार हो ।
नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।
आइतबार शेयर बजार सूचक ८८.१२ अंकले बढेको छ । नेप्से सूचक बढेपछि बजार पूँजीकरण पनि बढ्छ । आइतबार नेप्से सूचक हालसम्मकै उच्च २१७५ अंकमा पुगेको छ । आइतबार नेप्से सूचक मात्र नभै बजारको आकार पनि हालसम्मकै उच्च हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया