नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख आवेदन पर्ने अनुमान, आज अन्तिम दिन

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको आईपीओमा चौथौ दिन सोमबार साँझसम्ममा १.८७ गुणा धेरैको माग भएको छ ।

बैंकको आईपीओमा ११ लाख ७७ हजार ९२० वटा आवेदन मार्फत १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँको आवेदन परेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार सोमबार ५ बजेसम्ममा १४ करोड १९ लाख ९६ हजार ४२० कित्ताको लागि आवेदन परेको हो ।

बैंकको आईपीओमा १५ लाख आवेदन पर्ने अनुमान गरिएको छ । हाल मेरो शेयर प्रयोगकर्ताको संख्या नै १४ लाख नाघि सकेको अवस्थामा रहेको र अधिकांसले अनलाइन आवेदन गर्ने हुँदा मेरो शेयर र सिआश्वा मार्फत १५ लाख आवेदन पर्ने आँकलन गरिएको हो । यसअघि आईपीओ निष्कासन गरेका चन्द्रागिरीमा साढे १२ लाख आवेदन परेको थियो । पछिल्लो समयमा खुलेका डिम्याट संख्याको आधार बनाउँदा पनि १५लाख आवेदन पुग्ने अनुमान गरिएको हो ।

कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ।

इच्छुक लगानीकर्ताले बैंकको आईपीओमा माघ ६ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयरको मोबाइल एप तथा वेवसाइट मार्फत पनि आईपीओ भर्न सकिनेछ ।
कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओलाई नागरिक लगानी कोषले आईपीओ प्रत्याभूती (अण्डरराइट) गरेको छ ।

बैंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर जारी गरेको थियो ।

पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता पूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।