कोरोनाका कारण आर्थिक गतिविधि अस्तव्यस्त भएपनि धितोपत्र बजारका लागि भने अवसर सावित भएको छ । यो अवधिमा धितोपत्रको दोस्रो बजारमा मात्र नभै प्राथमिक बजार पनि उत्तिकै विस्तार भएको छ ।
कोरोना संक्रमण नियन्त्रका लागि सरकारले लगाएको लकडाउन तथा निषेधाज्ञाले धितोपत्र बजारको नयाँ अध्याय सुरु भयो । यो अवधिमा धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा प्रविधिको उच्चतम प्रयोग बढ्न गयो । प्रविधिको प्रयोग बढेसंगै दुबै बजारमा नयाँ लगानीकर्ताको प्रवेश पनि उत्तिकै उत्साहजनक देखियो ।
गत चैतदेखि माघसम्ममा प्राथमिक बजार मार्फत १५ कम्पनीले कुल १३ अर्ब ४१ करोड ८७ लाख ८० हजार ४०० रुपैयाँ सर्वसाधारणवाट संकलन गरेका छन् । कोरोनाका कारण व्यापार व्यवसाय चौपट हुनुका साथै धेरैको रोजगार समेत गुमेको अवस्था छ । यस्तो अवस्थामा पनि सर्वसाधारणले साढे १३ अर्ब रुपैयाँ लगानी गर्नु भनेको धितोपत्र बजारका लागि सकारात्मक हो ।
कोरोनाका कारण लगानीका क्षेत्र खुम्चिएपछि चौतर्फी लगानी शेयर बजारमा केन्द्रित भएको शेयर विश्लेषक बताउछन । “लगानीका अन्य क्षेत्र पनि भएनन र सर्वसाधारणको अतिआवश्यक भन्दा धेरै खर्च पनि नभएको हुनाले बचतमा केही सुधार आएको छ,” एक विश्लेषकले भने,“सोही बचतलाइ धितोपत्र बजारमा परिचालन गरेको देखिन्छ ।”
यो अवधिमा साधारण शेयरमा आवेदन दिनका लागि निक्षेप खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको सीडीएस एण्ड क्लियरीङ कम्पनीले जनाएको छ । कोरोनाका यस अवधिमा दैनिक औसत ५० हजार सम्म डिम्याट खाता खुलेको सीडीएसका एक अधिकारीले बताए । यो अवधिमा बैंकहरुले लगानी गर्न नपाएपछि अधिक तरलताको समस्या आयो । अधिक तरलताका कारण बैंकहरुको कर्जाको ब्याजदर घटाए । कर्जाको ब्याजदर घटाएपछि बैंकबाट ऋण लिएर धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि ह्वात्तै बढ्न गयो । धितोपत्र बजारमा लगानीकर्ताको संख्या बढेसंगै बजारले पनि हरेक दिन जसो नयाँ उचाई बनाउदै गएको अवस्था छ।
उद्योगी, व्यापारीहरु समेत धितोपत्रको दोस्रो बजारमा प्रबेश गरेपछि बजारको आकार नै बढेर साढे ३२ खर्बको पुगेको छ । प्राथमिक बजारमा साधारण शेयर खरिदका लागि आवेदन दिनेको संख्या पनि १५ लाख ३० हजार भन्दा माथि पुगेको छ । धितोपत्रको दोस्रो बजारमा बुल टे«ण्ड सुरु भएपनि प्राथमिक बजारमा पनि सोही अनुपातको आकर्षण देखिन्छ ।
थप लगानीका लागि पूँजी आवश्यक भएका पब्लिक कम्पनीले सर्वसाधारणवाट पूँजी जुटाउने सहज माध्यम धितोपत्रको प्राथमिक बजार हो । पब्लिक कम्पनीहरुले धितोपत्र बजार मार्फत पूँजी संकलन गरेर व्यापार व्यवसाय विस्तार गरेको अवस्था छ । तर, सरकारले भने पूँजी बजारलाई नकारात्मक रुपमा बुझ्दा विकास निमार्णका लागि सर्वसाधारणहरुमा छरिएर रहेको पूँजी एकिकृत गरेर ठोस काम गर्न भनेको सकेको छैन ।
विषम परिस्थितिमा पनि सर्वसाधारणबाट पूँजी आह्वान गरेका कम्पनीहरुमा मागे भन्दा २० देखि ३० गुणा सम्म माग गर्दै आवेदन परेको अवस्थामा छ ।
सर्वसाधारणसंग अकर्षण र आवेदनले धितोपत्र बजार प्रतिको विश्वास झनै बलियो हँुदै गएको देखिन्छ । यसले एक पटक कुनै क्षेत्रमा लगानी गरेका लगानीकर्ताले लगानीको क्षेत्र परिवर्तन गर्न खोजेको खण्डमा सहज रुपमा सिफ्ट हुन सकुन भन्ने उद्देश्य स्थापना भएको धितोपत्रको स्थापना भएको हो । पछिल्लो समयमा लगानीकर्ताको अकर्षण देख्दा पूँजी बजारको स्थापनाको उद्देश्य पुरा हुने देखिन्छ । त्यसका लागि नियामक निकाय समय अनुसार बजारको स्तरोन्नतीमा ध्यान दिनुपर्ने देखिन्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया