सूचीकृत ६२% कम्पनीले पुसभित्र साधारण सभा सम्पन्न गर्न सकेनन्, ८२ वटाले मात्रै सकाए

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरु कार्यतालिकाभित्र काम गर्न असफल देखिएका छन् । सूचीकृत २१६ वटा कम्पनी मध्ये १३४ वटा कम्पनीले चालु आवको पुस मसान्तभित्र गत आर्थिक वर्ष २०७६/७७ को साधारण सभा सम्पन्न गर्न नसकेको तथ्याङ्क भेटिएको छ । चार वाणिज्य बैंक सहित १३४ कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महिनाको अवधिभित्र  गत आवको साधारण सभा सम्पन्न गर्न नसकेका हुन् ।

पुसभित्र साधारण सभा नगर्नेमा २६ सूचीकृतमध्ये ४ वाणिज्य बैंक, १८ मध्ये १३ विकास बैंक, २३ मध्ये १३ वित्त कम्पनी, ५१ मध्ये ३३ लघुवित्त कम्पनी, ३७ मध्ये १९ जलविद्युत कम्पनी, १८ वटै निर्जीवन बीमा कम्पनी, ११ वटै जीवन बीमा कम्पनी, १९ उत्पादनमुलकमध्ये १३ कम्पनी, अन्यमा सूचीकृत ५ मध्ये ४ कम्पनी, ४ होटलमध्ये २ कम्पनी र ब्यापारमा सूचीकृत ४ मध्ये ४ वटै कम्पनीले साधारण सभा सम्पन्न गर्न नसकेका हुन् ।

यता पुस मसान्त अर्थात आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रमा २२ वाणिज्य बैंक, ५ विकास बैंक, १० वित्त कम्पनी, १८ लघुवित्त, १८ जलविद्युत कम्पनी, ६ उत्पादनमुलक कम्पनी, अन्यमा सूचीकृत एक कम्पनी, दुई होटल गरी ८२ कम्पनीले भने नियम अनुसार पुसभित्रै साधारण सभा सम्पन्न गरेका छन् ।

पब्लिक कम्पनीमा सूचीकृत कम्पनीहरुले हरेक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । यस समयमा साधारण सभा सम्पनन नगर्ने कम्पनीहरुलाई कम्पनी रजिष्ट्रारको कार्यालयले जरीवाना समेत तिराउने गर्दछ । तर साधारण सभाबाट निर्वाचित भई कम्पनी सञ्चालनको जिम्मेवारी लिएर सञ्चालक बनेकाहरु भ्ने समयमा नै साधारण सभा सम्पन्न गर्नभन्दा कम्पनीहरुले जरीवाना तिर्न तयार हुँदा पनि कार्यतालिकाभित्र काम गर्न भने असफल देखिएका छन् ।

अर्कोतर्फ बजार सञ्चालनको फ्रन्टलाइन रेगुलेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हरेक त्रैमासमा गर्ने कम्पनी वर्गिकरणको सूची प्रकाशन गर्ने गरेको छ । यसरी दोस्रो त्रैमास अर्थात पुस मसान्तभित्र गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीलाई नेप्सेले गर्ने वर्गिकरणको सूचीमा ‘ए’ वर्गमा राख्दैन । अर्थात तोकिएको समयभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनी खराब वर्ग अर्थात ‘ए’ भन्दा कमजोर मानिने ‘बि’ ‘जी’ ‘जेड’ वर्गतिर समेटिने गर्दछन् ।

सूचीकृत मध्ये ३८ प्रतिशत कम्पनीले मात्र पुसभित्र साधारण सभा सम्पन्न गरेका छन् भने समयमा साधारण सभा सम्पन्न नगर्ने सूचीकृत कम्पनी ६२ प्रतिशत छन् । यी कम्पनीहरु अझैपनि शेयरधनी र आफ्नो साख वृद्धि गर्न पुसभित्रै साधारण सभा सम्पन्न गर्नबाट चुक्दै आएका छन् । अन्तर्राष्ट्रिय अभ्यासमा कतिपय कम्पनीहरुले साधारण सभाको मिति नै तोकेर हरेक वर्ष एकैदिन साधारण सभा सम्पन्न गर्ने गरेको समेत भेटिन्छ । नेपालमा भने यस्तो अभ्यास हालसम्म एउटा पनि कम्पनीमा देख्न पाइएको छैन ।

सूचीकृत कुनैपनि बीमा कम्पनी (११ जीवन तथा १८ निर्जीवन बीमा कम्पनीहरु) ले चालु आवको पुस मसान्तभित्र गत आव २०७६/७७ को साधारण सभा सम्पन्न गर्न सकेका छैनन् । नयाँ लेखामान प्रणाली अनुरुप  एनएफआरएस वित्तीय विवरण तयार गर्नुपर्ने र एक्चुअरी भ्यालुएसनको कठिनाइका कारण पनि बीमा कम्पनीहरुको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सम्पन्न हुने नसक्ने बीमकहरु बताउँछन् ।

  • यी हुन् पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने वाणिज्य चार बैंक

नेप्सेमा सूचीकृतमध्ये २६ मध्ये २२ बैंकले पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गर्दा ४ बैंकले भने पुस मसान्तभित्र साधारण भसा सम्पन्न गर्न सकेनन् । पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, सिद्धार्थ बैंक र सिभिल बैंक रहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ८ गते र नेपाल क्रेडिट एण्ड कर्मस बैंकले माघ ९ गते साधारण सभा सम्पन्न गरेका छन् । सिद्धार्थ बैंकले माघ १६ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ भने सबैभन्दा अन्तिममा लाभांश घोषणा गरेको सिभिल बैंकले हालसम्म साधारण सभा आह्वान गरेको छैन । नेप्सेमा सूचीकृत नरहेको सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले पनि माघ २८ गते साधारण सभा आह्वान गरेको छ ।

पुसभित्र नबिल, हिमालयन, एनआईसी एशिया, एनएमबि, ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, कृषि विकास, प्राइम, कुमारी, सानिमा, मेगा, स्ट्याण्डर्ड चार्टड, लक्ष्मी, सिटिजन, माछापुच्छ्रे, एभरेष्ट, प्रभु, नेपाल एसबिआई, बंगलादेश, सनराइज र सेञ्चुरी बैंकले पुसभित्रै साधारण सभा सम्पन्न गरेका हुन् ।

सबै वाणिज्य बैंकले गत आवको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । गत आवबाट नबिल बैंकले सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको छ भने सेञ्चुरी बैंकले सबैभन्दा कम ७.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

  • अठार विकास बैंकमध्ये ५ वटाले मात्रै सकाए पुसभित्र साधारण सभा

अधिकांश वाणिज्य बैंकहरुले पुसभित्र साधारण सभा सम्पन्न गरेपनि विकास बैंकहरुमा भने पुसभित्र साधारण सभा सम्पन्न गर्ने विकास बैंकको संख्या न्यून देखिएको छ । १८ विकास बैंकमध्ये ५ वटा विकास बैंकले मात्र साधारण सभा सम्पन्न गरेका छन् भने १३ वटा बैंकले पुसभित्र साधारण सभा सम्पन्न गर्न सकेनन् । मुक्तिनाथ, लुम्बिनी, मितेरी, शाइन रेसुङ्गा र कामना सेवा विकास बैंकले पुसभित्रै साधारण सभा सम्पन्न गरेका हुन् ।

पुसभित्र साधारण सभा सम्पन्न नगर्ने विकास बैंकहरुमा गरिमा, ज्योति, तिनाउ मिसन, ग्रीन, नारायणी, सिन्धु, सांग्रिला, महालक्ष्मी, एक्सेल, सप्तकोशी, सहारा, कर्णाली र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।

ज्योति विकास बैंकले माघ १४ गते, तिनाउले माघ १५, नारायणीले माघ १६ र गरिमा विकास बैंकले माघ ३० गते साधारण सभा आह्वान गरेका छन् । लाभांश घोषणा गरेको ग्रीन डेभलपमेन्ट बैंकले साधारण सभा आह्वान गरिसकेको छैन भने ८ विकास बैंकको लाभांश घोषणा नै भएको छैन । लाभांश घोषणा हुन बाँकी कतिपय विकास बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा समेत छन् ।

हालसम्म ८ विकास बैंकले आव २०७६।७७ बाट लाभांश घोषणा गरेका छन् भने नारायणी विकास बैंकले कुनैपनि लाभांश वितरण नगर्ने जनाइसकेको छ । सिन्धु, सांग्रिला, महालक्ष्मी, एक्सेल, सप्तकोशी, सहारा, कर्णाली र कर्पोरेट डेभलपमेन्ट बैंकको हालसम्म लाभांश घोषणा नभएको हो ।

गत आवबाट लाभांश घोषणा गरेका विकास बैंकतर्फ मितेरी डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै १५.७९ प्रतिशत लाभांश वितरण गरेको छ भने कामना सेवाले ४.६३ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ ।

  • दश फाइनान्सको पुसभित्रै साधारण सभा सम्पन्न

सूचीकृत २३ वित्त (फाइनान्स) कम्पनीमध्ये १० वटाले गत आव २०७६/७७ को साधारण सभा पुसभित्रै सम्पन्न गरेका छन् । पुसभित्र साधारण सभा सम्पन्न गर्ने फाइनान्सहरुमा मञ्जुश्री, आईसिएफसि, सृजना, गुडविल, गुहेश्वरी, श्री इन्भेष्ट, पोखरा, युनाइटेड, समृद्धि, प्रोगेशिभ फाइनान्स छन् ।

सेन्ट्रल सहित १३ वटा फाइनान्स कम्पनीले गत आवको साधारण सभा सम्पन्न गर्न नसकेका हुन् । जसमा पाँच कम्पनी समस्याग्रस्त र केही लिक्विडेसनमा गएका कम्पनी समेत रहेका छन् । सेन्ट्रल फाइनान्सले लाभांश घोषणा गरेपनि पुसभित्र साधारण सभा सम्पन्न गर्न सकेन । फाइनान्सले माघ २३ गते साधारण सभा बोलाएको छ ।

नेप्सेमा नियमित कारोबारमा आइरहेका जानकी फाइनान्स, गोर्खाज, मल्टिपर्पस, रिलायन्स, बेष्ट, र नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा सम्पन्न गर्न सकेनन् । यी फाइनान्सले हालसम्म गत आवको लाभांश समेत प्रस्ताव गरेका छैनन् । जानकी फाइनान्सले बाह्य लेखापरीक्षण कार्यमा भएको ढिलाइले लाभांश घोषणामा लिाइ भएको जानकारी दिँदै चैतभित्रै साधारण सभा सम्पन्न गर्ने जनाएको छ ।

यसैगरी समस्याग्रस्त रहेका सम्झना, नेपाल शेयर मार्केट एण्ड फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स, क्रिष्टल र हिमालयन फाइनान्स आफ्नै अस्तित्व जोगाउने अन्तिम प्रयासमा रहेका छन् ।

हालसम्म ८ फाइनान्सले आव २०७६/७७ बाट लाभांश घोषणा गरेका छन् भने तीन फाइनान्स कम्पनीहरु युनाइटेड, समृद्धि, प्रोगेशिभ फाइनान्सले लाभांश वितरण नगर्ने जनाइसकेका छन् ।

गत आवबाट लाभांश घोषणा गरेका फाइनान्सतर्फ मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै २३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने पोखरा फाइनान्सले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

  • एकाउन्नमध्ये १८ लघुवित्तले मात्रै पुसभित्र सकाए साधारण सभा

नेप्सेमा सूचीकृत ५१ लघुवित्तमध्ये १८ लघुवित्त कम्पनीहरुले गत आव २०७६/७७ को साधारण सभा सम्पन्न गरेका छन् । ३३ लघुवित्तले साधारण सभा सम्पन्न गर्न सकेनन् ।

पुस भित्र साधारण सभा सम्पनन गर्ने लघुवित्तमा फस्ट माइक्रोफाइनान्स, वोमी, छिमेक, ग्लोबल आईएमई, समता, साना किसान, लक्ष्मी, स्पर्स, आरएमडिसी, एनएमबि, साधना, विजय, मेरो, आशा, आरएसडिसी, समाज, गुँरास, र घोडीघोडा लघुवित्तले साधारण सभा सम्पन्न गरेका छन् ।

फरवार्ड, नेशनल, स्वाभिमान, स्वावलम्बन, गणपति, इन्फिनिटी, स्वरोजगार, निर्धन उत्थान, मिर्मिरे, महिला सहयात्रा, नेरुडे, सिभिल, एनआईसी एशिया, स्वदेशी, सामुदायिक, सूर्योदय, डिप्रोक्स, उन्नति सहकार्य, महुली, किसान, समीट, सारथी नेपाल, आरम्भ चौतारी, नेपाल एग्रो, मिथिला, सबैको लघुवित्त, कालिका, सर्पोट, नेपाल सेवा, ग्रामीण, जनउत्थान, नाडेप र आँधीखोला गरी ३३ लघुवित्तले गत आर्थिक वर्षको साधारण सभा पुसभित्र सम्पन्न गर्न असफल रहे ।

यसबीचमा एनआईसी एशिया र स्वदेशी लघुवित्तले एक आपसमा मर्जर प्राप्तीमा जाने प्रस्ताव सहित पुसपछि माघ ४ गते आएर साधारण सभा सम्पन्न गरेका छन् । इन्फिनिटीले माघ २५ गते र सामुदायिक लघुवित्तले फागुन ५ गते साधारण सभा बोलाएका छन् ।

गत आवबाट २७ लघुवित्तले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् भने समाज, एनआईसी एशिया, स्वदेशी, गुँरास, घोडीघोडा र सामुदायिक लघुवित्त गरी ६ कम्पनीले गत आवबाट कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरिसेका छन् ।

अब १८ लघुवित्तको लाभांश घोषणा हुन बाँकी छ । सूर्योदय, डिप्रोक्स, उन्नति सहकार्य, महुली, किसान, समीट, सारथी नेपाल, आरम्भ चौतारी, नेपाल एग्रो, मिथिला, सबैको लघुवित्त, कालिका, सर्पोट, नेपाल सेवा, ग्रामीण, जनउत्थान, नाडेप र आँधीखोला लघुवित्तले हालसम्म पनि लाभांश घोषणा गरेका छैनन् ।

गत आवबाट लाभांश घोषणा गरेका लघुवित्तमध्ये फरवार्ड कम्युनिटीले सबैभन्दा धेरै ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सिभिल लघुवित्तले ३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

  • सूचीकृत ३७ मध्ये १८ जलविद्युत कम्पनीले पुसभित्रै सकाए साधारण सभा

जलविद्युत समुहमा सूचीकृत ३७ मध्ये १८ ले पुसभित्रै साधारण सभा सम्पन्न गरेका छन् । १९ जलविद्युत कम्पनी पनि पुसभित्रै साधारण सभा सम्पनन गर्न असमर्थ रहे ।

चिलिमे, बुटवल पावर, सानिमा माई, ङादी ग्रुप पावर, अपि पावर, अरुण काबेली युनाइटेड मोदी, बरुण, अरुण भ्याली, रिडी, छ्याङ्दी, सिनर्जी पावर, माउन्टेन इनर्जी नेपाल, माउन्टेन हाइड्रो नेपाल, रैराङ, रसुवागढी, साञ्जेन, हिमालयन पावर पार्टनरले चालु आवको पुस मसान्तभित्रै गत आर्थिक वष २०७६/७७ को वार्षिक साधारण सभा सम्पन्न गरेका छन् ।

घलेम्दी, कालिका पावर, आँखुखोला, हिमालयन उर्जा विकास, नेपाल हाइड्रो डेभलोपर्स, राधी विद्युत, दिब्यश्वरी, जोशी, खानीखोला, नेशनल, पञ्चकन्या माई, पाँचथर पावर, युनियन, युनिभर्सल अपर तामाकोशी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबि, शिवश्री र हिमाल दोलखा हाइड्रोपावर पुसभित्र साधारण सभा सम्पन्न गर्न असफल रहे । घलेम्दीले माघ २५ गते र कालिका पावरले माघ ३० गते सभा आह्वान गरेका छन् ।

गत आवबाट १२ कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् भने ८ कम्पनीले कुनैपनि लाभांश घोषणा नगर्ने जनाइसकेका छन् । चिलिमे, बुटवल पावर, सानिमा माई, ङादी ग्रुप पावर, अपि पावर, अरुण काबेली युनाइटेड मोदी, बरुण, अरुण भ्याली, रिडी, छ्याङ्दी, सिनर्जी पावरले लाभांश वितरण गरेका हुन् भने घलेम्दी, कालिका पावर, माउन्टेन इनर्जी नेपाल, माउन्टेन हाइड्रो नेपाल, रैराङ, रसुवागढी, साञ्जेन, हिमालयन पावर पार्टनरले लाभांश वितरण नगर्ने जनाइसकेका छन् ।

राधी विद्युत, नेपाल हाइड्रो डेभलोपर्स, आँखुखोला, हिमालयन उर्जा विकास, दिब्यश्वरी, जोशी, खानीखोला, नेशनल, पञ्चकन्या माई, पाँचथर पावर, युनियन, युनिभर्सल, अपर तामाकोशी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबि, शिवश्री र हिमाल दोलखा हाइड्रोपावर गरी १७ कम्पनीले लाभांश वितरण गर्ने वा नगर्ने घोषणा गरिसकेका छैन । यी मध्ये राधी विद्युत र नेपाल हाइड्रो डेभलोपस बाहेक सबैजसो हाइड्रोपावर लाभांश वितरण गर्नसक्ने अवस्थामा रहेका छैनन् । धेरै कम्पनी निर्माणाधीन रहेकाले आम्दानी भएको छैन भने केहीको भर्खरै सुरु भएकाले लाभांश वितरण गर्नसक्ने अवस्था ज्यादै न्यून छ ।

गत आवबाट लाभांश घोषणा गरेका जलविद्युत कम्पनीमध्ये बुटवल पावरले सबैभन्दा धेरै २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सिनर्जी पावरले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

  • निर्जीवन बीमामा पनि सबै कम्पनीको साधारण हुन बाँकी

नेप्सेमा सूचीकृत १८ वटै निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा सम्पन्न गर्न सकेका छैनन् ।

बीमा समितिले लाागू गरेको नेपाल वित्तीयमान प्रणाली अनुरुपको प्रतिवेदन (एनएफआरएस) कारण पनि बीमा कम्पनीहरु समयमा नै साधारण सभा सम्पन्न गर्न असमर्थ रहेका हुन् ।

सूचीकृत १८ निर्जीवन बीमामध्ये तीन कम्पनीहहरु शिखर, प्रिमियर र नेपाल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका छन् भने १५ वटाको लाभांश घोषणा समेत भएको छैन ।

हालसम्म शिखर, प्रिमियर र नेपाल इन्स्योरेन्सले गत आवको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि बीमा समितिमा पठाएका छन् । प्रुडेन्सियल, नेको, सगरमाथा, लुम्बिनी, सिद्धार्थ, प्रभु, एनएलजी, हिमालयन जनरल, आइएमई जनरल, अजोड, जनरल, सानिमा जनरल, युनाइटेड, एभरेष्ट, राष्ट्रिय बीमा गरी १५ निर्जीवन बीमाको लाभांश घोषणा हुन बाँकी छ ।

गत आवबाट लाभांश घोषणा गरेका तीन निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २९.२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

  • अधिकांश जीवन बीमा कम्पनीहरु अघिल्लो आवको साधारण सभा नै बाँकी

नेप्सेमा सूचीकृत ९ वटा जीवन बीमा कम्पनीमध्ये कुनैपनि कम्पनीले गत आवको साधारण सभा सम्पन्न गर्ने त परै जाओस् लाभांश घोषणा समेत गर्न सकेका छैनन् ।

प्राइम लाइफले पुस २७ गते अघिल्लो आव २०७५/७६ को साधारण सभा सम्पन्न गरेको छ भने सूर्या लाइफले माघ ५ गते सम्पन्न गरेको छ । एलआईसीले माघ १५ र नेपाल लाइफले माघ २८ गते अघिल्लो आव २०७५/७६ को साधारण सभा डाकेका छन् । नेशनल लाइफले लाभांश प्रस्ताव गरेपनि साधारण सभा आह्वान गरिसकेको छैन ।

आव २०७५/७६ बाट पाँच जीवन बीमा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् भने चार कम्पनीको घोषणा हुन बाँकी छ । प्राइम लाइफ, सूर्या लाइफ, नेशनल लाइफ, एलआईसी, र नेपाल लाइफको लाभांश घोषणा भएको छ । गुराँस लाइफ, एशियन लाइफ, रिलायन्स लाइफ र प्रभु लाइफको लाभांश घोषणा हुन बाँकी छ ।

जीवन बीमा कम्पनीहरुको एक्चुअरी भ्यालुएसनका कारण ढिलाइ हुँदा विगतदेखि नै एक आर्थिक वर्ष ढिला मात्रै साधारण सभा सम्पन्न हुँदै आएका छन् । एक्चुअरी भ्यालुएसनका लागि नेपालमा दक्ष जनशक्ति नहुँदा भारतीय जनशक्तिमा भर पर्नुपर्ने अवस्था र बीमा समितिबाट वित्तीय विवरण स्वीकृत हुन लाग्ने समयका कारण सबै जीवन बीमा कम्पनी हरेक पुसभित्र गत आवको साधारण सभा सम्पन्न गर्न असफल रहँदै आएका छन् ।

अर्कोतर्फ बीमा समितिले लाागू गरेको नेपाल वित्तीयमान प्रणाली अनुरुपको प्रतिवेदन (एनएफआरएस) कारण पनि बीमा कम्पनीहरु समयमा नै साधारण सभा सम्पन्न गर्नमा ढिलाई हुँदै आएको छ ।

अघिल्लो आवबाट लाभांश घोषणा गरेका पाँच जीवन बीमामध्ये नेपाल लाइफले सबैभन्दा धेरै ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने एलआईसीले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

  • पुसभित्र उत्पादनमुलक ६ कम्पनीको साधारण सभा सम्पन्न

नेप्सेको वेवसाइटमा उत्पादनमुलक समुहका सूचीकृत रहेका १९ कम्पनीमध्ये १२ कम्पनी शेयर बजारबाट बेपत्ता छन् । यी कम्पनीहरुको साधारण सभा सम्पन्न गर्ने त परै जाओस् यर्थाथ अवस्था कस्तो छ भन्ने समेत फ्रन्टलाइन रेगुलेटर नेप्सेलाई जानकारी छैन ।

अस्तित्वमा रहेका ७ मध्ये श्रीराम सुगर मिल्स बाहेक सबै ६ वटा कम्पनीले साधारण सभा सम्पन्न गरेका छन् । युनिलिभर नेपाल, हिमालयन, डिष्टिलरी, शिवम् सिमेन्ट, नेपाल ल्यूव आयल, बोटलर्स नेपाल (तराइ) र बोटलर्स नेपाल (बालाजु) ले पुसभित्रै साधारण सभा सम्पन्न गरेका हुन् ।

आर्थिक संकटले धरासायी भएपछि श्रीराम सुगर मिल्स भने स्थायी रुपमा मिल बन्द गर्ने घोषणा गरेका कारण कारण कम्पनीले गत आवको साधारण सभा सम्पन्न गरेको छैन । गोरखाकाली रबर उद्योग, नेपाल खाद्य उद्योग, नेपाल बिटुमिन एण्ड ब्यारल उद्योग, नेपाल बनस्पति ध्यु उद्योग, बुटवल स्पिनिङ्ग मिल, फ्यूर हिमालयन, हिरिसिद्धी इँटा टायल, ज्योति स्पिनिङ्ग मिल, रघुपति जुट मिल, श्री भृकुटी पल्स एण्ड पेपर, अरुण बनस्पति उद्योग र विराट शु उद्योग शेयर बजारबाट लगानीकर्ताको लगानी डुवाएर बेपत्ता भएका हुन् ।

गत आवबाट लाभांश घोषणा गरेका उत्पादनमुलक कम्पनीमध्ये युनिलिभर नेपालले सबैभन्दा धेरै १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने नेपाल ल्यूब आयलले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

  • अन्यमा सूचीकृत एचआईडिसिएलले मात्र सकायो

अन्य उपसमुहमा सूचीकृत पाँच कम्पनीमध्ये हाइड्रोइलेक्ट्रिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनी (एचआईडिसिएल) ले मात्र पुसभित्र साधारण सभा सम्पन्न गरेको छ । तीन कम्पनीले साधारण सभा सम्पन्न गर्न सकेनन् ।

एनआरएन इन्फ्रास्ट्रक्चर, नागरिक लगानी कोष, नेपाल दूरसञ्चार कम्पनी, र नेपाल फिल्म डेभलपमेन्ट कम्पनीले भने पुसभित्र साधारण सभा सम्पनन गर्न सकेनन् । एनआरएन इन्फ्रास्ट्रक्चरले माघ २५ गते साधारण सभा बोलाएको छ भने नेपाल फिल्म डेभलपमेन्ट कम्पनी पनि बेपत्ता छ । यस कम्पनीले वर्षौदेखि साधारण सभा सम्पन्न गरेको छैन ।

एचआईडिसिएलले गत आवको नाफाबाट लाभांश वितरण गरेको छैन भने एनआरएन इन्फ्रास्ट्रक्चरले ३ प्रतिशत लाभांश घोषणा गरेको छ । नागरिक लगानी कोष र नेपाल दूरसञ्चार कम्पनीले लाभांश घोषणा हुन बाँकी छ ।

गत आवबाट अन्यमा सूचीकृत एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिकिटेडले मात्र ३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

  • दुई होटलले सकाए साधारण सभा, दुईको अझै टुङ्गो छैन

नेप्सेमा सूचीकृत ४ होटल कम्पनीमध्ये सोल्टी र ओरियन्टल होटलले गत आवको साधारण सभा सम्पनन गरेका छन् । दुबै होटलले लगानीकर्तालाई लाभांश भने दिएनन् ।

गत आवको नाफाबाट शेयर लगानीकर्तालाई दश प्रतिशत नगद लाभांश घोषणा गरेको तारागाउँ होटलले आजसम्म साधारण सभा आह्वान गरेको छैन भने नेप्समो सूचीकृत भएपनि याक एण्ड यति होटल लगानीकर्ताहरुको नजरमा वर्षौदेखि बेपत्ता छ ।

गत आवबाट तारागाउँ रिजेन्सी होटलले मात्र १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

विश्व माहामारी कोरोना भाइरस संक्रमणका कारण पर्यटन व्यवसाय धरासायी हुँदा होटलको आम्दानी सुकेका छन् भने कतिपय होटल सञ्चालन हुन नसकी बन्द गर्ने अवस्थासम्म पुगेका छन् । यसले पनि होटलको साधारण सभा प्रभावित बनेको बताइन्छ ।

  • ब्यापारका चारवटै कम्पनीले गरेनन् साधारण सभा

नेप्सेको ब्यापारमा सूचीकृत ४ मध्ये कुनैपनि कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को साधारण सभा सम्पन्न गर्न सकेनन् ।

सूचीकृत ४ मध्ये नेशनल ट्रेडिङ र बिशाल बजार कम्पनी गरी दुई कम्पनीको नेप्सेमा शेयर कारोबार हुँदै आएको छ भने नेपाल ट्रेडिङ लिमिटेड र नेपाल वेलफेयर कम्पनी लिमिटेड पनि शेयर बजारबाट वेपत्ता छन् । यी दुई कम्पनीले वर्षैदेखि साधारण सभा सम्पन्न गरेका छैनन् ।

नियमित शेयर कारोबार हुँदै आएपनि विशाल बजार कम्पनीले पनि शेयरधनी तथा नियामक निकायलाई टेरेको देखिँदैन । सरकारी स्वामित्वको साल्ट ट्रेडिङको हालत पनि उस्तै छ । कम्पनीले गत मंसिर ३० गते बल्ल ५३ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३५ प्रतिशत लाभांश पारित गराएको छ ।

  • पन्ध्र म्युचुअल फण्डको लाभांश वितरण

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १७ म्युचुअल फण्डमध्ये एनआईबिएल प्रगति फण्ड बाहेक १५ फण्डले आफ्ना इकाइधनीलाई गत आर्थिक वर्षको लाभांश वितरण गरेका छन् ।  एनआईबिएल प्रगति फण्ड र लक्ष्मी उन्नति कोषले भने गत आवबाट इकाइधनीलाई प्रतिफल वितरण गरेनन् । 

नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको लाभांश साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्तामा वितरण हुने गर्दछ । तर म्युचुअल फण्डको हकमा भने आर्थिक वर्ष समाप्तीसँगै लेखापरिक्षण समाप्त भएपछि योजना व्यवस्थापकको सञ्चालक समिति बैठकले लेखापरिक्षणबाट प्राप्त हुन आएको नाफाका आधारमा इकाइधनीलाई प्रतिफल वितरण गर्ने गर्दछ । यसरी प्रस्तावित गरिएको लाभांश इकाईधनीलाई वितरणका लागि लाभांश साधारण सभाबाट पारित गरिरहनु पर्दैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार  ११ : ०२ बजे