मोलुङ हाइड्रोपावरले साधारण शेयर निष्काशन गर्ने

0
Shares

मोलुङ हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने लगायतका प्रस्ताव राखेर ११ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले फागुन ६ गते आफ्नो रजिष्टर्ड कार्यालय काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने भएको हो ।

उक्त साधारण सभाले कम्पनीले निष्काशन गर्ने प्राथमिक शेयरको अनुपात र कित्ता तय गर्नेछ । यस्तै अधिकृत र जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र नियमावली संशोधन गर्ने तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गर्ने लगायतका एजेण्डा रहेका छन् ।

मोलुङ हाइड्रोपावर कम्पनीले ओखलढुंगाको मोलुङ खोलामा ७ मेगावाट क्षमताको मोलुङ जलविद्युत आयोजना निमार्ण गरेको छ । जसले २०७४ साल चैत १२ गतेबाट विद्युत उत्पादन शुरु गरेको थियो । तर कम्पनीले अहिलेसम्म कुल उत्पादन क्षमता अनुसारको विद्युत उत्पादन गर्न सकेको छैन । आयोजनाबाट बर्खामा ७ र हिउँदमा ४ मेगावाट उत्पादन हुने भनिए पनि हिउँदका बेला २ देखि ३ मेगावाट मात्रै उत्पादन हुँदै आएको छ ।

कुल १ अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको मोलुङ हाइड्रोपावरमा ४ वटा बैंकको १ अर्ब ३ करोड ऋण लगानी रहेको छ ।

हाइड्रोले करिब दुई हजार स्थानीयबाट संस्थापक शेयरका रूपमा रकम संकलन गरेको छ । तर स्थानीयलाई कुनै प्रमाणपत्र दिएको छैन । ७ मेगावाट क्षमताको आयोजनाका लागि कम्पनीले गाउँपालिकाका ८ वटा वडाका १ हजार ८ सय ७५ उपभोक्ताबाट २ करोड ५५ लाख २६ हजार रकम संकलन गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।