खानी नभए पनि नेपालमा वार्षिक ३० क्वीन्टल सुनको कारोबार, आउँछ चाँही कहाँबाट ?

0
Shares

नेपालमा सुन खानी नभए पनि वार्षिक ३० क्वीन्टल (३ हजार केजी) भन्दा धेरै सुनको कारोबार हुन्छ । यसअघि पाँचदेखि ७ क्वीन्टलसम्म सुन कारोबार हुँदै आएकोमा पछिल्लो समय विश्व महामारी कोरोना भाइरस संक्रमणका कारण मूल्य बढ्दा कारोबार आधाभन्दा बढीले घटेको हो ।

धर्म तथा संस्कृतीसँग जोडिएको सुनको कारोबार नेपालमा पूर्ण रुपमा आयातमा नै निर्भर छ । नेपाली घरपरिवारमा जन्मदेखी जीवनको अन्तिम क्षण मृत्यसम्म पनि सुनले महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

अहिलेसम्म नेपालमा सुनखानी फेला नपरेको भएपनि सुनकोशी तथा अन्य केही नदिका किनारमा सुन भेटिने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले बताए ।

“हाम्रो देशमा सुनखानी छैन, तर वर्षेनी हुने विवाह, तीज लगायतका चाडपर्वमा ठूलो परिणममा सुनको कारोबार हुन्छ,” उनले भने, “नेपालमा सुन विदेशबाट आयात गर्ने हो ।” आयात गरिएको सुन सबै नेपालमा मात्रै खपत हुँदैन । नेपालको भारतसँग भएको खुल्ला सीमानाका कारण नेपालमा भित्रिएको सुन देश बाहिर जानसक्ने सम्भावना पनि छ ।

नेपालमा पनि केही हदसम्म सुन उत्पादन हुन्छ तर घरेलु तरिकाले हुन्छ । जस्तै पूर्वतिर सुनकोशी नदिको किनारमा सुन पाइन्छ । त्यस्तै पश्चिमका केही जिल्लाहरु धनगढीदेखि कैलालीको विभिन्न ठाउँहरुमा बालुवाबाटै सुन चालेर निकाल्ने डुङ्गाहरु राखेको अहिले पनि देख्न सकिछ । त्यो सुन पनि बजारमा आउने उनले बताए । तर, स्वदेशी सुनको योगदान न्यून मात्रामा रहेको उनको भनाई छ ।

नेपालमा आयात हुने सुन मध्ये सबैभन्दा धेरै दुबईबाट आउने गरेको महासंघका अध्यक्ष शाक्यले जानकारी दिए । यसका साथै हङकङ, सिंगापुर, अष्ट्रेलिया लगायतका देशहरुबाट पनि आयात हुने शाक्यले बताए ।

हाम्रो देशमा नेपाल राष्ट्र बैंकले २७ वटा वाणिज्य बैंकहरुलाई सुन आयात गर्ने अनुमति दिएको छ । तिनै बैंकले पालैपालो ५०–५० किलो गरेर सुन नेपाल भित्र्याउने गरेका छन् ।

साउथ अफ्रिकामा संसारको सबैभन्दा ठूलो सुनखानी रहेको छ । त्यसको अलावा अमेरिका, चीन लागायत देशहरुमा पनि सुन खानी छन् ।
विश्वमा धेरै प्रकारका धातुहरु छन् । त्यी मध्ये धेरै धातु खीया लागेर नष्ट हुन्छन् । तर सुन यस्तो धातु हो जुन कहिले नष्ट हुँदैन अर्थात कहिले खीयाले छुदैन । यतिमात्र होइन संसारमा सयौं वर्ष प्रयोग गरेर पनि भ्यालु बढ्ने एउटा मात्र वस्तु सुन हो ।

  • अन्तर्राष्ट्रिय बजारको आधारमा नेपालमा मूल्य निर्धारण

नेपालमा अन्तर्राष्ट्रिय बजारमा कायम हुने दरको आधारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । सार्वजनिक विदा र शनिबार बाहेक हरेक दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ निर्धारण गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने सुनको मूल्य समय–समयमा घट्ने बढ्ने भइरहन्छ । अन्तर्राष्ट्रिय बजारमा आउने सुनको मूल्यको उतार चढावको असर नेपाली जनताहरुमा प्रत्यक्ष रुपमा पर्ने गरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय रुपमा देखिने आर्थिक तथा मानवीय समस्याहरुले सुनको मूल्यमा निकै चतार चढाव हुन मद्दत पुर्याउने गरेको छ । सन् २००८ को आर्थिक मन्दीका समयमा उकालो लागेको सुनको मूल्य अहिले कारोना कहरको समयमा पनि उच्च दरमा बढिरहेको छ ।

आजभन्दा करिब १०० वर्ष अगाडि लण्डनमा रहेको बुलेन एक्सचेञ्जले सुनचाँदीको मूल्य निर्धारण गथ्र्यो । तर, दोस्रो विश्व युद्धपछि अमेरिकाको न्युयोर्कमा रहेको मर्कन्टाइल एक्सचेञ्जले सुनचाँदी, पेट्रोलियम पदार्थ, खाद्यान्न, तामा लगायत विभिन्न धातु तथा वस्तुहरुको मूल्य निर्धारण गर्ने गरेको छ । नेपालमा पनि गोल्ड एक्सचेञ्ज नआएका कारण शेयर मार्केटमा मात्र लगानी भइरहेको शाक्यको भनाई छ ।

  • मूल्य बढेपछि सुनको माग घट्यो

पछिल्लो समयमा कोरोना महामारीका कारण र बजार मूल्य बढेपछि सुनको माग ह्वात्तै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य बताउँछन् । यसअघि नेपाली बजारमा दैनिक १० किलोभन्दा बढी सुनको माग हुँदै आएकोमा हाल ६-७ किलो मात्र बिक्री हुँदै आएको छ ।

कोरोना भाइरस संक्रमणका कारण लगानीका अन्य क्षेत्रहरु खुम्चँदा अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताहरुले लगानीको क्षेत्र सुनलाई बनाए । यसको कारण सुनको भाउ एक तोलाको करिब एक लाख नजिक छ । मूल्य बढ्दा क्रयशक्ति घट्ने गरेकाले पनि सुनको खपत घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको मूख्य कारण माग र आपूर्तिबीचको असन्तुलनले नै हो । त्यसका साथै राजनैतिक परिवर्तन, द्धन्द्ध, प्राकृतिक विपत्ति, आतङ्कवादी गतिविधि र आर्थिक दुर्घटनाहरुले सुनको मूल्यमा प्रभाव पार्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंकले अहिलेको समयमा दैनिक २० किलोको कोटा घटाएर १० किलोमा झारेको कारण यो वर्ष तीन हजार किलोको हाराहारी मात्र सुन आयात हुने अनुमान शाक्यको रहेको छ । विदेशमा गएका नेपालीले स्वदेश फर्कँदा ५० ग्रामसम्मको गहनाहरु लगाएर आएको खण्डमा भन्सार छुटको व्यवस्था छ । सोभन्दा बढी सुन ल्याउने व्यक्तिले भने भने तोकिए अनुसार भन्सार महसुल तिर्नुपर्छ । १०० ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ ।

काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न बैंकर्स संघ सहमत

  • कालीगढको अभाव

वार्षिक ३० क्वीन्टल सुनको कारोबार हुने गरेको नेपालमा कालीगढको भने अभाव रहेको छ । सरकारको स्पष्ट नीति नभएका कारण सुनचाँदी क्षेत्रमा काम गर्ने कालीगढ नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था रहेको महासंघका अध्यक्ष शाक्य बताउँछन् । त्यस्तै नेपालमा कालिगढ उत्पादन गर्ने तालिम केन्द्रहरु समेत नभएको उनको भनाई छ ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०७७, बिहीबार  १९ : २४ बजे