बीमा समितिका अध्यक्षको विदाई, समितिले कहिले पाउला नयाँ अध्यक्ष ?

0
Shares

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईको कार्यकाल सकिएको छ । अध्यक्ष चिरञ्जीवी चापागाँईको चार वर्षे कार्यकाल पुस २४ गते शुक्रबार सकिएको हो ।

अध्यक्ष चापागाँईको कार्यकाल सकिए पनि सरकारले अझै नयाँ अध्यक्षको टुंगो लगाउन सकेको छैन् । नयाँ अध्यक्षका लागि अर्थ मन्त्रालयमा झण्डै दर्जन बढी आकांक्षीको दौडधुप चलिरहेको छ ।

पछिल्लो समय नियामक निकाय बीमा समितिको नेतृत्व कस्तो व्यक्तिले सम्हाल्ला भन्ने चासोको विषय बनेको छ । बीमा क्षेत्रमा संलग्न व्यक्तिहरुले समितिको नयाँ अध्यक्ष बीमा सम्बन्धी ज्ञान हाँसिल गरेको हुनुपर्ने धारणा राख्दै आएका छन् । बीमा क्षेत्रमा संलग्न तथा क्रियाशिल अगुवाहरुले बीमा क्षेत्रलाई राम्रोसँग बुझेको व्यक्ति अध्यक्षका रुपमा आउनु पर्ने आवाज उठाइरहेका छन् ।

बीमा ऐन २०४९ को दफा ६ मा बीमा समितिको अध्यक्षको सेवा, सर्त र सुविधा सम्बन्धी व्यवस्था गरिएको छ  । ऐनमा बीमासम्बन्धी जानकार व्यक्तिलाई नै अध्यक्षमा नियुक्त गरिनुपर्ने व्यवस्था रहेपनि हालसम्म राजनीतिक शक्तिका आधारमा नै अध्यक्ष नियुक्ति हुँदै आएको छ  । यसअघि पनि बैंकिङ क्षेत्रका चापागाईंलाई अध्यक्षमा नियुक्ति गरिएको थियो  । बीमा ऐनअनुसार उनको नियुक्ति गैरकानुनी भएको भन्दै अदालतमा रिट समेत परेको थियो  ।

बीमा विज्ञ डा. रविन्द्र घिमिरे बीमा क्षेत्रमा लामो समय संलग्न रहेका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानमा लागेको व्यक्तिहरु, बीमा विषयमा प्राध्यापन क्षेत्रमा रहेका, बीमा कम्पनीमा वा बीमा समितिमै रहेर काम गरेको अनुभव भएका व्यक्तिहरु अध्यक्षका लागि उपयुक्त हुने बताउँछन् ।

समितको नयाँ अध्यक्षका लागि अर्थमन्त्रालयमा विभिन्न क्षेत्रमा आवद्ध भएका व्यक्तिहरुले आकांक्षा व्यक्त गरेका छन् । जसमध्ये राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीदेखि नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलसम्म अध्यक्षको दौडधुपमा लागि परेका छन् । खरेल पूर्व अर्थमन्त्री युवराज खतिवडाका ज्वाँई समेत हुन् ।

त्यस्तै, राष्ट्र बैंकबाट अवकाश प्राप्त कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, चार्टर्ड एकाउन्टेट टंक पनेरु, पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं पनि अध्यक्षको दौडमा उभिएका छन् । त्यस्तै, समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, समिति सञ्चालक समिति सदस्य कपिलदेव सुवेदी र चापागाँई समेत अध्यक्षको दौडधुपमा लागि परेको चर्चा छ । चापागाँईले समितिमा थप एक कार्यकाल काम गर्ने इच्छा राखे पनि नेकपा विभाजनपछि उनको निरन्तरताको सम्भावना कम रहेको जानकारहरु बताउँछन् । त्यस्तै, बीमा विज्ञ डा. रविन्द्र घिमिरे पनि समितिको नयाँ अध्यक्षका लागि प्रतिस्पर्धा रहेका छन् ।

अर्थमन्त्रालयले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गरिसकेको छ । अर्थमन्त्री विष्णु पौडेलले सम्भावित उम्मेदवारको सूची तयार पारिसकेको पनि अर्थमन्त्रालय स्रोतको भनाई छ । बीमा ऐन अनुसार अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले समितिको अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।

यता, बीमा समितिले समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईको विदाई गरेको छ । पुस २३ गतेदेखि कार्यकाल सकिएका अध्यक्ष चापागाँईलाई समितिले हिजो पुस २६ गते औपचारिक रुपमा विदाई गरेको हो ।

अध्यक्ष चिरञ्जीवी चापागाँईंको चार वर्षे कार्यकाल पुस २३ गते बिहीबारदेखि सकिएको हो । कार्यकाल सकिन एक साता बढी समय बाँकी छँदै अध्यक्ष चापागाईं पुस १४ गते मंगलबारदेखि विदामा बसेका थिए । २०७३ पुस १४ गतेको मन्त्रिपरिषद बैठकबाट अध्यक्ष नियुक्त भएका चापागाँईले २३ गते कार्यभार सम्हालेका थिए ।

अध्यक्ष चापागाँईंको कार्यकाल सकिएसँगै समिति अध्यक्षविहिन छ । बीमा बजारमा समितिले नयाँ अध्यक्ष कहिले पाउला भन्ने चासो बढेको छ । समिति अध्यक्षविहिन हुँदा बीमा कम्पनीहरुको कयौँ कामहरु रोकिएर बसेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।