सस्तो ब्याजदरका कारण बैंकहरुमा निक्षेप घट्दै


बैंकहरुले अधिक तरलताका कारण बचत तथा मुद्दतीको ब्याजदर घटाएसंगै पैसा बैंकिङ प्रणालीबाट बाहिरिन थालेको छ । चालु आर्थिक वर्षको पुसको अन्तिम र माघको पहिलो सातामा १२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । यो अवधिमा २१ अर्ब रुपैयाँ कर्जा बढेको छ ।

बैंकहरुमा निक्षेप घटेपनि कर्जाको माग भने बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्षको माघ महिनाको पहिलो सातामा बैंकहरुको निक्षेप १० अर्बले घटेपनि कर्जा भने १३ अर्ब रुपैयाँले बढेको हो । बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास समाप्तिमा बैंकहरुले ग्राहकलाई निक्षेप नझिक्न तथा कर्जा ब्याज भुक्तानी पनि माघ लागेपछि गर्न अनुरोध गर्ने अभ्यासले पनि निक्षेप र कर्जाको असन्तुलन देखिएको छ ।

पछिल्लो समयमा तीब्र गतिमा बढेको शेयर बजार तथा जग्गाको कारोबारमा आएको उच्च वृद्धिले बैंक तथा वित्तीय संस्थाको निक्षेप घट्नमा असर गरेको छ ।

साथै बैंकहरुले बचत तथा मुद्दतीको ब्याजदर घटाएपछि धेरै प्रतिफल भएको क्षेत्रमा पूँजी सिफ्ट हुँदा बैंकिङ क्षेत्रको निक्षेप घटेको हो । कोरोनाका कारण अस्तव्यस्त भएको अर्थतन्त्रले गति लिएसंगै आर्थिक गतिविधिमा पनि सुधार आएको छ । आर्थिक गतिविधिमा सुधार अएसँगै बैंकमा थुप्रिएर रहेको पैसा बाहिर आउन थालेको हुनाले पनि बैंक वित्तीय संस्थाको निक्षेप घटेको हो ।

पुसको महिनामा ६५ अर्ब रुपैयाँ निक्षेप थपिँदा १२१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । माघ २ गते देखि ९ गतेसम्ममा मात्र बैंकहरुबाट १० अर्ब रुपैयाँ निक्षेप झिकिएको छ भने १३ अर्ब रुपैयाँ बजार प्रवाह भएको छ । चालु आर्थिक वर्षको पुस महिनाको अन्तिम साता २ अर्ब निक्षेप घटेको थियो भने ८ अर्ब रुपैयाँ कर्जा बढेको थियो ।

चालु आर्थिक वर्षको पुस ९ गतेसम्ममा वाणिज्य बैंकहरुले ३६ अर्ब ६८ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंकहरुले ३२ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।