बैंकहरुले उच्च ब्याजदर मागेपछि बिक्री नभएको रिभर्स रिपो पुनः जारी हुँदै

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि बिहीबार २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । यसभन्दा अघि केन्द्रीय बैंकले ५० अर्बको रिभर्स रिपो निष्काशन गर्दा उच्च ब्याजदर मागेपछि पुरा बिक्री हुन सकेको थिएन ।

केन्द्रीय बैंकले पुस ९ गते निष्काशन गरेको रिभर्स रिपोमा बैंकहरुले करिब ५ प्रतिशतसम्मको ब्याजदर मागेपछि ९ अर्ब ५४ करोड रुपैयाँ मात्र बजारबाट खिचेको थियो ।

अघिल्लो रिभर्स रिपो राष्ट्र बैंकले ब्याजदर चर्को भन्दै वित्तीय प्रणालीको तरलता खिचेको थिएन । बैंकहरुले पनि ९० दिनको रिभर्स रिपो भएको हुनाले धेरै ब्याजदर खोजेका थिए । सो अवधिमा बैंकहरुले आर्थिक गतिविधिमा आएको सुधारका कारण कर्जाको माग पनि बढ्न सक्ने अपेक्षा गरेका थिए ।

बैंक वित्तीय संस्थाले केन्द्रीय बैंकसंग माग गरेको ब्याजदर नपाएको खण्डमा पनि कर्जाको माग बढ्न सक्ने अपेक्षा थियो । बैंकहरुको अपेक्षा अनुसार पछिल्लो समयमा कर्जाको माग पनि ह्वात्तै बढ्न गएको छ । तरपनि वित्तीय प्रणालीमा थुप्रिएको निक्षेपले अधिक तरलताको समस्या कायम नै देखिएको छ ।

बढ्दो रेमिट्यान्स आप्रबाह, आर्थिक गतिविधि पुर्ववत रुपमा नफर्केको हुनाले बैंक वित्तीय संस्थामा निक्षेप बढ्न गएको छ । यसले गर्दा पनि अधिक तरलताको समस्या कायम रहेपछि राष्ट्र बैंकले बिहीबार (भोलि) २० अर्ब रुपैयाँ बरावरको तरलता खिच्न लागेको हो ।

केन्द्रीय बैंकले ९० दिनको लागि ५० अर्बको रिभर्स रिपो निष्काशन गर्दा २७ बैंक वित्तीय संस्थाले कुल २४० आवेदन मार्फत ५६ अर्ब १० करोड रुपैयाँ राष्ट्र बैंक पठाउने गरी आवेदन दिएका थिए । यो रिभर्स रिपोको औसत ब्याजदर १.२८ कायम भएको थियो ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी हो । राष्ट्र बैंकले २८ दिनका लागि आगामी माघ २२ गते परिपक्व हुनेछ । यसभन्दा अघिको रिभर्स रिपोको तुलनामा भोलिकोमा आवेदन धेरै आउने तथा धेरै तरलता बजारवाट केन्द्रिय बैंकले खिच्न सक्ने सम्भावना छ । यो रिभर्स रिपोको परिपक्क हुने समय २८ दिन मात्र भएको हुनाले बैंक वित्तीय संस्थाले कर्जा बढ्ने आशामा भन्दा पनि तत्कालका लागि लागत कम गर्नका लागि भएपनि छोटो अवधिको लागि तरलता व्यवस्थापन गर्छन ।

वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्दै आएको छ । हाल वित्तीय क्षेत्रमा एक खर्ब भन्दा धेरै अधिक तरलता छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।