ब्याज र सेवा शुल्क घट्दा प्रभावित बैंकहरुको नाफा ‘ट्रेजरी म्यानेजमेन्ट’ ले थेगेन

0
Shares

विश्वभरी फैलिएको कोरोना महामारीका कारण मानव स्वास्थ्यलाई प्राथमिकतामा राख्दा आर्थिक क्षेत्र अस्तव्यस्त हुन पुग्यो । मानवीय जीवनको दैनिकीसँग जोडिएको अर्थतन्त्रमा आएको असरबाट बैंकिङ क्षेत्र जोगिने कुरै भएन ।

गत वर्ष २०७६ चैत ११ गते कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लाकडाउनको घोषणा गर्यो । लकडाउन सुरु भएसँगै आर्थिक गतिविधि पनि दैनिक अतिआवश्यकीय वस्तु तथा सेवाको कारोबार सीमित रह्यो । यो अवधिमा बैंकहरुले पनि निक्षेप जम्मा गर्ने र भुक्तानी दिने काम मात्र गरे ।

अर्थतन्त्र गतिहीन भएपछि सर्वसाधारणको पैसा बैंक वित्तीय संस्थामा थुप्रिन थाल्यो । रेमिट्यान्सको आप्रवाह पनि विगतका वर्षको तुलनामा बढ्न थाल्यो । सर्वसाधारणले पनि अतिआवश्यक क्षेत्रमा मात्र खर्च गरे । त्यसले पनि वित्तीय प्रणालीमा पैसा थुप्रिनका लागि मद्दत ग¥र्याे । वित्तीय क्षेत्रमा पैसा थुप्रिए पनि लगानीका क्षेत्र भने सबै बन्द सरह नै थिए । त्यसले गर्दा बैंकहरुलाई ब्याजदरमा दबाव पर्न थाल्यो । बैंकहरुमा अधिक निक्षेप भएपनि लगानी गर्ने अवस्था नभएपछि लागत घटाउनका लागि ब्याजदर घटाउन थाले ।

तर, बैंकहरुले तत्कालका लागि ब्याजदर घटाएको भएपनि विगतमा लिएको उच्च ब्याजदरको बोझ भने कायम नै रह्यो । यो अवधिमा सोचेभन्दा धेरै निक्षेप थपियो । बैंकमा निक्षेप थपिएपछि त्यसको लागि तोकिएको ब्याजदर दिनुपर्ने बाध्यात्मक अवस्था पनि छ । तर, बैंकहरुले त्यो पैसालाइ लगानी गर्ने अवस्था रहेन । त्यसैले पनि निक्षेपको ब्याजदरमा उच्च गिरावट आयो ।

गत आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमास अर्थात ०७६ फागुनदेखि सुरु भएको कोरोना महामारी चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमास अर्थात ०७७ पुस सकिइसक्दा पनि कायम छ । कोरोना संगै बाच्ने भनेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि आर्थिक गतिविधिमा केही सुधार भने हुँदै आएको छ ।

लगानीका अन्य क्षेत्र सीमित भएपनि बैंकहरु आफँै पनि र ग्राहक मार्फत टे«डिङ प्रकृतिको व्यवसायमा लगानी बढाउन थाले । बैंकहरु आफै पनि ट्रेजरी म्यनेजमेन्टको नाममा शेयर बजारमा लगानी गर्न थाले । बैंकहरुले शेयर बजारमा जाने कर्जालाई झनै सहज रुपमा प्रवाह गर्न थाले । त्यति मात्र नभई व्यक्तिगत प्रकृतिका कर्जाहरुमा बैंकहरुले आक्रमक रुपमा लगानी बढाउन थाले । लगानी गर्ने क्षेत्र नै व्यक्तिगत प्रकृतिको कर्जा मात्र भएकाले चालु आर्थिक वर्षको सूरुवातदेखि बैंकहरुको शेयर, घर, ओभरड्राफ्ट लगायतका व्यक्तिगत प्रकृतिका कर्जा बढ्न थाल्यो ।

कोरोना नियन्त्रणका लागि सरकारी तवरबाट जारी गरिएका लकडान र निषेधाज्ञाले उद्योग धन्दा, व्यापार/व्यवसाय समस्यामा परे । उद्योगी, ब्यापारी तथा व्यवसायीले सरकार मार्फत राहतको माग गर्दै गर्दा सरकारले अर्थतन्त्रको मध्यस्तताकर्ताको रुपमा रहेको बैंकिङ क्षेत्रमा सार्यो । चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैंकहरुको आम्दानीको दोस्रो स्रोत सेवा शुल्कमा सीमा तोकिदियो भने कोरोना प्रभावित उद्योगी व्यापारीलाई राहत दिनका लागि पनि बैंकहरुलाइ नै प्रयोग गर्यो । यो अवधिमा बैंकहरुले आफ्नो व्यवसाय विस्तार भन्दा पनि कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरजीवन दिनका लागि ध्यान दिनुपर्ने अवस्था रह्यो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकहरुले लगानी विस्तार गर्ने अवसर मात्र गुमाएनन् । यो अवधिमा बैंकहरुलाई नीतिगत परिवर्तनका कारणले पनि आम्दानीमा असर गरेको छ । बैंकहरुको कर्जा निक्षेप ब्याजदर अन्तर घटेर ४.४ प्रतिशमा झरेको छ । त्यसैगरी बैंकहरुले ग्राहकवाट लिने सेवाशुल्क समेत ०.७५ प्रतिशतमा सिमित भएको छ । यसै अवधिमा ऋणीको ब्याजदरमा सहुलियत दिने देखि निक्षेप अत्याधिक थपिने अवस्था समेत रह्यो ।

पछिल्लो समयमा आर्थिक गतिविधि बढेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए । “बैंकहरुको नाफा साढे ३ प्रशितले घटेको छ,” उनले भने,“बैंकहरुको निक्षेप तथा कर्जाको ब्याजदर अन्तर घटेका कारण नाफा घटेको हो ।” चालु आर्थिक वर्षको पुससम्ममा बैंकहरुको १८ प्रतिशतले कर्जा लगानी विस्तार भएको अवस्थामा पनि स्प्रेड दर घटेको हुनाले ब्याज आम्दानी ६ प्रतिशतसम्म घटेको उनको भनाइ छ ।

कोरोनाका कारण कर्जा लगानी विस्तार हुन नसकेको अवस्थामा चालु आर्थिक वर्षको पुससम्ममा २७ वाणिज्य बैंकहले ३६ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुमा भएको यो निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरुले २९ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप लगानी गरेका थिए ।

यो अवधिमा बैंकहरुको कर्जा लगानी भने १८.४६ प्रतिशतले मात्र बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुले २७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा चालु आवको सोही अवधिमा बढेर ३२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आव देखि बैंकहरुले कायम गर्नुपर्ने ४.४ प्रतिशतको स्प्रेड दर तथा अधिक निक्षेपका कारण आम्दानीको प्रमुख स्रोत ब्याज आम्दानी नै १.६५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरुको ब्याज आम्दानी १५९ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सेही अवधिमा २७ बैंकहरुको ब्याज आम्दानी १६२ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकहरुको ब्याज खर्च भने बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरुले ९७ अर्ब ३३ करोड रुपैयाँ ब्याज खर्च गरेका छन् । यो ब्याज खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ करोड १९ लाख रुपैयाँले धेरै हो । गत आवको पुससम्ममा बैंकहरुले ९६ अर्ब ८५ करोड रुपैयाँ ब्याज खर्च गरेका थिए । 

ब्याज आम्दानी घट्ने तथा खर्च बढ्ने भएपनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको खुद ब्याज आम्दानी समेत घटेको छ । चालु आवको पुससम्ममा बैंकहरुको खुद ब्याज आम्दानी ६२ अर्ब १० करोड रुपैयाँ रहेको छ । यो खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.८२ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी ६५ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले सेवा शुल्कमा समेत सीमा तोकिदिएपछि चालु आवको पहिलो ६ महिनामा बैंकहरुको फि तथा कमिशन आम्दानीमा समेत गिरावट आएको छ । यो अवधिमा बैंकहरुले १२ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ खुद फि तथा कमिशन आम्दनी गरेका छन् । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा ३० लाख रुपैयाँले थोरै हो । गत आवको पहिलो ६ महिनामा बैंकहरुले १२ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ फि तथा कमिशन आम्दानी गरेका थिए ।

तर, बैंकहरुले चालु आवको पहिलो ६ महिनामा ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानी बढाएका छन् । ब्याज तथा सेवा शुल्कबाट हुने आम्दानीमा गिरावट आएपछि ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानीले थेग्ने प्रयास गरेपछि बैंकहरु सफल देखिएनन् । चालु आवको पुससम्ममा बैंकहरुले शेयर, विदेशी विनिमय, सरकारी ऋणपत्रको कारोबार(ट्रेजरी म्यानेजमेन्ट) टे«डिङ शिर्षकको आम्दानी ६.३२ र अन्य सञ्चालन आम्दानी शिर्षकमा ६०.७७ प्रतिशतको वृद्धि गरेपछि नाफा कम घटेको हो । यो अवधिमा बैंकहरुले ५ अर्ब ८ करोड रुपैयाँ टे«डिङ मार्फत र ३ अर्ब ३९ करोड रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेका छन् ।

यो अवधिमा बैंकहरुले ट्रेजरी म्यानेजमेन्ट मार्फत हुने आम्दानीमा उच्च सुधार गरी प्रोभिजनिङ समेत ४५.०२ प्रतिशतले घटाएको अवस्था पनि खुद नाफा घटेको हो । चालु आवको पुससम्ममा बैंकहरुले २ अर्ब ४२ करोड रुपैयाँ मात्र जोखिम व्यवस्था बापतका लागि छुट्याएका छन् । गत आवको सोही अवधिमा बैंकहरुले ४ अर्ब ४१ करोड रुपैयाँ जोखिम व्यवस्थाका लागि छुट्याएका थिए । बैंकहरुलाई कर्जाको पुनसंरचना र पुनरतालिकिरण गर्न दिएको हुनाले खराब कर्जा नबढेको र जोखिम व्यवस्था बापतको रकम पनि कम भएको दाहालले बताए ।

यसरी बैंकहरुले कोरोना महामारीका बावजुद पनि आफ्नो नाफाको दौडलाई कायम राख्ने प्रयास गरेको भएपनि असफल भएको हो । चालु आवको पुसमसान्सम्ममा बैंकहरुले ३१ अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेका छन । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.५३ प्रतिशतले थोरै हो । गत आवको दोस्रो त्रैमाससम्ममा बैंकहरुले ३२ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

पछिल्लो समयमा कर्जाको माग बढेको हुनाले अधिक तरलता पनि कम हुँदै आएको दाहालले बताए । आर्थिक क्षेत्रमा सुधार हुँदै आएकाले आगामी असारसम्ममा नाफा बढ्दो क्रममा देखिन सक्ने दाहालको अनुमान छ । ‘अहिले समग्र बैंकिङ क्षेत्र रिकभरीको अवस्थामै छ’, उनले भने।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।