विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गाउँ फर्केको २५ औं दिन पुग्यो । सदा झै त्यो बिहानी पनि आमाले पूजा गर्दै गर्दाको घण्टीको आवाजले बिउँझिए । आमाले बजाएको त्यो घण्टीको आवाज कानमा नपरी ओछ्यान नछोड्ने रुटिङ जस्तै भएको छ ।
निन्द्रा खुले पछि दैनिक नित्य कर्मका लागि घरको माथिल्लो तलाबाट झर्दै थिए । आमा पुजा सकेर भान्सा कोठामा गैसक्नु भएको रहेछ । भान्सामा बिरामी बुबा र आमा भलाकुसारी गर्दै गरेको सुने । बुबालाइ राती गाह्रो भएछ । त्यही कुरा आमालाई सुनाउँदै हुनुहुन्थ्यो । उहाँहरुको कुरालाई वास्तै नगरी आफ्नै काम तर्फ लागे ।
नित्य कर्म सकाएर पिँडीमा आएर बसेको मात्र के थिए स्वास्थ बीमा गर्न पाए पनि हुने नि, केही राहत त हुने थियो भन्दै आमा बुबाले गरेको कुराकानी कानमा पर्यो ।
राती बुबा सुत्नै सक्नु भएन छ । रोगले च्याप्न थालेको धेरै भईसक्यो । बुबाको पिँडुलामा मासु पोको परेको छ । महिनै पिच्छे डाक्टरलाई भेट्नु पर्छ । औषधिले ठिक नभए अप्रेसन गर्ने सल्लाह दिएका छन् । डक्टरलाई नभेटेको महिनौ वितिसकेको हुनाले बुबा जानुपर्ने कुरा गर्दा आमाले पैसा अभावको कुरा गर्दै बीमाको कुरा गर्नु भएको रहेछ ।
आमा महिला स्वास्थ्य स्वयंसेविका भएर होला सरकारी स्वास्थ्य कार्यक्रमको बारेमा अलि जानकार हुनुहुुन्छ । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम ओखलढुङ्गामा पनि लागू भएको जानकारी उहाँलाई छ । स्वास्थ्य बीमा गर्नका लागि के गर्नुपर्छ, के-के कागजात चाहिन्छन् भन्ने प्रक्रियागत जानकारी नभएपनि उहाँलाइ सरकारले खटाएको प्रतिनिधिको सहयोग लिनुपर्छ भन्ने सम्म जानकारी थियो । तर, सरकारले खटाएको प्रतिनिधिलाई भेट्न नसक्दा आमाले स्वास्थ बीमा कार्यक्रममा सहभागी हुन चाहेर पनि सक्नुभएको रहेनछ ।
मेरो घरमा स्वास्थ बीमाका सन्दर्भमा बुबा र आमाबीच छलफल भएको केही दिनपछि सुन्दरी काकी हस्याङ फस्यााङ गर्दै आइन् । श्रीमानलाई औषधि खर्च गर्नका लागि पैसा छैन् के गर्ने भन्दै आमासंग भक्कानिन थालिन् । सुन्दरी काकीका श्रीमान एकाएक बिरामी परेर थलिएको महिनौ वितिसकेको छ । दैनिक जीवन यापन समेत कष्टकर रहेको काकीको घरमा अर्को भिमकाय बोझ आई लाग्यो । सदरमुकाममा श्रीमानलाई ठिक नहुने भए पछि उनी कयौँ पटक उपचारको लागि काठमाडौँ पुगरे रहिछन् । रित्तो गोजी, नयाँ शहर, ठुलो अस्पताल, बिराना मान्छे । गाउँबाट सर सापट गरेर ल्याएको पैसाले थेग्ने सम्म श्रीमानको उपचार गराइन् । आफुसंग भएको पैसाले रोग त पत्ता लाग्यो । अब उपचार के ले गर्ने ? यस्तो अनुत्तरित प्रश्न सहित विर अस्पतालको गेटबाट श्रीमानलाई डो¥याउदै पत्थरीको अप्रेशन योजना बुन्दै गाँउ फर्किइन् ।
कोरोना भाइरसका कारण विश्व नै लकडाउनमा थियो । नेपालमा पनि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लकडाउन थियो । सोहीे समयमा नियमित भन्दा धेरै खर्च गरी काकाको उपचारका लागि पुनः काठमाडौँ पुगिन । श्रीमानको उपचारका लागि भएको जाय जेथा समेत बिक्री गरेर पुरानो ऋण तिरेकी काकीले बचेको रकमबाट दोस्रो चरणको उपचारका लागि काठमाडौ पुनः छिरेकी रहिछन् । पन्ध–पन्ध्र दिनमा काकाले डक्टरलाई भेट्नु पर्छ । रोगसँग लड्नका लागि पोषिलो आहारा खुवाउँनुपर्छ । सामान्य दैनिकी गुजारा गर्न धौ-धौ पर्ने उनको परिवारलाई पोषिलो आहारको के वास्ता ।
समयमा खाना खान नपाएर होला बिरामी काका झन झन रोगसँग हार खाएको अनुभती हुन्छ । परिवारको अवस्था देखेर पनि होला आफ्नो दुखाई अरुलाई देखाउन चाहदैनन् उनी । आफ्नो उपचारका लागि पुख्र्यौलि जमिन समेत बिक्री गर्नु प¥यो । बचेपछिको जीवन झनै समस्यापूर्ण हुने चिन्तामा काका देखिन्छन् । सरकारको सहयोगमा उपचार गर्न सकिन्छ भन्ने जानकारी यी काकीलाई पनि भएको भए त्यो सम्पत्तीको नाममा रहेको एक टुक्रा जमिन समेत बिक्री गर्नु पर्ने अवस्था आउँदैनथ्यो । पैसा कै अभावले उपचार गर्न नसकेको यो परिवारलाई सकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा वर्षको थोरै पैसा तिरेर उपचार खर्च पाईन्छ भन्ने कुरा के थाहा ? थाहा पाए पनि के गर्नु ? प्रतिनिधि नै छैनन् ।
यी उदाहरण मात्रै हो । मेरो वडाका अरु परिवार पनि सरकारले सुरु गरेको स्वस्थ बीमा कार्यक्रममा सहभागी हुन सकेका छैनन् । गाउँमा अलि पढे लेखेका व्यक्तिहरु पनि सरकारी स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिर छन् । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम प्रति धेर थोर जानकारी पाएकाहरुले पनि स्वास्थ्य बीमा कार्यक्रममा सरिक हुन पाएका छैनन् ।
ओखलढुङ्गा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको ४९ औँ जिल्ला हो । २०७६/६/६ गते दर्ता कार्यक्रम सुरु गरिएको थियो । २०७६/८/१ देखि सेवा सुरु गरिएको थियो । ओखलढुङगा जिल्लाको मानेभङज्याङ गाउँपालिकाका अन्य वडाका घर परिवार स्वास्थ्य बीमाको दायरामा आएका छन् । सबैतिर स्वास्थ्य बीमाको पहुँच पुगेको छ । तर, मेरो वडालाई मात्रै स्वास्थ्य बीमा कार्यक्रमले समेटेको छैन ।
यति थाहा पाइसकेपछि म घर रहँदा कयौँ पटक स्वास्थ्य बीमाका लागि भनेर वडा कार्यालय धाएँ, तर केही जानकारी पाइन् । वडा अध्यक्ष काम भईरहेको कुरा सुनाउँछन् । दर्ता सहयोगी सम्पर्कमा छैनन् । त्यसैले भन्न मन लाग्छ मेरो सानो गाउँलाई स्वास्थ्य बीमाले छोएको छैन । बीमा गर्छु भन्दा पनि दर्ता सहयोगीको छैन । खै किन छोएन सरकारको तपाईको स्वास्थ्य हाम्रो अठोट’ को नाराले ?
सरकारले गत २०७२ चैत २५ गतेदेखि स्वास्थ्य बीमाको कार्यक्रम लागू गरेको हो । कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ६२ जिल्लामा पुगिसकेको छ । मेरो जिल्ला ओखलढुंगामा पनि यो कार्यक्रम लागू भएको एक वर्ष भन्दा धेरै भैसकेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया