कोरोनाले थलिएको अर्थतन्त्र तंग्रिदै, समस्यामा परेका ५४% उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा

0
Shares

कोरोना भाइरसका कारण गत असारमा बन्द तथा आशिंक सञ्चालनमा रहेका उद्योग धन्दाहरु पूर्ण रुपमा सञ्चालन हुन थालेका छन । गत असारमा ४ प्रतिशत मात्र व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालन भएकोमा मंसिरमा ५४ प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैंकले गरेको कोरोना संगै आर्थिक गतिविधि पनि जारी राख्ने नीति सरकारले अबलम्बन गरेपछि उत्पादन तथा कारोबारमा सुधार आएको हो ।

सरकारले कोरोना नियन्त्रण गर्न २०७६ चैत ११ गते देखि बन्दाबन्दी गरेको थियो । कोडिभ–१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धि समेत न्यून रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योेगी/व्यवसायीको कोभिड—१९ ले व्यवसायमा पारेको असर अध्ययन गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दी पछि औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसायहरु संचालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा संचालनमा रहेको देखाएको थियो ।

तर, सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्डहरु खुकुलो बनाउँदै लगेका कारण व्यवसायहरु क्रमिक रुपमा संचालनमा आउन थालेका छन् । केन्द्रीय बैंकले व्यवसाय संचालन सम्वन्धी पछिल्लो वस्तुस्थिति बारे अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीको पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न पुनरावृत्ति अध्ययन गरेको छ । सो पुनरावृत्ति अध्ययन अनुसार ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ ।

कोभिड पूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन /कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधारआई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत पुगेको छ ।

केन्द्रीय बैंकले यो अध्ययन २०७७ कात्तिक र मंसिरमा टेलिफोन अन्तरवार्ता मार्फत गरेको जनाएको छ । गत असारमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ९० प्रतिशत अर्थात् ६०४ जना उद्योगी/व्यवसायीहरुले यस अध्ययनमा सहभागी भएका छन ।

गत असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको छ । तर, कोभिडको असरका कारण अझै पनि ९.१ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालनमा आउन नसकेकोे अध्ययनले देखाएको छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको देखिन्छ । तर, साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगहरुको संचालन अवस्थामा उल्लेख्य सुधार आएको छ । सर्वेक्षणमा सहभागीहरुमध्ये धेरैले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ब्याजदरमा सहुलियत प्राप्त गरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । तरपनि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग/व्यवसायहरु सञ्चालन हुन भने सकेका छैनन् ।

अध्ययन अनुसार उद्योग/व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु अझै पनि रहेको देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।