धितोपत्र दलालहरुले शेयर बजारसँग सम्बन्धित सूचनाहरुलाइ लिएर सामाजिक सञ्जालमा हुने हल्लाहरुलाई नियमन गर्न पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन् ।
शेयर मूल्यलाई प्रभावित गर्ने गरी सामाजिक सञ्जालमा हल्ला फैलाउने समुह गतिविधिको पनि धितोपत्र बोर्डले नियमन गर्न आवश्यक रहेको दलालहरूले औंल्याएका हुन् ।
धितोपत्र बोर्डले गत साताबाट ६० प्रतिशतसम्म ब्रोकर कमिशन घटाएपछि आफ्नो आम्दानीको मुख्यस्रोत प्रभावित हुनेभएपछि कार्यक्षेत्र विस्तारको माग गर्दै सात सुत्रिय ज्ञापनपत्र बुझाएका हुन् ।
ब्रोकरको कार्यक्षेत्र विस्तारनगरी एकतर्फी रुपमा कमिशन घटाउँदा कतिपय शेयर दलाल व्यवसायी विस्थापित हुनसक्ने गुनासो समेत उनीहरुले गरेका छन्।
धितोपत्र व्यवसायीलाई हाल कानुनमा व्यवस्था भएको आधिकारीक प्रतिनिधिलाई ब्रोकरको एजेन्टको रुपमा स्थापित गरि भौगोलिक रुपमा यथाशिघ्र बजार विस्तार गर्ने व्यवस्था गर्न समेत उनीहरुले बोर्ड संग माग गरेका छन् । धितोपत्र व्यवसायीले मार्जिन कारोबार सुविधाका लागि दिर्घकालिन स्रोत व्यवस्था गरी सञ्चालन योग्य बनाउन समेत माग गरेका हुन् ।
धितोपत्र बजारको दीर्घकालीन विकासका लागि धितोपत्र बोर्डले गर्नुपर्ने कामका विषयमा आइतबार ज्ञापनपत्र बुझाउँदै धितोपत्र दलालहरुले बुक विल्डिङ विधि मार्फत गरिने प्राथमिक निष्काशनमा मूल्य निर्धारणलाई अझै विश्वसनिय तथा यथार्थपरक बनाउन धितोपत्र दलाल व्यवसयायीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने व्यवस्था गरिदिन आग्रह गरेका छन्।
धितोपत्र बजारलाई अझै तरल तथा पारदर्शी बनाउन उचित सूचना प्रवाहको व्यवस्था गरी ब्रोकर कम्पनी तथा यसका शेयरधनी, सञ्चालक, कर्मचारी, एकाघरका परिवारका सदस्य तथा संलग्न अन्य कम्पनीले सोही ब्रोकर कम्पनीबाट कारोबार गर्न पाउने गरि प्रोपाइटरी ट्रेडको व्यवस्था गर्न समेत धितोपत्र दललाले माग गरेका छन् ।
धितोपत्र दलाल व्यवसायीले लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने कानुनी व्यवस्था मिलाउने तथा लगानी परामर्श सेवा उपलब्ध गराउन कानुनी व्यवस्था मिलाउने समेत माग गरेका छन् । धितोपत्र दलाल व्यवसायीले सार्वजनिक निष्काशन प्रक्रियामा प्रत्याभूत गर्न पाउने कानुनी व्यवस्था हुनु पर्ने समेत उनीहरुको माग रहेको छ ।
धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताको अकर्षण र विश्वास वृद्धि गरि अझ विकासित, चुस्त र गतिशिल बनाउन इन्ट्र डे कारोबार, सर्टसेल, सेक्यूरिटिज ल्याण्डिङ एण्ड बरोइङको सुरुवात, ऋणपत्र बजारलाई थप तरल बनाउन अन्य लगानी औजारहरुको विकास, थप स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ता भित्राउने, क्षेत्रगत विविधिकरणका लागि गैर वित्तीय क्षेत्रका थप कम्पनीलाई सुचिकृत गर्न, पूँजी बजार सम्बन्धी अध्ययन अनुसन्धान गर्नका लागि छुट्टै निकाय स्थापना गर्न, बजार सम्बद्ध अन्य पक्षहरुको अनुमतीपत्र तथा सर्टिफिकेसनको व्यवस्था गर्न दलाल व्यवसायीले धितोपत्र बोर्डलाई आग्रह गरेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया