संस्थाको हीतमा आएका विचारहरुलाई विवादको रुपमा व्याख्या गरिनु हुँदैनः सीईओ सनराइज बैंक

0
Shares

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा करिब डेढ वर्ष बिताइसकेका जनक शर्मा पौड्यालले बैकिङ क्षेत्रमा करिब ३२ वर्ष बिताइसकेका छन् । प्रमुख कार्यकारी अधिकृतको रुपमा सनराइज बैंकमा उनको यो दोस्रो अनुभव हो ।

सनराइज बैंकको नेतृत्व लिनुभन्दा अघि उनी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । नबिल बैंक देखि बैंकिङ क्षेत्रमा जोडिएका पौड्यालसँग तत्कालीन एनआईसी बैंक स्थापना कालदेखि कार्य गरेको अनुभव छ । लक्ष्मी बैंकमा पनि स्थापनाकाल देखि जोडिएका पौड्यालले नबिल बैंकमा मात्रै करिब ११ वर्ष बिताएका थिए । ग्लोबल आइएमई बैंकमा पनि करिब १२ वर्ष बिताइसकेका पौडेल अहिलेको समयमा प्रतिस्पर्धी क्षमता बढाउनका लागि पनि मर्जर आवश्यक रहेको बताउँछन् ।

बेलायतबाट एक्सलेरेटेड प्रोग्राम अन्तर्गत व्यावसायिक प्रशासनमा स्नातकोत्तर उत्तीर्ण गरेका पौड्यालले प्रतिस्पर्धी संस्थाले दिएको प्रतिफल दिन सनराइज बैंक पनि सक्षम रहेको बताए । उनले लगानीकर्ताका लागि यति नै प्रतिफल दिनुपर्छ भन्दा पनि अन्य बैंक वित्तीय संस्थाले दिने अनुपातमा प्रतिफल दिन सकिएन भने दबाब हुने गरेको बताउँछन् । पछिल्लो समयमा कोरोनाका कारण व्यवसाय विस्तारमा आएको सुस्तता तथा प्रविधिको प्रयोगमा आएको परिर्तनले बैंकिङ क्षेत्र आगामी दिन अझै सशक्त र प्रभावकारी बन्ने तर्क गर्ने पौड्यालसँग नोटबजारका परमेश्वर अधिकारीले बैंकिङ क्षेत्रको पछिल्लो अवस्था र बैंकको आगामी योजनाका बारेमा गरेको कुराकानी :-

  • सनराइज बैंकमा समय समयमा आन्तरिक विवादका विषयहरु बाहिर आउने गरेका छन् । बैंकको बोर्ड तथा व्यवस्थापनमा देखिने गरेका समस्याहरु समाधान भएका हुन् ?

सनराइज बैंकलाई अघि बढाउनु पर्छ भन्ने विषयमा सञ्चालक समिति तथा व्यवस्थापन दुबै पक्षको एउटै मत छ । बैंकको ‘ग्रोथ’ लाई तलदेखि माथिसम्म नै पहिलो प्राथमिकतामा राखेर कामहरु भईरहेका छन् ।

संस्था अघि बढाउने सन्दर्भमा समुहमा धेरै जनाको आआफ्ना फरक फरक विचारहरु आउन सक्छन् । त्यसलाई स्वभाविक मान्नुपर्छ । एकले अर्कोको विचारलाई नै अन्यथा मान्ने अवस्था आउनु हुँदैन । जति धेरै विचारहरु आउँछन् त्यसबाट नयाँ र राम्रा विचारको उत्पत्ति हुन्छ । तसर्थ संस्थाको हीतमा आएका विचारहरुलाई विवाद भएको भनेर व्याख्या गरिनु हुँदैन । यस अर्थमा आगामी दिनमा बैंक अझै सबल रुपमा अघि बढ्ने कुरामा म निश्चिन्त छु ।

  • तपाईले नेतृत्व लिनुभन्दा अघि र लिइसकेपछिको सनराइज बैंकको अवस्थालाई कसरी विश्लेषण गर्नु भएको छ ?

‘राइजिङ टू सर्भ’ भन्ने लक्ष्यका साथ हामीले प्रवाह गर्दै आईरहेको सेवालाई आम सेवाग्राहीले बुझिदिनु भएको छ । यस दौरानमा स्थापनाकालदेखि बैंकले हासिल गर्दै आएका उपलब्धिहरु आफैँमा प्रशंसनीय छन् । आज सनराइज बैंक जहाँ छ, त्यो भन्दा धेरै राम्रो अवस्थामा पुग्न सक्थ्यो । समय समयमा बैंकले विभिन्न किसिमका अफ्टेराहरु झेल्दै आउनु परेकाले संस्थाको व्यावसाय विस्तारमा केही अवरोधहरु देखिए । ती अवरोधहरुलाई हटाउन राष्ट्र बैंकको ध्यान समेत बैंकमा केन्द्रित भएको अवस्था थियो । केन्द्रीय बैंकको नै ध्यान केन्द्रित गर्ने खालका अफठ्याराहरु सिर्जना नभइदिएको भए सनराइज बैंक आज अझै माथिल्लो स्थानमा हुने थियो ।

यद्यपी आजसम्मको अवस्थालाई हेर्ने हो भने सन्तुष्ट हुने आधारहरु धेरै छन् । हाल बैंकले १४९ शाखा, ५५ वटा शाखा रहित सेवा, १५५ भन्दा बढी एटीएम सञ्जाल मार्फ बैंकिङ सेवा प्रदान गर्दे आएको छ । यस अर्थमा बैंकको आकार ठूलो भएको अवस्था छ । व्यवसायको कुरा गर्दा ९७ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको अवस्था छ । स्थापनाकालदेखि आजका दिनसम्मको यात्रामा झण्डै १ खर्ब रुपैयाँ बराबरको निक्षेप हुनु भनेको संस्थाका लागि कोषेढुङ्गा हो ।

  • पछिल्लो समयमा बैंकिङ क्षेत्रमा देखिएको बढ्दो प्रतिस्पर्धाका लागि सनराइज बैंकको अहिलेको आकार नै प्रयाप्त छ वा मर्जरमा जाने योजनामा हुनुहुन्छ ?

आगामी दिन यो भन्दा झनै कडा प्रतिस्पर्धामा हुने अवस्था छ । पछिल्लो समयमा उठेको ‘बिग मर्जर’ ले आगामी दिनहरु झनै चुनौतीपूर्ण रहने कुरामा दुईमत छैन । एक त बजार सधैं प्रतिस्पर्धी छ, त्यसमा ठूला बैंकहरु मर्जरमा गई बलिया बैंकका रुपमा स्थापित हुँदै गर्दा सानो बैंकको रुपमा रहेको खण्डमा राम्रो व्यापार, व्यवसाय, उद्यममा लागेकाहरुलाई आफ्ना ग्राहक बनाउनका लागि प्रतिस्पर्धी मूल्य, सेवा, उपकरण, शैली लगायत विषयमा धेरै मेहनत गर्नुपर्छ । त्यसले गर्दा पनि सबै बैंकहरुलाई दबाब सिजना भएको छ । यस्तो अवस्थामा मर्ज भएर ढुक्कसँग दीगो किसिमको ‘व्यालेन्स सीट’ बनाउन सकियो भने प्रतिस्पर्धामा उत्रिन सकिन्छ ।

अहिले क्रमिक रुपमा कोभिडको असर कम हुँदै गएको छ । आर्थिक क्रियाकलापहरु चलायमान बन्न थालेको महसुस गरिएका बेला अर्थतन्त्र खुकुलो अनि सहज भईरहेको अवस्थामा हामीलाई मात्र नभई समग्र बैंकिङ क्षेत्रलाई केही सहज भएको छ । त्यसमा पर्यटन, होटल, यातायात लगायत क्षेत्रलाई पारेको असर भने अझै उठ्न नसक्ने अवस्थामा छ । तर, हामीले यी समस्याबाट डराएर पछि सर्ने कुरा हुँदैन । अबका दिन झनै उज्वल भएको हुनाले त्यसै अनुरुप कामहरु पनि गर्दै जानुपर्छ ।

  • कोभिड महामारीको अवधिमा पनि निरन्तर बैंकिङ सेवा जारी रह्यो, सो अवधिमा सनराइज बैंकको अनुभव कस्तो रह्यो ?

विश्व नै आक्रान्त भएका बेला सनराइज बैंक त्यसबाट अछुतो रहने कुरै भएन । नेपालमा कोभिड ‘पीक’ अवस्थामा रहेको समयमा ठूलै प्रभाव पर्यो । बैंकको नै कुरा गर्दा कुल १ हजार ४०० भन्दा धेरै कर्मचारी रहेको यो बैंकमा मंसिरको पहिलो सातासम्ममा झण्डै अढाई सय साथीहरुले कोभिडलाई परास्त गर्नुपर्ने अवस्था आयो । त्यसमा एक दुईवटा अप्रिय घटना समेत घटे । यस्तो अवस्थामा जनशक्तिको मनोबल कमजोर हुँदा स्वभाविक रुपमा बैंकका कृयाकलापहरु पनि प्रभावित भए । यसलाई परिस्थिती अनुसार सामान्य रुपमा लिन पर्छ भन्ने मेरो मान्यता हो । त्यस बेला बजारमा कुनै किसिमका ‘डिमाण्ड’ आएनन् र हामीले कुनै किसिमको ‘ग्रोथ’ पनि गर्न सकेनौं ।

तर, अहिले अवस्था सामान्य बन्दै गर्दा पुरानो लय समातेर कामलाई प्राथमिकतामा राख्दै नतिजाउन्मुख अवस्थामा फर्किएको छ । बजारमा देखिएको भीडभाडले सबै क्षेत्र पुरानै अवस्थामा फर्किएको महसुस भईरहेका बेला हामीले पनि समस्याहरुलाई झेल्दै संस्थाको लक्ष्य प्राप्तिमा अघि बढिरहेका छौं । सञ्चालक समिति, व्यवस्थापन, समग्र टीमको लक्ष्य भनेको नै संस्थाको उन्नतिको हो । हामी त्यसैलाई आत्मसाथ गर्दै अघि बढि रहेका छौं ।

  • लगानीकर्ताले पाउने प्रतिफलको पाटोबाट हेर्नुपर्दा प्रतिस्पर्धी बैंकको भन्दा कम प्रतिफल दिनुपर्दा कत्तिको दबाब आएको छ ?

यसमा मैले भित्री रुपमा आफ्नो मनबाट सबैभन्दा धेरै दबाब महसुस गरेको छु । आन्तरिक र बाह्य दबाबका रुपमा यसलाई व्याख्या गर्न चाहन्छु । आफुले मन भित्रबाट गरेको महसुसलाई आन्तरिक दबाब मानेको छु र यसको ‘लेभल’ एकदम धेरै छ । किनकी कसरी यो ‘मोमेण्टम’ लाई मिलाउने र आगामी दिनमा यसलाई कसरी बढाउँदै लैजाने भन्ने चुनौती हामीसँग छ । समकक्षी प्रतिस्पर्धी बैंकहरुकोभन्दा कम प्रतिफल शेयरधनीलाई दिनुपर्ने अवस्था नआओस् भन्ने दवाब आफैंमा रहिरन्छ ।

बाह्य दबाबको सन्दर्भमा भन्दा लगानीकर्ताहरुले प्रतिफल पाउनका लागि नै लगानी गर्ने हो । त्यो अवस्थामा समकक्षीको भन्दा कम प्रतिफल पाउनु पर्दा दबाब आउनु एकदम जायज हो भन्ने मलाई लाग्छ ।

बैंकिङ व्यवसाय र प्रतिफलको आफ्नै ‘अर्थमेटिक्स’ पनि हुन्छ । बैंक अनुसार रणनीति पनि फरक फरक हुने गर्छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सनराइज बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गरिसकेको थियो । त्यो ऋणपत्र अहिले निष्काशन गरेको भए प्रतिफल दर सात आठ प्रतिशत कायम गराउन सकिन्थ्यो तर त्यस बेला हामीले १० प्रतिशतको प्रतिफलमा ऋणपत्र निष्काशन गर्यौं । त्यसले गर्दा पनि शेयरधनीले पाउने प्रतिफलमा केही असर पुगेको छ ।

नेपाल राष्ट्र बैंकको चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य रुपमा निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार २ अर्बको मात्र ऋणपत्र निष्काशन गरेका थियौं भने पनि ‘डिबेञ्चर रिडम्सन रिजर्भ’ मा अहिले छुट्याएको रकम पनि छुट्याउनुपर्ने थिएन । यसमा हामीले २५ करोड रुपैयाँभन्दा बढी रकम छुट्याउनुपर्यो । यसले गर्दा गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रतिफल ८ प्रतिशमा सीमित गर्नु पर्यो । यस्तो अवस्था नभएको भए शेयरधनीलाई कम्तीमा पनि १५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता हामीसँग हुने थियो ।

तसर्थ बैंकको व्यवसाय र क्रियाकलापका आधारमा कुनै पनि विषयमा संकुचन आएको भन्न मिल्दैन । यसलाई अझै बढाउन सकिन्छ । सम्भावनाहरु प्रशस्त छन् । बैंकमा तलदेखि माथिसम्म नै क्षमता भएका साथीहरुको ‘टीम’ छ, यस आधारमा आगामी दिनमा धेरै लामो फड्को मार्न सक्नेमा म विश्वस्त छु ।

  • शुक्रबार (आज) हुने साधारण सभामा सनराइज बैंकको पनि मर्जरमा जाने एजेण्डा छ । यो नेपाल राष्ट्र बैंकको संख्यात्मक रुपमा बैंक वित्तीय संस्था कम गर्ने नीतिका कारणले एजेण्डा राखिएको हो वा मर्जरमा नै जानका लागि यस्तो प्रस्ताव पारित गर्न लागिएको हो ?

बैंक मर्जरमा जाने भन्ने एजेण्डा विगतका साधारण सभामा पनि थियो । तर, साधारण सभाले स्वीकृत गरेर मर्जर तथा एक्वीजिशन सम्बन्धीको निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ । साधारण सभाले एक पटक स्वीकृत गरेको म्याण्डेट २ वर्षका लागि काम गर्छ । मर्जर तथा प्राप्तिको निर्णयको अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने सम्बन्धमा नयाँ म्याण्डेट लिनका लागि यो साधारण सभामा पनि लगिएको हो ।

मर्जर नियामक निकायको दबाब भन्दा पनि आवश्यकता भैसकेको छ । बैंक वित्तीय संस्थाको संख्या धेरै हुँदा पनि व्यवसाय विस्तार गर्ने तथा नाफा कमाउने भएकै थियो । बैंकहरु संख्या कति हुनु पर्छ भन्ने विषयमा बहस भईरहेको अवस्था छ । विगतका दिनमा नेपाल राष्ट्र बैंकले ल्याएको नीति बाध्यकारी हुनसक्ने भएकाले आफु तयारी अवस्थामा रहनका लागि गरिएको पनि हुन सक्छ । तर, पछिल्लो समयमा नियमनकारी निकायको दबाबमा भन्दा पनि मर्जर आश्यकता नै महसुस हुन थालेको देखिन्छ । ठूला बैंकहरु मर्जरमा गएको खण्डमा साना संस्था आफैँ पनि छायाँमा रहन्छन् । त्यसैले पनि अहिलेको समयमा सनराइजलाई मात्र नभई मझौला आकारका बैंकहरुलाई मर्जर अहिलेको आवश्यकता हो ।

संस्थाको आकार तथा व्यावसाय विस्तारका लागि अहिलेको समयमा मर्जर आवश्यक नै भैसकेको छ । प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थिति जनाउनका लागि पनि अन्य संस्थासँग तुलना गरेर समय अनुुसारको काम गर्दै जानुपर्छ । वाणिज्य बैंकले विकास बैंक र फाइनान्सलाइ खरीद गर्ने भन्दा पनि बैंकहरु बीच नै मर्जर भएको खण्डमा राम्रो हुने देखिन्छ । समयमा अनुसार नचल्दा दीर्घकालमा गएर अन्य संस्थामा विलय हुनुपर्ने अवस्था आउन सक्छ । संस्था सानो भएको खण्डमा व्यवसायमा समेत असर गर्ने हुन्छ । त्यसैले पनि मर्जर आजको आवश्यकता बनेको हो ।

  • पछिल्लो समयमा सनराइज बैंकले डिजिटल बैंकिङको क्षेत्रमा फड्को मारेको देखिन्छ, डिजिटल बैंकिङ सेवामा जोखिम पनि उत्तिकै छन् । यस्तो जोखिम व्यवस्थापनका लागि के कस्ता उपायहरु अबलम्वन गर्नु भएको छ ?

बैंकले डिजिटल क्षेत्रमा गरेको लगानी तथा कामको सन्दर्भमा निकै सकारात्मक नतिजा आएको छ । यो महामारीले विश्वभरी नै सेवा क्षेत्रलाई डिजिटल माध्यबाट सोच्न बाध्य बनाएको छ । सर्वसाधारणबाट पनि निकै उत्साहजन प्रतिक्रिया पाएका छौं । यसले हामीलाई आगामी दिनमा पनि यो क्षेत्रमा अझै अघि बढ्न मद्दत गर्नेछ ।

अहिले नगरेपनि भोलि डिजिटल बैंकिङ सेवामा जानैपर्ने हुन्छ ।

पछिल्लो समयमा कोरोना भाइरसले डिजिटल बैंकिङलाई विस्तार गर्नमा सकारात्मक भुमिका खेलेको छ । बैंकले पनि पछिल्लो समयमा सबै विभागका प्रमुखहरुलाई विस्तारै परम्परागत शैलिमा बैंकिङ्ग सेवा प्रदान गर्ने भन्दा पनि विस्तारै डिजिटलाइज्ड तर्फ स्थानान्तरण हुनुपर्छ भनेका छौं । बैंकका सबै विभागमा समय अनुसारको डिजिटल प्रयोगलाई पनि बढाउँदै गएको अवस्था छ । त्यसका साथै बैंकमा डिजिटल बैंकिङ यूनिट नै छ ।

डिजिटल बैंकिङ सम्बन्धी सबै विषयलाई त्यसले हेर्दा यसका लागि बैंकले बजेट पनि आवश्यक रुपमा छुट्याएर नै काम गर्दै आएको छ । यसमा बैंक मात्र परिवर्तनशिल भएर हुँदैन । ग्राहकलाई पनि सँगसँगै डिजिटलमैत्री बनाउनुपर्ने हुन्छ । त्यसका लागि जनचेतनाको पनि विस्तार गर्नुपर्ने हुन्छ । पछिल्लो समयमा कोरोनाका कारण नगद कारोबार गर्दा जोखिम भएका कारण पनि डिजिटल बैंकिङ आवश्यक भएको छ । यो आवश्यकता बैंकहरुका लागि अवसर पनि हो ।

कोरोना महामारीमा कारण डिजिटल बैंकिङ सेवाको विकल्प बन्दा विस्तारका लागि समेत महत्वपुर्ण भुमिका खेलेको छ । यो क्षेत्रमा आगामी दिनमा अझै काम गर्ने योजना रहेको छ । अझै अघि पनि बढ्न सकिन्छ । साथै डिजिटल सेवा प्रदान गर्ने क्रममा चुनौति पनि उत्तिकै छन् । प्रविधिमा आधारित सेवा सँगै अपराध पनि बढेको अवस्था छ । त्यसका लागि बैंकले जोखिम न्यूनीकरणका लागि गर्नु काम, लगानी र सर्तकर्ता अपनाएर नै काम गर्दै आएको छ ।

  • राष्ट्र बैंकले कोरोना प्रभावितका लागि भन्दै सहुलियत ब्याजदरको पुनरकर्जा दिन व्यवस्था ग¥यो । तर, राष्ट्र बैंक र बैंकहरुको पुनरकर्जा प्रतिको बुझाई फरक भएको देखिन्छ नी ?

नेपाल राष्ट्र बैंकले पुनरकर्जाको सन्दर्भमा व्यवस्थित रुपमा सुरुवात गरेको देखिन्छ । कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायलाई राहत स्वरुप पुनरकर्जा प्रदान गर्ने व्यवस्था गरेको छ । पुनरकर्जाको आकार अनुसार बैंकहरुले लिएका पनि छन् । त्यो सँगै ग्राहकमा हस्तान्तरण पनि भएको छ ।

बाहिर कसरी आएको भन्ने भन्दा पनि बैंकहरुले ग्राहकलाई माग गरे अनुसार केन्द्रीय बैंकले तोकेको मापदण्ड अनुसार पुनरकर्जाका लागि प्रक्रिया अघि बढाउने काम गरेका छन् । सनराइज बैंकले पनि हालसम्म पुनरकर्जा र सहुलियतपुर्ण कर्जा गरी कुल साढे ४ अर्ब रुपैयाँ प्रवाह गरेको गरिसकेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।