वर्ल्ड लिंकले सबै प्रदेशका १४ स्थानमा इन्टरनेट डाटा सेन्टर निर्माण गर्ने


विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक बृद्धि भइरहेको अवस्थामा वर्ल्ड लिंकले देशव्यापी रुपमा डाटा सेन्टर बिस्तार गर्ने भएको छ । इन्टरनेटका प्रयोगकर्ता बढ्दै गएको अवस्थामा इन्टरनेटको पूर्वाधारमा दबाव र प्रयोगकर्तालाई प्राप्त हुने सबै सेवाप्रदायकका इन्टरनेटको अनुभव र गति बिग्रिदै गएको वर्ल्ड लिंकले जनाएको छ ।

यस्तो अवस्थामा गुणस्तरिय इन्टरनेट प्रयोगका लागि प्रयोगकर्ताहरूको नजिक स्थानीय रूपमै सर्भर हुँदा इन्टरनेट सामग्रीहरुलाई प्रयोगकर्ताहरूको लागि भण्डार गर्न सहज हुने वर्ल्ड लिंकको भनाई छ ।

नेपालले इन्टरनेट ट्राफिकमा पनि डिजिटल सेवाहरूको उपयोगमा उल्लेखनिय बृद्धि हुने सम्भावना देखिरहेको छ । यसबाहेक सरकारले डिजिटल नेपाललाई राष्ट्रीय गौरव परियोजनाको रूपमा घोषणा गरेको सन्दर्भमा दुरसंचार पूर्वाधार, नेटवर्क र विकसित प्रबिधिको ठूलो आवश्यकता पर्नेछ । सरकार र निजी क्षेत्रका संस्थाहरूले छिटो उच्च प्रबिधियूक्त डिजिटल प्रबिधिहरूसँग अनुकूल पुर्वाधार तयार गर्नु पर्ने र क्लाउडमा आधारित सेवाहरुमा समेत छिटो भन्दा छिटो अघि बढ्नु पर्ने हुन्छ । “यस आवश्यकतालाई पूरा गर्न नेपाल भित्र एक सुरक्षित र भरपर्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त तथा सुबिधा भएको डाटासेन्टर हुनु हालको समयको आवश्यकता रहेकोछ,” वर्ल्ड लिंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

डिजिटल नेपाल निर्माण गर्न सरकारको उद्देश्यलाई पछ्याउँदै नेपालको सबैभन्दा ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले नेपालका १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ । यी डाटासेन्टरहरु नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने निर्णय वर्ल्ड लिंकले गरेको छ ।

१४ डाटसेन्टरहरू मध्ये काठमाडौंको डाटासेन्टर सबैभन्दा ठूलो , अन्तर्राष्ट्रिय मान्यता प्राप्त टायर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुने र बाँकी डाटासेंटरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुने वर्ल्ड लिंकले जनाएको छ ।

यी डाटा सेन्टरहरू तटस्थ र सहप्रयोग सुविधायुक्त हने भएकाले वर्ल्ड लिंकको पूर्वाधार मात्र व्यस्थापन गर्ने नभई अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकमहरु लगायत सरकारी , निजी संस्थाहरू र सम्पूर्ण देशलाई लाई चाहिने सूचना प्रबिधि , दुरसंचार पूर्वाधारको व्यवस्थापन हुने बताइएको छ ।

आगामी ३ बर्षमा वर्ल्ड लिंकले डाटासेन्टर निर्माण गर्न झण्डै ३ अर्ब रुपैंया लगानी गर्ने बताइएको छ । इन्टरनेट डाटासेन्टरहरू निर्माण पुरा भए पछि सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो, सस्तो र अधिक विश्वसनीय स्तरमा पाउने विश्वास वर्ल्ड लिंकले लिएको छ ।

सरकारी र निजी संस्थाहरूले आफ्नो डिजिटल र क्लाउडमा आधारित पूर्वाधारहरु संचालन गर्न सुरक्षित र भरपर्दो विश्वस्तरीय सुविधा प्राप्त सेवा पाउने बताइएको छ ।

डाटासेन्टर निर्माणमा वर्ल्ड लिंकले नेपाल दुरसंचार प्राधिकरण, नेपाल बिद्युत प्राधिकरण तथा नेपाल सरकारसंग सहकार्य गर्ने र यो पूर्वाधार डिजिटल नेपालकै अति महत्वपूर्ण पूर्वाधार को रुपमा स्थापित हुने विश्वास वर्ल्ड लिंकले लिएको छ ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।