बीमांकीय मूल्याङ्कनका लागि भारतीय एक्चुअरीको भर पर्नुपर्ने बाध्यता कहिले हट्ला ?

0
Shares

बीमा व्यवसायको एक्चुअरियल भ्यालुएसनका लागि आवश्यक जनशक्ति (एक्चुअरी) अभावको समस्या अझै पनि सहज हुन सकेको छैन । पछिल्लो समयमा बीमा बजारमा नयाँ कम्पनीहरु थपिदा समेत दक्ष जनशक्ती समस्या झनै बढ्दै गएको हो ।

नयाँ कम्पनीहरु थपिँदै गर्दा समेत जनशक्ती अभावको समस्याका बारेमा अझै पनि ध्यान दिइएको छैन । यसले दिर्घकालन बीमा व्यवसायलाइ नै जोखिममा धकेल्दै छ । बीमा व्यवसायको सुरुवात भएको करिब ७३ वर्ष वितिसकेको भएपनि बीमा कम्पनीहरुले बीमांकीय मूल्याङ्कनका लागि भारतीय एक्चुअरीको भर पर्नुपर्ने बाध्यता छ । आफ्नै देशमा एक्चुअरी नहुँदा बीमा कम्पनीे मात्र नभै बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति समेत विदेशी एक्चुअरीको भरमा काम गर्दै आएको छ । जसका कारण विदेशी एक्चुअरीलाई मात्रै वर्षेनी अर्बौ रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ ।

बीमा कम्पनीहरुले आफ्नो सबै विवरणहरु भारतीय एक्चुअरीलाई पठाँउछन् । कम्पनीले तोकेको भारतीय एक्चुअरीले स्वीकृत गरेको फाइल बीमा समितिमा पेश गर्ने गर्दछन् ।

बीमा कम्पनीहरुबाट प्राप्त भएको फाइल समितिले आफ्नो एक्चुअरीलाई पठाउँदछ । समितिको एक्चुअरीले स्वीकृत गरेपछि बीमा कम्पनीहरुको वित्तीय विवरण बीमांकीय मूल्याकंन भएको ठहरिन्छ ।

बीमा कम्पनीहरुले समयमा नै साधारण सभा गर्न नसक्नुको प्रमूख कारण नै विदेशी एक्चुअरीमा भर पर्नु बाध्यताले पनि हो । त्यति मात्रै होईन आफ्नो वित्तीय विवरण नियामक निकायमा समयमा बुझाउन सक्दैनन् । बीमा समितिमा पुगेका कतिपय कम्पनीहरुको वित्तीय विवरण पनि समयमा स्वीकृत हुन सक्दैनन । यसको कारण पनि एक्चुअरीको अभाव नै हो । बीमा कम्पनी मात्रै होईन समिति समेत विदेशी एक्चुअरीमा भर पर्दा बीमा कम्पनीहरुको काममा ढिलाई भएको प्रष्ट हुन्छ ।

  • सधारण सभा ढिलाई

बीमा कम्पनीहरुले समयमा नै साधारण सभा गर्न सकेका छैनन् । कम्पनी रजिष्टार कार्यालयमा रजिष्टर भएका सबै कम्पनीहरुले हरेक वर्षको पुस मसान्तभित्र अघिल्लो आर्थिक वर्षको साधारण सभा सम्पन्न गरिसक्नु पर्ने प्रावधान रहेको छ । तर, विदेशी एक्चुअरी मार्फत बीमांकीय मूल्याङकन गराउनु पर्दा समयमा साधारण सभा गर्न सकेका छैनन् । समयमा साधारणसभा नगरेका कारण कतिपय बीमा कम्पनीहरु कम्पनी रजिष्ट्रार कार्यालयको कारबाही समेत भोग्नु परेको छ । स्वदेशमा नै एक्चुअरी नभएको कारण बीमा कम्पनीहरुले एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार गर्न समेत सकेका छैनन् ।

बीमितलाई दिने बोनस घोषणामा ढिलाई जीवन बीमा कम्प्नीहरुले हरेक वर्ष बीमितलाई दिने नयाँ बोनस दर घोषणा गर्नु पर्ने हुन्छ । आर्थिक वर्ष २०७७/०७८ को ६ महिना वित्न लाग्दा समेत कतिपय कम्पनीहरुले आर्थिक वर्ष २०७४/०७५ को बोनस दर पनि सार्वजनिक गर्न सकेका छैनन् ।

  • आगामी चार वर्षमा एक्चुअरीको समस्या हट्ने

नेपाली बीमा बजारमा रहेको एक्चुअरीको समस्या विस्तारै समाधान उन्मुख देखिएको छ ।

एक्चुअरीको अभावलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयमा विगत चार वर्षदेखि एक्चुरीको प्रारम्भिक अध्ययापन गराउदै आएको छ । त्रिभुवन विश्वविद्यालयले विज्ञान संकायअन्र्तगत २०७३ साल असोजबाट बीमांकी विषय अध्यापन गराउँदै आएको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गको स्कुल आफ म्याथम्याटिकल साइन्स(एसएमएस)ले अबको तीनदेखि चार वर्षमा नेपालमा एक्चुअरीको समस्या हट्ने दावी गरेको छ । तीनदेखि चार वर्षभित्र सर्टिफाइड एक्चुअरी नेपालमा नै उत्पादन हुने एसएमएसका कार्यक्रम संयोजक केशव राज फुलारा बताउँछन् । हाल उक्त संकायमा अध्ययनरत विधार्थीहरु मध्ये आइएफओए युकेबाट ३ जनाले ४ वटा पेपर, एक जनाले तीन पेपर र पाँच जनाले २ पेपर र ७ जनाले एक पेपर पास गरिसकेका छन् । साथै, एसओए युएसबाट एक जनाले ३ पेपर पास गरेका छन् । यसका आधारमा एक्चुअरीको अभाव खेप्दै आएको नेपाली बीमा बजारलाइ सहज हुने देखिन्छ ।

सर्टिफाइड एक्चुरी हुनका लागि १३ वटा पेपर पास गर्नुपर्ने हुन्छ । ७ वटा पेपर पास भए पछि एसोसियटेड एक्चुरीको मान्यता दिईन्छ । बाँकी ६ वटा पेपरलाई फेलो एक्चुरीको नाम दिईएको छ ।

  • चार जनाले पाए रोजगारी

एक्चुअरीको अभावलाई मध्यनजर गर्दै एक्चुअरी अध्यापन गराउन थालेको त्रिभुवन विश्वविद्यालयले चौथौ वर्षमा अध्यनरत ४ जनालाई नेपाल मै रोजगारी दिन सफल भएको छ । नेपालमै एक्चुअरी अध्ययनरतले नेपाल लाइफ, नेपाल पूनर्बीमा कम्पनी, रिलायन्स लाइफ र आईएमई लाइफ इन्स्योरेन्समा एक एक जना गरी कुल ४ जनाले रोजगारी पाएका छन् । तर उनीहरु सर्टिफाइड एक्चुअररी भने होईनन् ।

  • कसले पढ्न पाउँछन् एक्चुअरी ?

प्लस टु अध्ययन समाप्त गरेका जुनसुकै संकायका विद्यार्थीले पनि यो विषय अध्ययन गर्न पाउँछन् । तर, एक्चुअरी पढ्न चाहाने विधार्थीले सय पूर्णाङकको गणित भने पढेको हुनुपर्नेछ । प्रत्येक सेमेस्टरमा एउटा विषयको ७५ पूर्णाङको प्रयोगात्मक परीक्षा हुन्छ  । जसमध्ये ४५ अंकको फाइनल, ३० पूर्णाङको आन्तरिक हुन्छ । आन्तरिकमा ६ अंक, गृहकार्यको ६ अंक, ६ अंक हाजिरी र ६ अंकको प्रस्तुतीकरणको अंक जोडिन्छ । चार वर्षको अध्ययन समाप्तिपछि विद्यार्थीहरूले इन्टर्न गर्नुपर्छ  ।

  • के हो एक्चुअरी ?

एक्चुअरी कुनै विश्वविद्यालयको औपचारिक उपाधि नभईकन चार्टर्ड एकाउण्टेण्ट जस्तै पेशागत उपाधि हो । यो उपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रको कार्य गर्न सक्ने दक्षता उपलब्ध गराउने विज्ञान नै बीमाङ्कीय विज्ञान हो ।

एक्चुअरीलाई बीमा क्षेत्रसँग जोडेर मात्रै हेर्ने गरिन्छ । तर यो जनशक्तिको आवश्यकता अर्थतन्त्रको विकासका लागि सरकारी तथा निजी क्षेत्रमा उत्तिकै महत्व हुन्छ । विश्वको कुनै एक संस्थाबाट एक्चुअरीको उपाधि हासिल गरेका व्यक्तिले जुनसुकै देशमा पनि काम गर्न पाउने व्यवस्था रहेको छ । बीमा कम्पनीहरूको वित्तीय विवरण तयार पार्नेदेखि लिएर नयाँ बीमा योजना बनाउन एक्चुअरीको आवश्यकता पर्छ ।

बीमा क्षेत्रका मूख्य काम बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी पर्ने संख्याहरूको पूर्वानुमान लगाउन, कम्पनीको सम्पत्ति वा दायित्वको अवस्थाको मूल्याङ्कन गर्न, बोनस दर निर्धारण गर्न, कम्पनीलाई आर्थिक रूपमा सबल राख्न आवश्यक जगेडा कोषको निर्धारण गर्न एक्चुअरीको महत्व रहेको हुन्छ । एक्चुअरी विश्वमै अति सम्मानित र राम्रो कमाई हुने पेशा हो । सर्टिफाई एक्चुअरीको आम्दानी औसत अन्य पेशाको तुलनामा आकर्षित रहेको पाईन्छ । एउटा एक्चुअरीले अरु पनि कम्पनीमा गर्न पाउने हुँदा आम्दानी धेरै हुन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।