सूचीकृत २६ मध्ये १६ बैंकको खुद नाफा घट्यो, ६ महिनामा २९.३७ अर्ब नाफा आर्जन

0
Shares

चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिना अवधिमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये १६ बैंकको खुद नाफा घटेको छ । बिहीबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये १० वाणिज्य बैंकले मात्र गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा नाफा बढाएका छन् ।

यस अवधिमा कुमारी बैंकको सबैभन्दा धेरै ५१.५० प्रतिशतले नाफा वृद्धि भएको छ भने हिमालयन बैंकको सबैभन्दा धेरै ६१.५१ प्रतिशतले नाफा घटेको छ । एनएमबि, प्रभु, प्राइम, ग्लोबल आइएमई, र मेगा बैंकको नाफा ३० प्रतिशतभन्दा बढीले नाफा वृद्धि गरेका छन् ।सिटिजन्स बैंक, नेपाल बंगलादेश बैंक, एनआईसी एशिया र सनराइज बैंक गरी १० वाणिज्य बैंकको नाफा पनि बढेको छ ।

यस अवधिमा हिमालयन बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, र नेपाल बैंक गरी १६ बैंकको नाफा घटेको हो ।

नेप्सेमा सूचीकृत नरहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेका छैन ।

  • २६ बैंकले ६ महिनामा कमाए २९.३७ अर्ब नाफा

चालु आर्थिक वर्ष २०७७।७८ को ६ महिना अवधिमा नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुले २९ अर्ब ३७ करोड ६३ लाख ३१ ह्जार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

गत आव २०७६।७७ को यसै अवधिमा ३० अर्ब ३ करोड ४३ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका बैंकहरुको खुद नाफा समीक्षा अवधिमा ६५ करोड ७९ लाख ८१ हजार रुपैयाँ अर्थात २.१९ प्रतिशतले घटेको हो । कोरोना भाइरस संक्रमणका कारण व्यवसाय प्रभावित हुँदा बैंकहरुको नाफा घटेको हो ।

यस अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै २ अर्ब ३१ करोड बढी नाफा आर्जन गरेको छ । एनआईसी एशिया र नबिल बैंकको नाफा २ अर्ब माथि रहेको छ । एक अर्बभन्दा माथि दुई अर्बभन्दा कम नाफा आर्जन गर्ने वाणिज्य बैंकको संख्या ९ रहेको छ । प्राइम, एनएमबि, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु, नेपाल, कृषि, मेगा, कुमारी, र सानिमा बैंकको नाफा १ अर्ब माथि छ । एक अर्बभन्दा कम नाफा आर्जन गरेका १५ बैंकमध्ये सेञ्चुरी र सिभिल बैंकको नाफा ५० करोडभन्दा कम रहेको छ । सिभिल बैंकले सबैभन्दा कम २० करोड २८ लाख रुपैयाँ खुद नाफा अआर्जन गरेको छ ।

  • ६ वाणिज्य बैंकको मात्र इपिएस बढ्यो

गत आवको पुस मसान्तको तुलनामा चालु आवको यसै अवधिमा ६ वाणिज्य बैंकको मात्र प्रतिशेयर आम्दानी (इपिएस) बढेको छ । २० बैंकको इपिएस घटेको छ । यस अवधिमा प्रभु, ग्लोबल, सिटिजन्स, नेपाल बंगलादेश, एनएमबि र कुमारी बैंकको वार्षिक प्रतिशेयर आम्दानी बढेको हो ।

समीक्षा अवधिमा प्रभु बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै २१ प्रतिशतले बढेको छ भने हिमालयन बैंकको इपिएस ७०.१० प्रतिशतले घटेको छ । प्रभुको ४.६५ रुपैयाँले बढेर २६.७७ रुपैयाँ पुगेको छ भने हिमालयन बैंकको २८.६७ रुपैयाँले घटेर १२.२३ रुपैयाँमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकले गत आवको वितरणयोग्य नाफाको ३० प्रतिशतभन्दा धेरै नगद लाभांश वितरण गर्न रोक लगाएका कारण अधिकांश बैंकले गत आवको नाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गरेका छन् । यसले बैंकहरुको चुक्ता पूँजी बढाएको छ भने नाफा घट्दा त्यसको प्रतक्ष्य असर बैंकको प्रतिशेयर आम्दानीमा परेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा २६ वाणिज्य बैंकको औषत प्रतिशेयर आम्दानी २३.४६ रुपैयाँमा रहेकोमा चालु आवको यसै अवधिमा ४.१० रुपैयाँ घटेर १९.३६ रुपैयाँमा संकुचित बनेको छ ।

यस अवधिमा नबिल बैंकको इपिएस सबैभन्दा धेरै ४०.०४ रुपैयाँ रहेको छ भने सिभिल बैंकको सबैभन्दा कम २.५३ रुपैयाँ रहेको छ । २० बैंकको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँभन्दा बढी छ भने १४ बैंकको २० रुपैयाँभन्दा कम छ ।

  • वितरणयोग्य नाफा बढाउन ७ बैंक मात्र सफल

खुद नाफा घटेसँगै सबैजसो वाणिज्य बैंकको वितरणयोग्य नाफा समेत घटेको छ । यस अवधिमा डिबेञ्चर रिडम्सन रिर्जबमा ४४ करोड बढीको उच्च व्यवस्थापनका कारण सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक बनेको छ भने अन्य २५ बैंकको वितरणयोग्य नाफा धनात्मक छ ।

२०७७ पुससम्ममा २६ बैंकहरुले १७ अर्ब २८ करोड ६४ लाख ४४ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेका छन् । गत आवको पुस मसान्तसम्ममा यस्तो नाफा २० अर्ब २६ करोड २९ हजार रहेकोमा १४.६८ प्रतिशत अर्थात २ अर्ब ९७ करोड ३५ लाख ८५ हजार रुपैयाँले घटेको हो ।
समीक्षा अवधिमा प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै ४५.९९ प्रतिशतले आफ्नो वितरणयोग्य नाफा बढाएको छ । गत आवको पुसमा ८६ करोड ५९ लाख रहेको बैंकले १ अर्ब २६ करोड ४२ लाख रुपैयाँ पुर्याएको हो ।

२०७६ पुसको तुलनामा सिटिजन्स बैंक, एनएमबि बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक र नेपाल बंगलादेश बैंकको वितरणयोग्य नाफा बढेको छ । अन्य बाँकी सबै बैंकको घटेको छ ।

रकमका आधारमा नबिल बैंकको वितरणयोग्य नाफा सबैभन्दा बढी १ अर्ब ८४ करोड २८ लाख ६१ हजार रुपैयाँ रहेको छ । एनएमबि, ग्लोबल र प्राइमको पनि १ अर्ब माथि रहेको छ । ११ वाणिज्य बैंकले ५० करोडदेखि एक अर्ब बीचमा वितरणयोग्य नाफा निकाल्दा ११ बैंकको ५० करोड रुपैयाँभन्दा कम छ ।

२०७६ पुस मसान्तमा २६ वाणिज्य बैंकको औषत वितरणयोग्य नाफा ७७ करोड ९२ लाख ३१ ह्जार रुपैयाँ रहेकोमा चालु आवको पुस ममान्तसम्ममा ६६ करोड ४८ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०७७, बिहीबार  ११ : १७ बजे