नेपालका बैंकहरुबाट ऋण नपाए मात्रै विदेशबाट ल्याउन पाइने, लिनैपर्ने भए आवश्यकता पुष्टि गर्नुपर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले वैदेशिक ऋण भित्र्याउने नियममा केहि कडाई गरेको छ ।  राष्ट्र बैंकले नेपाली कम्पनी वा उद्योगले नेपालकै बैंकहरुबाट ऋण पाउन नसक्ने अवस्था भएमा मात्र विदेशी कम्पनी वा व्यक्तिबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी या व्यक्तिबाट ऋण लिँदा नेपाली बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुन नसकेको बारे विस्तृत जानकारी खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

‘विदेशबाट लगानी भित्र्याउने भनिएको कम्पनीले नेपालकै वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट आवश्यक परिमाण र ब्याजदरमा लिन नसक्ने अवस्था सिर्जना भएको कुरा निवेदनमा विस्तृतरूपमा उल्लेख गर्नुपर्नेछ।’ राष्ट्र बैंकद्धारा जारी परिपत्रमा उल्लेख छ । 

यस्तै विदेशी लगानीकर्ताले प्रवाह गरेको ऋणको हकमा नेपालमा पूँजी शेयरमा रहेको ६० प्रतिशतभन्दा धेरै ऋण दिन पनि पाउने छैनन् ।

ऋणबापतको रकम सम्बन्धित कम्पनीले उद्योगको तोकिएको क्षेत्रमा मात्रै उपयोग गर्न पाउने पनि राष्ट्र बैंकले जनाएको छ । यस्तै विदेशबाट ऋण लिनै पर्ने आवश्यकता रहेको पुष्टि पनि कम्पनी वा उद्योगले गर्नुपर्नेछ ।

राष्ट्र बैंक विदेशी विनिमय विभागले विदेशबाट लिने ऋणको ब्याजदर निर्धारण गर्दा प्रचलित वार्षिक व्याजदरमा थप तीन प्रतिशतसम्म प्रिमियम दर थप गर्न सक्ने व्यवस्था गरेको छ भने भारतबाट लिइने ऋणको हकमा भने भारतीय रिजर्व बैंकले प्रकाशन गरेको पछिल्लो विवरण अनुसार एक वर्षको ‘मार्जिनल कष्ट अफ फण्ड’ को औषतसम्म पाउने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै चीनबाट लिइने ऋणको हकमा बढिमा एक वर्षको ‘लोन प्राइम रेट’ सम्म पाइने व्यवस्था गरेको छ ।

विदेशबाट ल्याइएको ऋण तोकिएको क्षेत्र भन्दा बाहिर लगानी गर्न पाइनेछैन् । विदेशबाट ऋण प्राप्त भएको ३५ दिनभित्र राष्ट्र बैंकमा विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।